सहिद भीमनारायण गोल्डकप : साविक विजेता एपीएफ पहिलो खेलबाटै बाहिरियो

सहिद भीमनारायण गोल्डकप : साविक विजेता एपीएफ पहिलो खेलबाटै बाहिरियो

धनकुटा : साविक विजेता सशस्त्र प्रहरी वल (एपीएफ) क्लब सहिद भीमनारायण गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ। 

१४ औं संस्करणको विजेता समेत रहेको एपीएफ क्लब वीरगञ्ज युनाइटेड क्लबसँग पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित हुँदै १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको हो।  

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा एपीएफलाई पराजित गर्दै वीरगञ्ज सेमिफाइनल पुगेको छ। 

निर्धारित समय २/२ गोलको बराबरीमा सम्पन्न भएको थियो। 

पेनाल्टी सुटआउटमा वीरगञ्जको तर्फबाट शिसष थापा, श्याम चौधरी, निरज थापा र विवेक चौधरीले गोल गरेका थिए। एफिएफको तर्फबाट प्रविणकुमार स्याङ्तानले मात्र गोल गर्न सफल भए भने महेश लामाको प्रहार विपक्षी गोलकिपर दिलमणि चौधरीले रोके। त्यस्तै एपीएफका घनश्याम थारुको प्रहार गोल पोस्ट माथिबाट बाहिरियो। 

खेलको २३  औं मिनेटमा निरज थापाले गोल गर्दै वीरगञ्जलाई सुरुवाती अग्रता दिलाएका थिए। एपीएफका सन्तोष कटुवालले ६३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। ७३ औं मिनेटमा विरेन्द्र प्रसाद यादवले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपीएफ १० खेलाडीमा सीमित भयो। 

८४ औं मिनेटमा एपीएफका प्रविणकुमार स्याङ्तानले गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाए। ८६ औं मिनेटमा वीरगञ्जका विवेक चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन। 

खेल पेनाल्टी सुटआउटमा पुग्यो। खेलको म्यान अफ द म्याच वीरगञ्जका गोलकिपर दिलमणि चौधरी घोषित भए। उनले नगद ४ हजारसहित ट्रफी प्राप्त गरे। 

सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता छ। प्रतियोगिता आगामी जेष्ठ २ गतेसम्म सञ्चालन हुनेछ। 

आइतबार पहिलो सेमिफाइनल खेल हुनेछ। बी डिभिजन क्लब प्लानिङ ब्याइज काठमाडौं र मोरङको पेमा युवा क्लब बीच हुने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए।  

प्रतियोगिताको विजेताले नगद ५ लाखसहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ। हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिने छ।  

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रुपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थितिका कारण सञ्चालन हुन सकेन। 

२०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ। २०५५ सालमा धनकुटा नगरपालिका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन्। 

नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.