दमकमा झडप : डीएसपीसहित १५ सुरक्षाकर्मी र चार प्रदर्शनकारी घाइते

दमकमा झडप : डीएसपीसहित १५ सुरक्षाकर्मी र चार प्रदर्शनकारी घाइते
तस्बिर : अन्नपूर्ण

झापा : झापाको दमकमा मंगलबार साँझ राँके जुलुस प्रदर्शनको क्रममा प्रर्दशनकारीहरू आक्रामक बन्दा प्रतिकारमा सुरक्षाकर्मीले गोली चलाएको प्रहरीले स्वीकार गरेको छ । 

प्रहरीको गोली लागेर कमल गाउँपालिका– १ स्थित चुलाचुलीका गजेन्द्र फागो घाइते भएका छन् । उनको गोडामा गोली लागेको हो । त्यस्तै प्रदर्शनकारीतर्फ अर्जुनधाराकी निर्मला क्षेत्री लिम्बू,उर्लाबारीका सूर्य माझी र मातृका धिमाल पनि घाइते भएकी छन् । 

दुवैको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । राँके जुलुसमा प्रर्दशनकारीहरू आक्रामक बन्दा प्रतिकारमा प्रहरीले एक राउन्ड गोली चलाएको र सो गोली फागोको गोडामा लागेको जिल्ला प्रहरी कार्यालय झापा डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । 

तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा १९ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि प्रहरीले ५ राउन्ड डमी फायर, ५ राउन्ड सर्टगनको छर्रा र एक राउन्ड गोली प्रहार गरेको डीएसपी रिजालले जानकारी दिए । झडपमा नेपाल प्रहरीतर्फ १२ र सशस्त्रतर्फ ३ गरी १५ जना घाइते भएका छन् । 

घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामा,इन्स्पेक्टरहरू देवानन्द मिश्र, जीवन गौतम ,प्रहरी सहायक हवल्दार शिवकुमार चौधरी, प्रहरी हवल्दार टंकबहादुर राई,प्रहरी जवान कमल श्रेष्ठलगायत रहेका छन् । 

घाइतेमध्ये गम्भीर अवस्थाका प्रहरी सहायक हवल्दार चौधरीलाई उपचारका लागि गोल्डेन हस्पिटल विराटनगर पठाइएको छ । अन्यको दमकको  लाइफलाइन र एडभान्स हस्पिटल दमकमा उपचार भइरहेको डीएसपी रिजालले बताए । 

त्यस्तै, सशस्त्रतर्फ वरिष्ठ हवल्दार रामलाल ताजपुरिया,हवल्दार समन्त्र राई र जवान तुलसी श्रेष्ठ घाइते भएको सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । घाइतेमध्ये दायाँ गालामा चोट लागेका हवल्दार राईलाई थप उपचारका लागि विराटनगर पठाइएको एसपी अर्यालले बताए ।

कोसी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार दमकमा राँके जुलुस प्रदर्शन गरेका थिए । जुलुसमा प्रदर्शनकारीहरूले प्रहरीमाथि राँको,इँटा र ढुंगा प्रहार गरेका थिए । 

त्यसपछि मात्र सुरक्षाकर्मीले प्रतिकार गरेको बताउँदै डीएसपी रिजालले भने,‘शान्तिपूर्ण राँके जुलुस गर्ने भनिएको थियो,सोही अनुसार राँको बाल्न पनि दियौँ,राँको निभाउने क्रममा प्रदर्शनकारी आक्रामक बन्दै सुरक्षाकर्मीमाथि उल्टै जाइलाग्यो ।’ 

सुरक्षाकर्मीहरूलाई ज्यान जोगाउन नै हम्मेहम्मे परेपछि गोली हान्नु परेको उनले बताए । सुरक्षाकर्मीले धैर्यता अपनाउँदा मानवीय क्षति नभएको उनको भनाइ छ । यता प्रदेश १ पुनः नामांकन संघर्ष समितिले जारी गरेको वक्तव्यमा राज्य पक्षबाट आन्दोलनमा घुसपैठ गराई मुठभेडको वातावरण सिर्जना गरी प्रहरीले गोली चलाएको आरोप लगाएको छ ।

 ‘शान्तिपूर्ण आन्दोलनमाथि निरङ्कुश पञ्चायती शैलीमा लोकतान्त्रिक सरकारले मानव अधिकारको उलंघन गर्दै आन्दोलनकारीमाथि प्रहरीको हतियारबद्ध दमनको घोर भर्त्सना गर्दछौँ,’ वक्तव्यमा भनिएको छ  ।

यसरी नै सरकार निहत्था जनतामाथि जाइलागेमा त्यसको प्रतिरोधमा उत्रिन बाध्य हुने र त्यसले निम्त्याउने दुष्परिणामको जिम्मेवारी सरकार स्वयमले लिनुपर्ने चेतावनी पनि वक्तव्यमार्फत दिइएको छ । 

शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट हुने यस प्रकारको नृशंस दमनको अनुगमन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीहरूमा हार्दिक अपिल पनि गरिएको वक्तव्यमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.