डुंगा संरक्षणमा जुटे माझी समुदाय
रामेछाप : जिल्लाको सुनकोसी र तामाकोसी नदी किनारमा बस्दै आएका अति सीमान्तकृत माझी समुदायको मौलिक पेसा लोप हुँदै गएपछि समुदाय नै पेसा संरक्षणमा जुटेको छ। कोसीमा डुंगा चलाउने र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय पेसा नै लोप भएपछि चिन्तित रहेका थिए।
कोसी र माझीबीच मामा–भान्जाको सम्बन्ध रहेको किंवदन्ती रहेको छ। कोसीलाई नै आफ्नो आम्दानीको माध्यम बनाएका माझी समुदाय पेसा लोप हुँदै गएपछि गुजारा चलाउन समेत गाह्रो भएको खाँडादेवी गाउँपालिका–१ का माझी अगुवा बिरबल माझी बताउँछन्। पुर्ख्यौली पेसा बन्द भएपछि नयाँ पेसा गर्न गाह्रो भएको र आफ्नो पेसा प्रतिचिन्ता भएको अनि बिरबल बताउँछन्।
आफ्नो पेसालाई पर्यटनसँग जोडेर निरन्तरता दिने र आय–आर्जनका रूपमा विकसित गर्दै लैजाने मन्थली नगरपालिका–८ का हरि माझी बताउँछन्। पुर्ख्यौली पेसा बन्द भएपछि माझी समुदायका महिला झन् समस्यामा परेको मन्जु माझीको भनाइ छ। शिक्षाको पहुँच कम भएको र माझी महिलाले के गर्न सक्छन् र भन्ने सोच बढेको मन्जु बताउँछिन्। पछिल्लो पुस्ताले संस्कृत, परम्परा र पेसा बिर्सन लागेको हुँदा यसलाई निरन्तरता दिन आफूले तालिम दिएको शंकर माझी बताउँछन्।
सीमान्तकृत माझी समुदायको पेशा र संस्कृति संरक्षणमा मन्थली नगरपालिकाले आवश्यक सहयोग गर्ने जनाएको छ।
माझी समुदायको संस्कृति र परम्परा झल्कने संग्रहालय र होमस्टे बनाउन आग्रह गरेको र समुदायलाई उचित बजेट व्यवस्थापन गरिदिने मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए। रामेछाप जिल्लाभरि २९ वटा घाटमा डुंगा सञ्चालन हुँदै आएको भए पनि सेलेकाटमा १३ वर्षदेखि र अन्य घाटमा बिगत ५ वर्षदेखि सबै बन्द छन्। डुंगा व्यावसाय सञ्चालन गर्दै आएका दर्जनौं माझी बेरोजगार जस्तै भएका छन्। पुख्र्याैली पेसा संरक्षण गर्ने उद्देश्यले सोमबार माझी उत्थान संघ रामेछापले निर्माण गरेको काठको डुंगा तामाकोसीमा परीक्षण गराइएको थियो।