याकचौरी : प्राकृतिक उपचारक

संस्कृति

याकचौरी : प्राकृतिक उपचारक
सुन्नुहोस्

याकचौरीलाई नियन्त्रणमा लिएर सम्बन्धित विज्ञ आम्जीले घाँटीमा सियो खोप्छन्। र, नशाबाट आवश्यकताअनुसार रगत निकाल्छन्। मेलामा एक चौरीयाकबाट १० देखि ३५ गिलाससम्म रगत निकालिन्छ।

जोमसोम—मुस्ताङको थासाङ गाउँपालिका—२ बोक्सी खोलामा वैशाख ९ देखि सुरु भएको याकचौरीको आलो रगत खाने महोत्सव जारी छ। कोरोना कहरका कारण लगातार चार वर्ष रोकिएको यो महोत्सव पुनः सुरु गरिएको हो। हिमालयन चौरी पालन तथा संरक्षण समितिअन्तर्गत धौलागिरी याकचौरी पालक समूहको आयोजनामा वैशाख १९ गतेसम्म महोत्सव सञ्चालन हुने समूहका अध्यक्ष बुद्धिरत्न तुलाचन बताउँछन्।

प्राकृतिक चिकित्सा पद्दतिको रूपमा विश्वास गरिएको याकचौरी रगत खाने महोत्सवमा सयौं सर्वसाधारणको लर्को लाग्ने गर्छ। हिमाली उच्चलेकका प्राकृतिक वन्य जटिबुटी याकचौरीले खाने भएकाले यस्तो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने जानकारको बुझाइ छ। त्यसैले जिल्ला भित्र र बाहिरका सर्वसाधारण बर्सेनि मुस्ताङ आउँछन्।

समूहका अनुसार मेलामा थासाङ वडा—२ का ९ घरधुरीको करिब ७ सय याकचौरीको रगत निकालिने छ। कोरोना कहरअघि बर्सेनि वैशाख र भदौमा याकचौरीको रगत निकालेर बिक्री गर्दै आइरहेका याकचौरी पालकले कोभिड माहामारीमा यस्तो मेला सञ्चालन गर्न पाएनन्। याकचौरीको आलो रगत निकालेर सर्वसाधारणलाई बिक्री वितरण गरेर याकचौरी पालकहरू वैकल्पिक आम्दानी गर्दै आइरहेका थिए।

याकचौरी हिमाली वन्यजन्तु जस्तै पारिस्थितिक प्रणालीमा प्रभाव पार्नसक्ने पशुपालन व्यवसाय हो। यो व्यवसाय अपनाउन निकै चुनौति र जोखिमयुक्त छ। बर्खायाममा उच्चलेक र हिउँदयाममा बस्तीमा झारिने याकचौरी पालनमा हिमपहिरो र हिमचितुवा र भीरबाट लडेर मर्नेलगायत कारण छन्। जसले यहाँका याकचौरी पालक यसप्रकारको सास्ती भोग्न बाध्य छन्। याकचौरीलाई वयस्क बनाएर मासुका लागि बिक्री गर्ने, दूध, दही, घ्यू उत्पादन गर्ने र बर्सेनि दुई पटक याकचौरी आलो रगत निकालेर बिक्री गरेर यो व्यवसाय धानिरहेको पाइएको छ।

यसवर्ष रगत खाने मेला सञ्चालन गरेसँगै याकचौरी पालक तथा रगत खान आउने सर्वसाधारण उत्साहित छन्। चौरीपालक समूहका अनुसार एक साता अवधिमा करिब एक हजारबढी सर्वसाधारण चौरी रगत पिउन बोक्सी खोला आए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका—८ बाट मुस्ताङ आएका ८० वर्षीय दुर्गाबहादुर पुन चौरीको आलो रगत पिउँन पाउँदा आफू र आफ्नो टोली निकै उत्साहित भएको बताउँछन्। २०६३ सालदेखि चौरीको आलो रगत पिउँदै आइरहेका मगर भन्छन्, ‘रगत पिउन थालेपछि ग्यास्टिकको रोग निको भई युवाजोश र उर्जा पैदा भएको छ।’

म्याग्दीकै अर्का सेवाग्राही गानोगोला, ग्यास्टिक, अल्सर, कमलपित्त र छालालगायत पेटसम्बन्धी रोग निको पार्ने सुनेर रगत खान मुस्ताङ आएको सुनाउँछन्। मुस्ताङमा याकचौरीको आलो रगत खाने मेला सदियौं वर्षदेखि चल्दै आइरहेको छ। कतिपयले धार्मिक मान्यताअनुसार पशुचौपायाको रगत निकालेर बिक्री गर्नु अनुपयुक्त हो भन्ने टिप्पणी गर्छन्। यद्यपि मानिसले जतिपटक रक्तदान गर्छन्, उति नै सो व्यक्ति स्वस्थ्य हुन्छ भन्ने मान्यता छ। चौरीको आलो रगत पनि कुनै असर र क्षति नपुग्ने गरी रगत निकालिने गरिन्छ।

कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकको पश्चिमतर्फको नदी किनारमा याकचौरीको आलो रगत खाने मेला लागेको हो। मेलामा एक चौरीयाकबाट १० देखि ३५ गिलाससम्म रगत निकालिन्छ। याकचौरीलाई नियन्त्रणमा लिएर सम्बन्धित विज्ञ आम्जीले घाटीमा सियो खोप्छन्। र, नशाबाट आवश्यकताअनुसार रगत निकाल्छन्। रगत निकालेपछि याकचौरीको नशालाई गोबरले टालिन्छ।

मेलामा रगत खाने आउने सर्वसाधारणलाई याकचौरीको आलो रगत प्रतिगिलास तीन सयको दरमा बिक्री गरिएको समूहको भनाइ छ। मुस्ताङको बोक्सी खोलामा दिनको एकपटक बिहान ७ बजेदेखि याकचौरीको रगत निकाल्ने कार्यक्रम सुरु हुन्छ। रगत खान सर्वसाधारणलाई पंक्तिवद्ध रूपमा लाइनमा उभ्याइन्छ। रगत खाने मेलामा याकचौरीको भेटेनरी प्राविधिकले पशु स्वास्थ्य अवस्था परीक्षण गरेरमात्रै रगत निकालिन्छ।

वसन्त ऋतुको सन्तुलित याममा खर्कबाट बस्ती छेउ झारिने चौरीयाकको रगत बिक्री गर्ने पुरानो प्रचलन हो। मेला अवधिभर आयोजक समूहले खुल्ला तारो हान्ने खेल (आर्चरी) प्रतियोगिता आयोजना गर्दै आएको छ। बिहानैबाट १२ बजेसम्म रगत खाने कार्यक्रम हुन्छ, त्यसपछि तारो हान्ने खेल आदि खेलाइन्छ। साँझ रमाइलो नाचगानका कार्यक्रम गर्ने गरिएको छ।

रगत खाने मेला स्थल बोक्सी खोलामा सर्वसाधारणका लागि सामूहिक रूपमा याकचौरी पालक समूहले होटल तथा रेष्टुरेन्ट सञ्चालन गरेको छ। व्यावसायिक अस्वस्थ प्रतिस्पर्धालाई मर्यादित बनाउन सामूहिक होटल सञ्चालन गरिएको बताइएको छ। याकचौरी पालक समूहकी महिला सदस्य मनदेवी गौचन याकचौरीको रगत खाने महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको बताउँछिन्। उनले महोत्सवकै कारण रगत खाने सर्वसाधारण थासाङका पर्यटकीय गन्तव्यहरू टिटी ताल, सेकुङ ताल, भुतर्छो ताल र गुरुसाङ्बो गुफा आदिको अवलोकन गर्न जाने उनको भनाइ छ। याकचौरी महोत्सवले पशुपालकलाई मात्रै नभई थासाङका होटल व्यवसायी र सवारीधनीलाई पनि आर्थिक रूपले फाइदा पुगेको पाइन्छ।

मुस्ताङको थासाङ गाउँपालिकाको बोक्सी खोला, मार्चे लेक र घरपझोङ गाउँपालिकाको नमखुलेकमा याकचौरीको आलो रगत खाने महोत्सव सञ्चालन हुँदै आइरहेको छ। मासु प्रजनन दुधका परिकारबाट आर्थिक मुनाफा कमाइरहेका पशुपालक किसानले रगत निकालेर बिक्री गर्ने यो दोस्रो आम्दानीको रूपमा लिइन्छ। उनीहरूले एकातिर याकचौरीको रगत बिक्री हुन्छ। अर्कोतर्फ अल्पकालिन व्यवसाय गरेर आम्दानीको गतिलो फाइदा कमाएका छन्। बोक्सी खोलामा रगत खान आउनेका लागि लक्षित गरी त्रिपाल टाँगेर एक दर्जन बढी टहरा निर्माण गरिएको छ।

बेनी–जोमसोम राष्ट्रियको नजिकै बोक्सी खोलामा याकचौरी महोत्सव सञ्चालन भएकाले रगत निकाल्ने स्थानमा पुग्न सहज भएको छ। सडक सहजता र मुख्य सडकबाट ५ मिनेटमा पुग्ने सकिने भएकाले रगत खाने सर्वसाधारणको घुइँचो बढेको हो। अहिलेसम्म झन्डै १२ सयबढी चौरीको आलो रगत पिउन आएको र संख्या बढ्दै जाने धौलागिरी चौरी पालक समूह जानकारी दिन्छ।

याकचौरीको आलो रगत खाने मेलामा मुस्ताङसहित म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, तनहुँ, स्याङ्जा र काठमाडौंलगायत सर्वसाधारण मुस्ताङ आउँछन्। चौपायाले मुस्ताङका उच्चलेकको पाँचऔले, निरमसी, जटामसी र यार्सागुम्बा जस्ता जटिबुटी खाने हँुदा यसले पेटसम्बन्धी रोग निको पार्छ। यसले शारीरिक स्फुर्ति बढ्ने जनविश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.