हिमाली किरा, कर्णालीको हीरा

हिमाली किरा, कर्णालीको हीरा

कर्णाली बहुमूल्य जडीबुटीको भण्डार हो। यसकारण पनि सरकारले कर्णालीको समृद्धिको मुख्य आधारको रूपमा जडीबुटीलाई लिने गरेको छ। 

तर आवश्यक नीति र संरक्षणको अभावमा कर्णालीमा पाइने बहुमूल्य जडीबुटी लोप हुने अवस्थामा छन्। त्यसमा पनि हिमाली हीराको रूपमा चिनिने बहुमूल्य जडीबुटी यार्सागुम्बालाई राज्यले चिन्न नसकेको देखिन्छ। 

राज्यले चासो नदिएकै कारण यार्सागुम्बा पाटनमै खेर जाने गरेको छ। अर्कोतर्फ राज्यले महत्त्व नदिँदा बहुमूल्य जडीबुटी यार्सागुम्बा अवैध रूपमा चोरी निकासी हुने गरेको छ। 

जानकारहरूका अनुसार कर्णालीका हिमाली जिल्लामा पाइने यार्सागुम्बाको संरक्षण र व्यवस्थित रूपमा राजस्वको दायरामा ल्याउन सकेको भए मात्र कर्णालीलाई चाहिने बजेट केन्द्र सरकारसँग अपेक्षा गर्नुपर्ने अवस्था आउने थिएन। तर त्यही यार्सागुम्बाको संरक्षण, चोरी निकासी रोक्न नसक्नु, प्रशोधनमा चासो नदिनु र व्यवस्थित कारोबार नहुँदा हिमाली हीराले उचित मूल्य पाउन सकिरहेको छैन।

यो जडीबुटी वैशाख तेस्रो सातादेखि असार तेस्रो सातासम्म हिमाली जिल्लाका उच्च पाटनमा पाइन्छ। हिमाली जिल्ला डोल्पा र मुगुमा यार्सा धेरै पाइन्छ। बर्सेनि त्यही यार्सा संकलन गरेर डोल्पा, मुगु, जाजरकोट, जुम्ला, हुम्ला र रुकुमका नागरिकले धेरै आम्दानी गर्दै आएका छन्। 

त्यही आम्दानीबाट उनीहरूको छाक टर्ने गरेको छ। महँगो मूल्यमा बिक्री हुने र जमिनमुनिबाट निकालिने भएकाले यो जडीबुटीलाई स्थानीयले ‘हिमाली हीरा’ भन्ने गर्छन्। बहुमूल्य जडीबुटी भएकाले पनि यार्सा संकलनका लागि वैशाख अन्तिम साताबाट स्थानीयहरू बन्दोबस्तीसहित दुई महिनासम्म पाटनमै बस्ने गर्छन्। 

घरमा ताला लगाएर अभिभावकहरू पाटन जाने भएकाले पनि विद्यार्थी र शिक्षक स्कुल बन्द गरेर यार्सा संकलनमा पुग्ने गर्छन्। यार्सा संकलनबाटै कर्णालीमा धेरै परिवारको छाक टर्ने गरेको छ। यार्साबाट लाखौं आम्दानी गर्दै स्थानीयले वर्षभरि परिवारको खर्च जोहो गर्दै आएका छन्। 

यार्सा संकलनबाटै परिवारको खर्च टार्दै आएका जाजरकोटको बारेकोट गाउँपालिकाका लक्षीराम नेपाली भन्छन्, ‘यार्सा नै हाम्रो आम्दानीको स्रोत हो, एक महिना पाटनमा गएर जम्मा गरेको यार्सा बेचेर वर्षभरिको घर खर्च जुटाउँछु। घरमा अरू खेती र आम्दानी छैन, यही यार्सा खोजेर परिवार पाल्दै आएको छु।’

डोल्पाको ठूलीभेरी नगरपालिकाका दलबहादुर बिटालुको परिवार पनि यार्साबाटै जीविकोपार्जन गरिरहेको छ। दलबहादुरले एक महिना पाटनमा बसेर वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए। 

उनी भन्छन्, ‘त्यो जडीबुटी होइन, पाटनमा पाइने हीरा हो। खेतीपाती र जागिर नहुने हाम्रा लागि छाक टार्ने यही यार्सा हो। यसैबाट हुने आम्दानीले सात जनाको परिवार पालिँदै आएको छु।’ स्थानीय हर्क बुढाको परिवारले पनि यार्सा संकलनबाटै वर्षमा चार लाख रुपैयाँसम्म कमाउने गरेको छ। 

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका छिरिङ तामाङ भन्छन्, ‘हाम्रो आम्दानी भनेकै यार्सा हो, यो टिप्न नपाए त भोकै बस्नुपर्छ।’ खेती नहुने र खाद्य संकट भइरहने कर्णालीमा धेरै परिवारले यार्सागुम्बा बेचेरै खर्च जोहो गर्दै आएका छन्।

विदेश निर्यात हुन्छ यार्सा

कर्णालीका पाटनमा पाइने यार्साको माग विदेशी बजारमा धेरै भएको यार्साको व्यापार गर्दै आएकाहरू बताउँछन्। मुख्यगरी यार्साको बजार चीन हो। चिनियाँ व्यापारीहरूले नै नेपालबाट यार्सा खरिद गरेर लैजान्छन्। व्यापारीका अनुसार विदेशीले यार्सागुम्बालाई किलोको ३० लाख रुपैयाँसम्म दिने गरेका छन्।

नेपाल चेम्बर अफ कमर्स डोल्पाका अध्यक्षसमेत रहेका जडीबुटी व्यवसायी लीलाराज रोकाया भन्छन्, ‘हीराभन्दा महँगो मूल्यमा विदेशीले लैजान्छन्, तर हिमाली हीरालाई राज्यले नचिनेका कारण राज्यले करोडौं राजस्व गुमाइरहेको छ।’ 

उनका अनुसार पहिलो ग्रेडको यार्सा बजारमा किलोको ३० लाख, दोस्रो ग्रेडको २५ लाख, तेस्रो ग्रेडको १५ लाख र चौथो ग्रेडको यार्सा किलोको ५ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। बहुमूल्य जडीबुटी भए पनि राज्यले यसको संरक्षण, प्रशोधन र व्यवस्थित बजारीकरणमा चासो नदिँदा बर्सेनि राज्यले करोडौं राजस्व गुमाइरहेको उनले बताए।

यार्सा किन महँगोमा बिक्री भइरहेको छ भन्नेबारेमा आफूलाई जानकारी नभए पनि चिनियाँ व्यापारीले धेरै खोज्ने गरेको रोकायाले बताए। उनका अनुसार चिनियाँ व्यापारीले यार्सागुम्बाको सेवनबाट क्यान्सरजस्ता घातक रोगको उपचारमा सहयोग पुग्ने र यौन क्षमता वृद्धि हुने बताउने गरेका छन्। 

‘हाम्रो जडीबुटी विदेश निर्यात हुन्छ’, रोकाया भन्छन्, ‘हिमालमा अन्नबालीको उब्जनी राम्रो हुँदैन, यार्साबाटै धेरै परिवार पालिएका छन्। राज्यले यसको बजारीकरणमा चासो दिएर व्यवस्थित गरेमा कर्णालीले केन्द्रबाट बजेट नै माग्नु पर्दैन, यार्साबाट उठ्ने राजस्वले नै कर्णाली सरकार र यार्सा संकलन गरेरै कर्णालीवासी पालिन्छन्।’
कर्णालीबाट वार्षिक एक अर्बभन्दा बढीको यार्सा कारोबार हुने गरेको यार्सा व्यापारीहरू बताउँछन्। नेपालको यार्सा चीन, भारत, तिब्बत र हङकङतर्फ निकासी हुने गरेको छ। 
व्यापारीहरूले हेलिकोप्टर नै चार्टर्ड गरेर यार्सा खरिद गर्ने गरेका छन्। स्थानीयले प्रतिगोटा पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा व्यापारीलाई बेच्ने गरेका छन्। डोल्पाबाट मात्र हरेक वर्ष दुईदेखि तीन क्विन्टलसम्म यार्सा चीन, हङकङ, सिंगापुरलगायतका देशमा निर्यात हुने गरेको डिभिजन वन कार्यालय डोल्पाले जानकारी दिएको छ। 

चोरी निकासीले गुम्दै राजस्व    

यार्सागुम्बा वैशाख र जेठमा पाइन्छ। यसकारण पनि निकुञ्ज कार्यालय र सामुदायिक वनहरूले वैशाख अन्तिम सातादेखि जेठको अन्तिमसम्म यार्सा संकलनका लागि खुला गर्छन्। संकलन खुला भएपछि मात्र सर्वसाधारणहरू शुल्क तिरेर पाटनतर्फ लाग्ने गर्दछन्। तर यार्सा संकलन खुला नहुँदै चोरी निकासी हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.