लाखौं लगानीका पार्कहरू जीर्ण बन्दै

लाखौं लगानीका पार्कहरू जीर्ण बन्दै
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएका पार्कहरू जीर्ण भएका छन्। लाखौँ लगानी गरेर निर्माण गरिएका पार्कहरूको उचित संरक्षण हुन नसकेपछि जीर्ण भएका हुन्। 

२०७३ सालमा चौताराको टुँडिखेल नजिक ६ लाख रुपैयाँभन्दा बढी लगानीमा पार्क सञ्चालनमा ल्याइएको थियो। नगरपालिकाको ५ लाख र भगवती सामुदायिक वन उपभोक्ता समितिको १ लाख २ हजार रुपैयाँ लगानीमा झण्डै डेढ रोपनी जमिनमा फैलिएको पार्कमा आकर्षक बगैँचासहित पिङ, चिप्लेटी र आराम गर्ने बेन्चको व्यवस्था गरिएको थियो। तर अहिले सो पार्कमा झारमात्रै बाँकी छ। 

‘स्थानीय सरकारले पार्क चाहिँ बनाउने, त्यसको संरक्षण नगर्ने गरेको कारण जीर्ण भई खेर जाने गरेको पाइन्छ’, स्थानीय चन्द्रसिं घलेले बताए।

त्यस्तै २०७७ सालमा निर्माण गरिएको सदरमुकाम चौताराको नारायणथान नजिकैको बाल उद्यान अहिले जीर्ण बनेको छ। बालबालिकाहरूलाई मनोरञ्जन दिने उद्देश्यले झण्डै ३५ लाख लागतमा निर्माण गरिएको यो उद्यानको सम्पूर्ण संरचनाहरू बिग्रेको र भत्केको छ।

बागमती प्रदेश सरकारको २५ लाख र डिभिजन वन कार्यालयको १० लाख रुपैयाँको लागतमा निर्माण भएको यो पार्कको सुरुका दिनहरूमा बालबालिकाहरूको भीड लाग्ने गरेता पनि अहिले भने शून्य नै छ। 

उचित संरक्षण हुन नसक्दा त्यहाँ रहेका चिप्लेटी, पिङ लगायतका संरचनाहरू कवाडीमा परिणत भइसकेका छन्। गत वर्ष मात्र निर्माण भएको सहिद कञ्चन प्रियदर्शी स्मृति पार्क पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ। 

सशस्त्र द्वन्द्वको क्रममा मारिएका साहित्यकार तथा पत्रकार कञ्चन प्रियदर्शीको शालिकसहितको यो पार्क बागमती प्रदेश सरकारकै १८ लाख लागतमा चौतारा साँगाचोकगढी-६ मा निर्माण भएको हो। ‘निर्माण गर्नेहरूले आफ्नो स्वार्थ अनुकुल पार्क बनाएको कारण यस्तो अवस्था आएको हो,’ स्थानीय सुनिल बुढाथोकीले भने।

त्रिपुरासुन्दरी गाउँपालिका पिस्करस्थित निर्माण गरिएको सहिद पार्कको स्थिति त झन् कन्तबिजोग नै छ। २०४० सालमा तत्कालीन पञ्चायत विरुद्ध आयोजना गरिएको कार्यक्रममा प्रहरीबाट अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्यु भएका स्थानीय वीरबहादुर थामी र इले थामीको सम्झना र सम्मानमा शालिकसहित निर्माण गरिएको पार्कको हविगत हेर्दा जो कोही मन चहराउन सक्छ।

२०६४ सालमा बलेफी गाउँपालिका विञ्जेलमा थालिएको सहिद स्मृति पार्क भने १६ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन। पार्कभित्रका अधिकांश संरचना भत्किएका छन् भने पार्क वरिपरिको घेराबार पनि जीर्ण बनी बनिसकेको छ। 

२०६४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सशस्त्र द्वन्द्वमा सहादत प्राप्त सहिदहरूको सम्झनामा निर्माण गरिएको पार्कका लागि सुरुमा २० लाख बजेट विनियोजन भएको र निरन्तररुपमा पार्क निर्माणका लागि बजेट विनियोजन हुँदै आएको स्थानीय महेश नेपालले बताए।

यस वर्ष पनि सो पार्कका लागि बलेफी गाउँपालिकाले दुई लाख बजेट विनियोजन गरेको जानकारी दिँदै बजेटको सही सदुपयोग हुन नसक्दा पार्क निर्माण कार्य अलपत्र भएको उनको भनाइ छ। १२ स्थानीय तह रहेका सिन्धुपाल्चोकको अधिकांश पालिकाभित्र साना र ठूला बजेटका पार्कहरू निर्माण भएका छन्। 

विशेष गरी सहिदको सम्झना र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएका यस्ता पार्कहरूका उचित संरक्षण, सम्वर्द्धन नहुँदा कतिपय जीर्ण भइसकेका छन् भने कतिपय पार्कहरू निर्माण थालिएर पनि अपर्याप्त बजेटका कारण लथालिंग अवस्थामा छन्।

डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले जिल्लास्थित विभिन्न सामुदायिक वनमा निर्माण गरिएका पार्कहरूको अवस्था पनि दयनीय बन्दै गइरहेको छ। 

पार्क निर्माणपछि उचित संरक्षण हुन नसक्दा जिल्लामा निर्मित अधिकांश पार्कहरू जीर्ण बन्दै गइरहेता पनि सरोकारवाला निकायको ध्यान भने त्यतातर्फ गएको देखिँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.