एसीसी प्रिमियर कप च्याम्पियन बन्दै नेपाल एसिया कपमा

एसीसी प्रिमियर कप च्याम्पियन बन्दै नेपाल एसिया कपमा
फाइल तस्बिर।

काठमाडौं : गुल्शन झाको अर्धशतकप्रेरित नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकाल्यो।

टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय १७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.३ ओभरमा मात्रै तीन विकेट गुमाएर एक सय १८ रनसहित लक्ष्य पूरा गर्यो।

नेपालका लागि वान् डाउनमा क्रिजमा उत्रिएका गुल्शनले ७५ बलमा अर्धशतक पूरा गरे। दुवै ओपनर र कप्तानलाई सस्तैमा गुमाएको नेपालका लागि गुल्शनले संयमित ब्याटिङ गर्दै ५० रन बनाउँदा तीन चौका र चार छक्का प्रहार गरेका थिए।

नेपालको इनिङ्समा सबैभन्दा महत्त्वपूर्ण भूमिका निभाएका ८४ बलमा तीन चौका र ६ छक्कासहित गुल्शन ६७ रनमा अविजित रहे।

यस्तै गुल्शनसँग ९६ रनको साझेदारी गरेका भीम सार्कीले पनि महत्त्वपूर्ण इनिङ्स खेले। नेपालका लागि ७२ बलको सामना गरेका भीम चार चौकासहित ३६ रनमा अविजित रहे।

सुरुआतमा संघर्ष गरेको नेपालका दुवै ओपनर– कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल पभिलियन फर्केका थिए। कुशल एक, आसिफ आठ र रोहित एक रनमा आउट भएका थिए।

यूएईका लागि रोहन मुस्तफाले १० ओभरमा १३ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, आयान खानले एक विकट लिए।

पहिलो इनिङमा ललित राजवंशीको चार विकेटप्रेरित नेपालले यूएईलाई एक सय १७ रनमा अल आउट गरेको थियो। सोमबार सुरु भएर वर्षाका कारण टुङ्गिन नपाएको फाइनल आज ९ बजेदेखि हिजो रोकिएकै अवस्थाबाट सुरु भएको थियो।

सोमबार यूएईले २७.३ ओरभमा एक सय ६ रन बनाएर ९ विकेट गुमाएको थियो। मंगलबार बिहान सोही स्थानबाट इनिङ्स अगाडि बढाएको यूएई ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय १७ रनको योगफल तयार गर्न सफल भयो।

यूएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि किफयती बलिङ गरेका ललितले ७.१ ओभरमा १४ रन खर्चिएर दुई मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा गुल्शन झा र सोमपाल कामीले एक–एक विकेट लिए।

प्रिमियर कप च्याम्यिन भएसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ।

नेपालले समूह ‘ए’को विजेताको रूपमा अन्तिम चारमा स्थान बनाउको थियो। सेमिफाइनलमा कुवेतसँगका खेल पनि वर्षाका कारण नतिजाविहीन बनेपछि समूह विजेता नेपाल फाइनलमा आइपुगेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.