मौलिकपनसँगै उभौलीको धूमधाम
उभौलीमा नाचिने साकेला सिली (चण्डी नाच) पशुपक्षीको चाल, कृषि खेतीका तौरतरिकाको अनुकरण गरी ढोल र झ्याम्टा बजाउँदै एकै सुरतालमा गोलबन्दी घेरा बनाएर नाच्ने गरिन्छ।
भोजपुर : किरात राईहरूको सांस्कृतिक महान चाड उभौली पर्व धूमधामले सुरु भएको छ। राई समुदायको बाहुल्य रहेको भोजपुरमा उभौली पर्व उल्लासमय रूपमा सुरु भएको हो।
किरात मुन्दुमी संस्कृतिमा साकेला, साक्खेवा, साकेन्वा नामले परिचित उभौली पर्वको रौनक किरात बस्ती गाउँगाउँदेखि सहर बजारसम्म धूमधामले सुरु भएको छ। विशेषगरी मुन्दुमी मान्यताअनुसार अन्नबालीमा प्राकृतिक विपत्तिहरूबाट सुरक्षित रहने मनोकामनाका साथ इष्टदेवता सुम्दिमा र पारुहाङको पूजाआजा गर्ने चलन रहँदै आएको छ। भोजपुर रिमचिमका स्थानीय नाक्छोङ (कुल धामी) मणि राईका अनुसार उभौलीमा न्वागी, सिमे, भूमे र भूमिपूजाको रूपमा कुखुरा, कोदोको जाँड र रक्सीलाई ‘सुप्तुलुङ’ अर्थात् तीनचुल्हो र माङ (पितृ) पूजामा चढाउने धार्मिक परम्परा छ।
वर्षभरिलाई फलाइने अन्न रोपेर ‘उभो’ (उकालो) लाग्ने भएकाले भूमिपूजक किरात राईहरू वैशाख पूर्णिमादेखि १५ दिनसम्म उभौली मनाउँछन्। मुन्दुमी परम्पराअनुसार इष्टदेवता सुम्दिमा र पारुहाङलाई सम्झँदै माङ (कुलपितृ) सँग शक्ति माग्ने गरिने राईले सुनाए। ‘अन्य समुदायजस्तै किरात राईहरूको पनि उभौली मुख्य पहिचान हो, हाम्रो संस्कार हो। हाम्रो संस्कार संस्कृति, मौलिकपन, मूल्यमान्यता बिर्सन पनि हुन्न, त्यही पुर्खाहरूको सम्झना र सुखशान्तिको कामनाका लागि उभौली मनाउँछौं’, उनले भने। उभौलीमा किरात राईहरू आदिमकालमा पुर्खाहरूले कन्दमूल खाएर जीविका गरेको स्मृतिमा कन्दमूल खाने, काँचो वनतरुलको टीका लगाउने, सबेरै काँचो वनतरुल चपाएपछि मात्रै अन्य उसिनेका वा भुटेका कन्दमूल ग्रहण गर्ने परम्परा रहेको किरात संस्कृतिविद् कमलजंग राईले बताए।
यस्तै, उभौलीमा नाचिने साकेला सिली (चण्डी नाच) पशुपक्षीको चाल, कृषि खेतीका तौरतरिकाको अनुकरण गरी ढोल र झ्याम्टा बजाउँदै एकै सुरतालमा गोलबन्दी घेरा बनाएर नाच्ने गरिन्छ। उभौलीको पहिचानकै कारण सांस्कृतिक महत्त्व जोडिएको उनी सुनाउँछन्। हातमा चौंरीको पुच्छर, सिल्लिमो, पोमी, चम्मर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टा, बिनायोको सुरमा घेराभित्र विधिवत् रूपमा नाच्ने गरिन्छ। आध्यात्मिक रूपमा प्राकृतिक स्रोत र शक्तिसँग जोडिएकाले पनि परापूर्वकालदेखि नै उभौली मनाइँदै आएको संस्कृतिविद् शरणबहादुर राईले बताए। वैशाख पूर्णिमाका बेला सूर्य उत्तर लाग्ने भएकाले उभौलीलाई मुन्दुमी किरात भाषामा ‘दोङवाङा’ भन्ने गरिएको उनको भनाइ छ।
किरात राईहरूले ढुंगे युगपछि कृषि युग सुरु गर्ने क्रममा विभिन्न परम्पराको रूपमा आफ्नो पहिचान छोडे। थितिहरू बसाए। त्यही नै संस्कृतिको रूपमा विकसित भएको संस्कृतिविद्हरूको बुझाइ छ। चलनचल्तीमा आएको विश्वास छ। किराती सुनुवार, राई, लिम्बू र याक्खा जातिहरू उभौली उधौलीलाई मान्ने र पुज्ने गर्छन्। भोजपुरसँगै खोटाङ, ओखलढुंगा, धनकुटामा उभौली धूमधामले मनाइन्छ। विशेषगरी आदिवासी जनजाति किरात राईहरूको बाहुल्य रहेको नेपालको पूर्वी पहाडी भेगलाई यो सांस्कृतिक पर्वको थाकथलो मानिन्छ।