भरिँदै सेज

भरिँदै सेज
फाइल तस्बिर।
सुन्नुहोस्

सुरुवाती चरणमा सञ्चालनमा आशंका रहेको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको छ। उद्योगी व्यवसायीको मागअनुसार विशेष आर्थिक क्षेत्र प्राधिकरणले कानुनी र व्यावहारिक समस्यालाई सम्बोधन गर्ने गरी सेज ऐन संशोधन गरेपछि लगानीकर्ताको आकर्षण बढ्न थालेको हो। 

सेजमा पूर्वाधार तयार भए पनि लामो समयसम्म उद्योगहरू स्थापना भएका थिएनन्। तर, हाल क्रमशः उद्योगहरू भरिँदै गएका छन्। ‘पूर्वाधार तयार भए पनि लामो समयसम्म सेजमा कुनै उद्योग आएनन्, सुरुमा एउटा उद्योग आयो’ भैरहवा सेज कार्यालय प्रमुख एवं इन्जिनियर सबुत डुम्रेले भने, ‘अब भने सेजमा उद्योगहरू थपिँदै गएका छन्, यो हामी सबैको लागि राम्रो पाटो हो।’

उनका अनुसार हाल सेजमा सात वटा उद्योग सञ्चालनमा छन् भने दुई वटा उद्योगले साइट क्लियरसँगै पूर्वाधार निर्माण गरिरहेका छन्। ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका सेजमा कुल ६८ वटा प्लट छन्। जसमा सात वटा उद्योग सञ्चालनमा छन् भने दुई वटा उद्योगले पूर्वाधार निर्माण गरिरहेका छन्। 

सेजमा हाल चुनढुंगा प्रशोधन गरी कुखुराको दानालगायत उत्पादन गर्ने शक्ति मिनिरल्स उद्योग, एलईडी लाइट उत्पादन गर्ने ब्रिलियन्ट लाइटिङ, स्टिलको पानी ट्यांकी उत्पादन गर्ने पञ्चकन्या, स्टिलका भाडा उत्पादन गर्ने बिस्तार ग्लोबल, प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने एस पोलिमर, तामा, पित्तलका भाडा उत्पादन गर्ने जय बुद्ध, ब्रेटरीलाई प्रशोधन गरी विभिन्न सामग्री बनाउने तिरुपति मेटल्स उद्योग सञ्चालनमा छन्। सेज ऐनअनुसार यी उद्योगहरूले कुल उत्पादनको ६० प्रतिशत उत्पादन विदेशमा निर्यात गर्नुपर्ने हुन्छ। जसमध्ये चालू आर्थिक वर्षको चैत महिनासम्म शक्ति मिनिरल्स उद्योगले ७८ प्रतिशत, विस्तार ग्लोबलले ६४ प्रतिशत, तिरुपति मेटल्स उद्योगले ६३ दशमलव ५ प्रतिशत, ब्रिलियन्ट लाइटिङले ४५ प्रतिशत,पञ्चकन्याले २ प्रतिशत, जय बुद्ध र एस पोलिमरले उत्पादन विदेशमा निर्यात नगरेको उनले बताए। 

‘केही उद्योगहरूले राम्रो गरेका छन् भने केहीको प्रगति सन्तोषजनक देखिएको छैन, हुन त अहिले नै विश्लेषण गर्ने अवस्था त होइन’ कार्यालय प्रमुख डुम्रेले भने, ‘आर्थिक वर्ष समाप्त हुन तीन महिना बाँकी रहेकोले उद्योगहरूले लक्ष्य पूरा गर्न सक्छन् भन्नेमा आशावादी छौं।’ 

कुल उत्पादनको ६० प्रतिशतको निर्यात नगर्ने उद्योगलाई बिगोबराबरको जरिवाना हुने व्यवस्था सेज ऐनमा छ। सेजमा हाल सञ्चालित रहेका उद्योगहरूले भारतको नौतनवा, दिल्ली, चेन्नई, बिहारलगायत सहरमा उत्पादित सामग्री निर्यात गर्दै आएका छन्। शक्ति मिनिरल्सले निर्यात क्षेत्र विस्तारका लागि आफ्नो उत्पादन नमुनाको रूपमा टर्की र चीनमा पठाएको भैरहवा सेज कार्यालयले जनाएको छ।

यस्तै सेजमा थप १४ वटा उद्योगले उद्योग सञ्चालनका लागि सम्झौता गरिसकेका छन्। सेजमा यसअघि उद्योग सञ्चालनका लागि अनुमति लिएर उद्योग स्थापना नगरेको फर्म स्वतः रद्द हुँदा प्राधिकरणले ४५ वटा प्लटमा उद्योग स्थापनाका लागि सूचना जारी गरेको थियो। जसमध्ये ३४ वटा प्लटमा उद्योग सञ्चालनका लागि १४ वटा उद्योगसँग सम्झौता भइसकेको प्रमुख डुम्रेले बताए। जडीबुटी, फर्निचर, गार्मेन्ट, लेदर प्रशोधन, हर्बललगायतका सामग्री उत्पादन गर्ने उद्योगहरू रहेका छन्।

सम्झौता गरेकाहरूले छिट्टै नै उद्योग स्थापना गर्ने जानकारी दिएको उनले बताए। सेजमा सञ्चालित उद्योगमा विद्युत्का लागि पनि प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ। ३३÷११ केभीको विद्युत् प्रवाहका लागि सेज प्राधिकरणले भैरहवा सेजमा सब स्टेसन निर्माणका लागि केही समयअघि टेन्डरसमेत आह्वान गरेको छ।  ‘कार्यालयको द्वारसम्म बिजुलीको तार आइसकेको छ, अब सब स्टेसन निर्माणको लागि टेन्डरसमेत निस्किएकोले छिट्टै नै सब स्टेसन निर्माण हुनेछ’ प्रमुख डुम्रेले भने। हाल नेपाल विद्युत् प्राधिकरणको भैरहवा केन्द्रले सेजमा विद्युत् प्रवाह गर्दै आएको छ। 

तर भन्सारलगायतका कार्यालयबीच अन्तरसमन्वयको अभाव हुँदा केही समस्या रहेको उद्योगीहरू बताउँछन्। भारतबाट समेत लगानीकर्ताले भैरहवा सेजको विषयमा चासो लिँदै सम्पर्क गर्ने गरेको प्रमुख डुम्रेले बताए। ‘सेजमा लगानीका लागि धेरै लगानीकर्ताले रुचि देखाइरहेका छन्’, उनले भने, ‘भारतीय लगानीकर्ताले बढी सम्पर्क गर्छन् ।’ 

के हो विशेष आर्थिक क्षेत्र ?

विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका समानहरू उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीति हो। यो क्षेत्रमा स्थापना हुने उद्योगहरूको लागि प्रारम्भिक आधारभूत विकास निर्माण काम सरकारले नै गर्छ।

यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगहरूले आफ्नो उत्पादनका ६० प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ। उद्योगभित्रका कर्मचारीहरूले केही निश्चित वर्षसम्म हडताल तथा आन्दोलन गर्न र उद्योग बन्द गराउन पाउँदैनन्। यसको साथै उद्योगहरूले विदेशमा आफ्नो सामानहरू निर्यात गर्दा कुनै पनि भन्सार कर तिनु पर्दैन भने विदेशबाट उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा भन्सारमा छुट हुन्छ। जसको कारण स्वदेशमा उत्पादन भएका वस्तुहरू विदेशमा निर्यात हुनाले बढीभन्दा बढी विदेशी मुद्रा आर्जन गरी देश समृद्ध बनाउने सरकारको उद्देश्य हो। 

कस्ता उद्योग रहन्छन् ? 

विशेष आर्थिक क्षेत्रमा वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालन हुनेछन्। सेजमा खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलंैचा तथा ऊनी सामान, पश्मिना तथा रेसम, हाते कागजका वस्तु गरी १७ किसिमका उद्योगहरू सेजमा रहनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.