सम्भावना ‘डेन्टल टुरिज्म’को

सम्भावना ‘डेन्टल टुरिज्म’को
सांकेतिक तस्बिर।
सुन्नुहोस्

दाँत तथा मुख परीक्षणले मात्र पनि शरीरका अनगिन्ती रोगका लक्षणहरू देखिन्छन्। यसरी रोगको पहिचान, जटिलताको निदान हुन सक्ने भएकाले यी शरीरको प्रवेशद्वार र ऐना भनिन्छ। दाँत झरेर नै जाने हो भन्ने भ्रम अधिकांशमा छ। आधारभूत र गुणस्तरीय मुख स्वास्थ्य सेवा नागरिकको सुलभ र सहज पहुँचबाट धेरै टाढा छ। अधिकांश मुखका रोग र समस्याहरूबाट ग्रसित छन्। मुख स्वस्थ नहुने मान्छे शारीरिक रूपमा पूर्ण स्वस्थ हुन सक्दैन। सामाजिक रूपमा आत्मविश्वासी पनि हुन सक्दैन। उसको गुणस्तरीय जीवनयापनमा ह्रास आइरहेको हुन्छ।

पर्यटन वर्ष तथा प्रवर्द्धन गर्दा बारम्बार छुटेको क्षेत्र भनेको सेवामूलक चिकित्सा क्षेत्र हो। दक्षिण एसियामा आँखा र मुटुको उपचारमा चर्चित नेपाललाई दन्तचिकित्सा उपचारका रूपमा पनि प्रसिद्ध बनाउन सकिने प्रशस्त सम्भावना छन्। हुन त विश्वमा पर्यटक आकर्र्षित गर्न कतै समुन्द्र किनार, कतै जु बाघ र ट्रेकिङ, दृश्यावलोकन त कतै रात्रिजीवन, यौन व्यवसायलाई विकसित गरेको पाइन्छ। हामीकहाँ पनि मेडिकल टुरिज्मको सम्भाव्यता हुँदाहुँदै न त योजना छ न त पहल नै गरिएको छ।

नेपालमा चिकित्सा क्षेत्रमा अध्ययनका लागि विदेशीहरू आइरहेका भए पनि त्यसमा छिमेकी मुलुकका मात्र छन्। यहाँका प्रशासनिक उल्झन, राजनैतिक अस्थिरता तथा सांगठनिक विचलनले सोचेजस्तै विदेशी विद्यार्थीहरू आकर्षण गर्न सकिरहेको छैन। दुई दशकको अन्तरालमा नेपाली दन्त चिकित्साले निकै ठूलो फड्को मारिसकेको छ। नेपालको दन्त चिकित्सामा हुने निदान, उपचारका लागि आवश्यक सरसामान युरोप, अमेरिकाबाटै ल्याइए पनि उपचार पद्धति सस्तो र गुणस्तरीय छ। केवल हातमात्रै नेपाली दन्त चिकित्सकको छ।

पर्यटन आकर्षण गर्न सक्ने सम्भाव्य भएको दन्तचिकित्सा सबैबाट ओझेलमा छ। जसको जानकारी उपलब्ध गराउन सके खासगरी युरोपियन, अमेरिकन र पश्चिमालाई आकर्षण गर्न सकिन्थ्यो भन्नेमा सरोकारवाला सबैको दाबी छ। जुन शतप्रतिशत सत्य पनि हो। सरकारले पूर्वाधार विकास, तालिम, अध्ययन, पुनर्ताजगी र नियमन एकातिर गर्नुपर्छ भने अर्काेतिर विदेशमा तथा आएका पर्यटकमा यहाँ उपलब्ध सेवाको विशेषताका बारेमा प्रचारप्रसार गर्नुपर्छ। परिणामत देशको स्वास्थ्य सेवामा र आर्थिक क्षेत्रमा टेवा पुग्नेमा कसैको दुई मत छैन।

थाइल्यान्डको अद्वितीय नमुनाको रूपमा रहेको मेडिकल टुरिज्म विश्व प्रसिद्ध नै छ। बैंकक, बम्बै, भेलोर, दिल्ली, सिंगापुरमा प्याकेजमा तुलनात्मक सस्तो लागे पनि जाने आउने टिकट, उपचार र भर्नाभै अस्पतालमा बस्दा लाग्ने खर्च नेपालका सबैभन्दा महँगा अस्पतालमा लाग्ने खर्चभन्दा कम महँगा हुनै सक्दैन। हङकङ र सिंगापुरले यस्ता खाले पर्यटकलाई व्यावसायिक रूपले आकर्र्षित गर्न दन्तचिकित्सा उपचारमार्फत मेडिकल टुरिज्मलाई विस्तार गर्न थालिसकेका छन्।

बलिउड जत्तिकै नेपालको सेवा

नेपालको दन्तचिकित्सा क्षेत्रप्रति केही नेपालीको त कुरा छाडौं, विदेशीको समेत विश्वास लिई ध्यान केन्द्रित गर्न सफल भएको पाइन्छ। हलिउड त हैन, बलिउड जत्तिकै तथा कलकत्ता, दिल्लीभन्दा उच्च गुणस्तरको दन्तउपचार कलिउडमा उपलब्ध छ। वार्षिक जापानी, अमेरिकी, जर्मनीलगायतका पुगनपुग १५ हजार विदेशीले नेपालमा सामान्य तथा कस्मेटिक उपचार गराउँछन्। आकस्मिक दन्तउपचार त ३० हजार बढीले लिने गरेको अनुमान छ। तथ्यांकमा नआएकाले भनिएको भन्दा धेरै पनि हुन सक्छ।

विश्वमा उपलब्ध ९९ प्रतिशत बढी दन्तसेवा नेपालमै उपलब्ध भइसकेका छन्। सहरमा सुन्दरताको चाहना राख्ने र स्वास्थ्य जनचेतना भएका ग्राहक र बिरामी बढी हुने भएकाले आधुनिक दन्त उपचारका ९० देखि ९५ प्रतिशत उपचार सहर केन्द्रित छन्। जसमा सौन्दर्यसम्बन्धी उपचार तथा उच्च गुणस्तरका दाँत राख्ने बढी छन्। जति महँगो त्यति राम्रो भन्ने कुरा सौन्दर्यको रूपमा होला तर कम पैसामा उपलब्ध हुने उपचार विधि प्रयोग गर्दैमा त्यो कमसल हुन्छ भन्ने हँुदैन भन्ने दाँतमा चाँदी भराईमा लागू हुन्छ। आधारभूूत दन्त उपचार दाँत निकाल्ने, भर्ने, सफा गर्ने र राख्ने झिक्ने खालका सामान्य नक्कली दाँतजस्ता उपचार गाउँघरमै दक्ष, अर्धदक्ष र अदक्षद्वारा भए पनि उपलब्ध भइरहेका छन्। नजानेर, जानेर र नेपाली चिकित्सकप्रति विश्वास नभएर तथा आफू ठूलो र सम्पन्न भएको देखाउन पनि विदेश जाने वर्ग पनि छन्। जसलाई सायद हामीले कहिल्यै रोक्न सक्दैनौं पनि।

सस्तो पनि

नेपालको दन्त उपचार सेवा अत्यन्त सस्तो, किफायती, विश्वसनीय, भरपर्दाे त छ नै। त्यसैमा हरेक सेवामा सहजता र नेपाली कलात्मक हात पनि छ। विदेशमा लिइने दन्तसेवाको शुल्क र नेपालमा लिनेको अन्तर आकाश जमिनको छ भन्ने साक्षीका रूपमा विदेशमा बस्ने नेपाली, गैरआवासीय नेपाली तथा यहाँ उपचार गराएका हजारौं विदेशी छन्। उनीहरूका अनुसार विदेशको लाग्ने उपचार खर्चमा त यहाँ दाँतको उपचारका अलावा आउने जाने तथा नेपालमा भेटघाट गर्न पुग्छ।

हाल सरकारको उपयुक्त भौतिक संरचना, नीति नियमन, निजी क्षेत्रको लगानी र दन्त चिकित्सकको सेवा र तत्परता एकैसाथ भए राम्रो हुन्छ। पर्यटकलाई मनोरञ्जनका लागि मात्र नभई सेवाका कारणले पनि एक काज दो पन्थका रूपमा निम्त्याउन सकिन्छ। अन्तमा, निजी अस्पताल र क्लिनिकहरूको बाहुल्य तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकमध्ये आधारमात्र नेपाल र ९० प्रतिशत काठमाडौं उपत्यकामै सीमित रहँदा त यस्तो छ।

ब्रेन ड्रेन रोके तथा सर्वसुलभ, सक्षम छुट्टै दाँतको सरकारी अस्पताल खोल्न सके सरकारबाट नीतिगत सहयोग र निरन्तर निगरानी भए झनै कति धेरै पर्यटक र विदेशी पैसा भिœयाउन सकिन्थ्यो होला ? डेन्टल टुरिज्मको अवधारणा ल्याए पर्यटक भिœयाई पर्यटन व्यवसायलाई थप टेवा अवश्य पनि पुग्ने थियो होइन र ? विश्व मुख स्वास्थ्य दिवस मार्च २० लाई सप्ताहव्यापी मनाउने क्रममा न त सरकार न त डेन्टल एसोसियसन तथा सरोकारवाला कसैले दन्त पर्यटनको उजागर नगरेको देख्दा नजिकको तीर्थ हेलाँजस्तै भएको छ।

नेपाली दन्त चिकित्सा सेवामा रहेको गहना तथा महत्त्वलाई चिन्न नसकेको जस्तो भान भएको छ। तसर्थ दाँत तथा मुख स्वास्थ्यको महत्त्वका लागि नीतिनिर्मातालाई एक दिन, सप्ताह नभई वर्षैभरि निरन्तर जानकारी तथा दबाबको जरुरी छ। हिजो जे जस्तो भए पनि अब हामी मुख स्वास्थ्यबारे जानकार हुनैपर्छ। रोग तथा समस्याहरूबाट मुक्ति पाउने बाटोतिर अगाडि बढ्नुपर्छ। सबैले साथ दिए मुख स्वास्थ्यमा नयाँ आयाम थपिनेछ।

- बुढाथोकी, नेपाल चिकित्सक संघका उपसभापति हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.