भवन अभावले खुल्ला चौरमा पढ्न बाध्य
मुगु : खत्याड गाँउपालिका—९ नर्खजी गाँउमा रहेको पञ्चदोय माध्यामिक विद्यालयका विद्यार्थीहरु खुल्ला चौरमा पढ्न बाध्य भएका छन्। असोजमा १९ देखि २४ गतेसम्म परेको लगातारको बर्षातले दुई वटा भवनमा क्षति भएपछि विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका हुन्।
उक्त भवनमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको पढाई हुने गरेको थियो। विद्यालयमा अहिले कक्षा १ देखि १२ सम्म ४५० जना विद्यार्थी अध्यनरत छन्। कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई भने उनीहरुकै कक्षा कोठामा पढाइँदै आएको छ। बर्षातले क्षति बनाएको भवन निर्माणका विषयमा धेरै ठाउँमा पहल गर्दासमेत निर्माण गर्न कसैबाट सहयोग प्राप्त हुन सकेको छैन। बर्षातले क्षति बनाएका दुबै भवन प्रयोगमा ल्याउने अवस्था नभएको विद्यालय प्रशासनले जनाएको छ।
कक्षा ६ देखि ९ कक्षामा विद्यार्थीको संख्या बढी छ। विद्यार्थीहरुलाई कक्षा कोठामा राख्ने अन्य भवन नभएपछि खुल्ला चौरमा पढाउनु परेको विद्यालयका निमित्त प्रधानाध्यापक बसन्तराज कडेलले जानकारी दिए।
विद्यालयमा अध्यनरत कक्षा १० अध्यनरत छात्र रुपक शाहीका अनुसार बर्षातले आफू अध्ययन गर्ने भवन क्षति भएपछि कक्षा कोठामा बसेर अहिले पढ्न पाइएको छैन। हिउँदका समय होस् या गर्मी खुल्ला चौरमा सरहरुले पढाउने गरेको उनले बताए। सोही विद्यालय कक्षा—८ मा अध्यनरत छात्रा प्रतिमा शाहीले पनी कक्षा कोठामा नपढेको ८ महिना भएको बताइन्।
उनले भनिन्, 'कक्षाकोठा नहुँदा पानी र हावा हुरी चल्दा पढाई छोडेर घर जानुपर्छ। कहिलेकाँही प्रावि कक्षाका भाईबहिनीहरुको कक्षामा बसेर पढ्नु पर्छ । पानी नपरेका बेला र हावाहुरी नचेलका बेलो चर्को घाममा खुल्ला चौरमै पढ्ने गरेका छौं।'
अहिलेसम्म खुल्ला चौरमा शिक्षकहरुले जसोतसो पढाएको भएपनि अब बर्षात सुरु भएपछि भवन अभावकै कारण बाबुनानीको बढाईमा बाधा पर्ने चिन्ता अभिभावकलाई छ। 'बाजुरा र हुम्ला केन्द्र बिन्दु बनाएर चार पाँच पटक भूकम्प आइसक्यो। पुन : ठूलो भुकम्प आइहाले जिर्ण भवन भत्किएर सबै बालबालिकालाई क्षति पुर्याउँछकी भन्ने चिन्ता लागेको छ। भवन निर्माण गरिदिनका लागी वडा र गाउँपालिका दुबैलाई अनुरोध गरेका छौं, तर अहिले सम्म सुनुवाई भएको छैन' अभिवावक भक्त बहादुर कार्कीले भने।
भवन निर्माण गरिदिनका लागी आवश्यक काजपत्र लिएर काठमाडौं दुई तीन पटक पुगिसकिएको छ। २०७९ माघ १७ गते तत्कालीन संघिय क्षिक्षा मन्त्री शिशिर खनाल र शिक्षा मन्त्रालयका सचिवसँग भेटगरी भवन निर्माणका लागी सहयोग गरिदन आग्रह गर्दा दुबै जनाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माणका लागी पहल गर्ने आश्वास्न दिएका थिए। कर्णाली प्रदेशका मन्त्रीहरुलाई समेत गुहार मागेको हो। तर कतैबाट अहिलेसम्म सुनुवाई हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर शाहीले जानकारी दिए।
क्षति बनाएका भवनका लागी गाँउपालिकाले आउदो आर्थिक वर्षमा निर्माणका लागी सोच बनाएको खत्याड गाँउपालिका अध्यक्ष अजबहादुर शाहीले बताए।