आँखाको ज्योति फर्केपछि १०२ वर्षीया अमृतामायाले भनिन् - फेरि संसार देख्छु भन्ने लागेकै थिएन

आँखाको ज्योति फर्केपछि १०२ वर्षीया अमृतामायाले भनिन् - फेरि संसार देख्छु भन्ने लागेकै थिएन

उदयपुर :'संसार हेर्ने आँखाको ज्योतिले काम नगरेपछि कयौं पटक लडेँ । जसको हिसाब छैन् । कहिले घरमै लडेँ त कहिले हिँडदा र काम गर्दा लडेँ । अफसोच ! सानातिना चोट लागे, ठूला चोटबाट बचेँ । शरीरले हार नखाएपनि आँखाको शक्ति कमजोर हुँदा अब जीवन ओछ्यानमै बित्ने भयो भन्ने लागेको थियो,' त्रियुगा नगरपालिका- ३ मिलनचौककी १०२ वर्षीया अमृतामाया राउतले आँखाको ज्योति गुम्दाको पीडाको बेलिविस्तार लगाइन्।

घरमा भेटन आएका जो कोही नजिक आउँदासमेत आँखामा मोतियाविन्दु भएकाकारण ठम्याउन गार्हो थियो,धेरै पटक सुन्दै आएको आवाज र परिचयपछि मात्र बल्ल चिन्दथेँ । बुधबार निकै निरास मुद्रामा देखिएकी राउतले यस्तै–यस्तै गुनासो सुनाएकी थिइन्।

तर,बिहीबार उनको त्यो निरासमुद्रा र आवाजमा निकै फरक थियो । राउतको आँखामा लगाएको पट्टी जब खोलियो उनमा खुशीको सीमा नै रहेन।

आँखाको पट्टी खोल्दै कोशी प्रदेशका पूर्वसमाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्नो हातको औँला देखाएर राउतलाई सोधे,‘हजुर आमा ! मैले कतिवटा औँला देखाएको छु ? उनले भनिन्, ‘तीनवटा छन् । निकै उत्साहित देखिएकी राउतले भनिन्, ‘मैले पुनः नयाँ जीवन पाएको छु, संसार देखेँ,अब घर बाहिर र भित्र मात्र हैन् केही काम गर्न सक्छु,यसले उर्जा मिल्यो ।'

‘१०२ वर्षमा पनि यस्तो उपचार पाउँछु भन्ने मलाई लागेको थिएन,'उनले भनिन्, ‘उमेर ढल्कियो अब संसार नै नदेखि यतिकै परलोक गइन्छ भन्ने थियो । ‘विगत पाँच वर्षयता आँखाको समस्याकै कारण घरभित्रै बस्थेँ,राउतले भनिन्,‘बाहिर आउजाउ गर्दा लड्ने र चोटपटक लाग्छ भित्रै बस्नु भन्थे छोराछोरी र नातिनातिनाले त्यहीँ भएर कोठाभित्रै दिन कटाउँथे ।'

पाँच वर्षअघिदेखिको समस्या समाधान भएपछि खुशी हुँदै उनले भनिन्,‘बुढेसकालको एउटा सहारा आँखा नै हो जुन कुरा आज मैले पाएँ, यसरी नै अरुको पनि सेवा गर्ने अवसर मिलोस् तपाईंरूलाई शुभकामना ।'

हजुर आमाको आँखाको ज्योतिमा सुधार आएपछि खुसी हुँदै नातिनी शोभा राउतले भनिन्,‘जो घरमा आयो, म त आँखा देख्दिनँ, चिनिन भन्ने गर्नुहुन्थ्यो ,शल्यक्रियाले ठूलो राहत पुर्‍याएको छ। राउत मात्र हैन् त्रियुगा नगरपालिका ४ का ९० वर्षीय रामबहादुर कार्की,उनकै श्रीमती ८४ वर्षीया यदु कार्कीको समस्या पनि झण्डै उस्तै थियो । 

निःशुल्क शल्यक्रियापछि हेर्दै भने, ‘आँखाको ज्योति कम हुँदा बढो समस्या हुँदोरहेछ, त्यसमा पनि घरका श्रीमान्, श्रीमती दुबैको एउटै समस्या हुँदा झन गार्हो हुनेरहेछ ।' कार्कीका छोरी अपर्णाले भनिन्, ‘आँखा जीवनको महत्वपूर्ण अङ्ग रहेछ जसलाई प्रायः मानिसले ख्याल–ख्याल सम्झन्छन् । 

गाउँघरमै पहिलो पटक यस्तो सेवा पाएकोमा उनी खुशी छिन् । नेपालका वामपन्थी आन्दोलनका नेता, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २४ औँ स्मृति दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ मनमोहन प्रतिष्ठान र आइकियर पाउण्डेसनको सहयोगमा मदन भण्डारी आँखा अस्पताल उदयपुरले आयोजना गरेको शिविरमा ५१ जनाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका सभापति भागवत राउतले जानकारी दिए । 

एक वर्षअघि सञ्चालनमा आएको आँखा अस्पतालले हालसम्म दश हजार जनाको उपचार गरिसकेको उनले बताए । त्यसैगरी ६ पटकमा ४३७ जनाको निःशुल्क शल्यक्रिया गरिएको र बाँकीलाई मासिकरुपमा गर्दै लैजाने बताए ।  

कार्यक्रममा बोल्दै मनमोहन प्रतिष्ठानका केन्द्रीय सदस्य तथा पूर्वसमाजिक विकासमन्त्री घिमिरेले जनताको निःशुल्क स्वास्थ्य उपचार पाउने व्यवस्था संविधानले गरेपनि राज्य सम्यन्त्र कमजोर बन्दा उपभोग गर्न नसकिएको बताए । 

कार्यक्रममा उपचार पाएका सबैलाई फलफूल वितरण र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।  त्यसअवसरमा अस्पताल परिषरमा वुक्षारोपणा गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.