बैंकिङ कसुर मुद्दाका आरोपित पूर्वजनप्रतिनिधि भोजपुरको दिंलाबाट पक्राउ

बैंकिङ कसुर मुद्दाका आरोपित पूर्वजनप्रतिनिधि भोजपुरको दिंलाबाट पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

भोजपुर  : सर्वसाधारणको रकम ठगी गरेर फरार बनेकी एकजना पूर्वजनप्रतिनिधिलाई भोजपुरको दिंलाबाट प्रहरीले पक्राउ गरेको छ । भोजपुरको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक अर्जुन पोखरेल नेतृत्वको टोलीले षडानन्द नगरपालिका–८ की पूर्ववडा सदस्य कमला विश्वकर्मालाई पक्राउ गरेको हो । 

विश्वकर्मा २०७४ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गतको मुद्दा चलाउन उच्च अदालत विराटनगरबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ । 

विश्वकर्माले आफू जनप्रतिनिधि भएका बेला झुक्याउँदै सर्वसाधारणसँग लाखौं रूपैयाँ असुलेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘विभिन्न व्यवहारिक समस्या देखाएर आफ्नै वडाका सर्वसाधारणसँग रकम असुलेर फरार बनेको पाइयो,’प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘कतिपयलाई पैसा नभएको बैंक खाताको चेक काटेर दिएको पनि खुलेको छ ।’ उनका अनुसार विश्वकर्माबाट ठगिएका सर्वसाधारणको संख्या धेरै छ । तर, तीमध्ये दुईजनाले मात्रै प्रहरीमा किटानी जाहेरी दिएका थिए । 

पटक–पटक बैंकमा जाँदा पनि उनको खातामा नभएकाले पैसा निकाल्न नपाएको र गलत चेक लिएर आफूहरूलाई झुक्याइएको भन्दै पीडितले बैंकबाट ‘चेक बाउन्स’ गराएका थिए । पीडितले जिल्ला प्रहरी कार्यालय भोजपुरमा विश्वकर्माविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो । 

भागेर काठमाडौं पुगेकी उनलाई भोजपुरको दिंला आएका बेला प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौं पुगेपछि सम्पर्कविहीन भएर उनी उतै लुकिछिपी बस्दै आएकी थिइन् । विश्वकर्माको खाता रहेको एनआईसी एसिया बैंकले कारोबार गर्न नपाउने गरी उनलाई कालोसूचीमा समेत राखिसकेको छ ।  

सापटी भनेर लगेको पैसा लामो समयदेखि फिर्ता नगरेपछि न्याय खोज्दै पीडितहरू प्रहरी कार्यालयमा पुगेका हुन् । पीडितले दिएको जाहेरी र उपलब्ध प्रमाणका आधारमा पक्राउ गरेर विश्वकर्माविरुद्ध अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाइएको भोजपुर प्रहरी प्रमुख डीएसपी शरद थापा क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार केही समयका लागि भनेर ३ वर्षअघि लिएको रकम नतिरिकन विश्वकर्मा फरार बनेको पाइएको छ । उनी सम्पर्कविहीन बनेपछि पैसा सापटी दिनेहरु भने बिचल्लीमा परेका थिए । 
निर्वाचनमा आफैंलाई भोट हालेर जिताउने जनतालाई झुक्याएर ठगी गरेको प्रहरीको भनाइ छ । 

जनप्रतिनिधिले खाएको पैसा उठाइदिन माग गर्दै पीडितले नगरपालिका र वडा कार्यालयमा निवेदन पनि दिएका थिए । पीडितमध्येका भीमबहादुर तामाङका अनुसार नगरपालिका र वडामा लगभग डेढ वर्षअघि भएको छलफलमा उनले रकम फिर्ता गर्ने कवुल पनि गरिन् । ‘गाउँका मान्छेसँग ठूलो रकम उठाएकी विश्वकर्मा रकम फिर्ता गर्ने कवुल गरेर भागिन्,’उनले भने,‘त्यसपछि हामीले प्रहरीलाई गुहार्नुपर्ने अवस्था आयो ।’ 

तामाङका अनुसार आफ्नै टोलमा मात्रै ऋण भनेर प्रतिव्यक्ति एक लाखदेखि सात लाख रूपैयाँसम्म उठाएको पाइएको छ । जनप्रतिनिधि भएका बेला पैसा खाइदिएपछि गरिब गाउँलेको उठिबास हुने अवस्था आएको तामाङ बताउँछन् । 

स्थानीयका अनुसार वडासदस्य विश्वकर्माले विभिन्न सहकारी र अन्य संघसंस्थाबाट पनि लाखौं रूपैयाँ ऋण लिएकी थिइन् । गाउँलेबाट ठूलो रकम ठगी गरेकी उनले सुरुमा प्रहरीबाटै संरक्षण पाएको तामाङ बताउँछन् । ‘त्यतिबेला बहालवाल जनप्रतिनिधि भएकाले प्रहरीले कारबाही अघि बढाउन चासो दिएन,’उनी भन्छन्, ‘अहिले हामीले दिएको जाहेरीका आधारमा पक्राउ परेकाले न्याय पाउने आशा पलाएको छ ।’ 

खाइ–नखाइ दुःख गरेर कमाएको पैसा उठाएर विश्वकर्मा फरार बनेपछि धेरै जनाको बिल्लिबाठ भएको तामाङ बताउँछन् । पैसा फिर्ता माग्दा जनप्रतिनिधिको धामस देखाएर उल्टै धम्क्याउने गरेको उनको भनाइ छ । उनका अनुसार जनप्रतिनिधि भएकाले विश्वासमा परेर पैसा दिएका गाउँलेहरु त्यसपछि पीडा बेहोर्न बाध्य छन् । एकजना जनप्रतिनिधिले सिंगो गाउँलाई डुबाएको तामाङ बताउँछन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.