रामेछापको खाँडादेवी गाउँपालिकाले ‘स्मार्ट चौतारो’ बनाउने
रामेछाप : जिल्लाको खाँडादेवी गाउँपालिकाले स्मार्ट चौतारो बनाउने भएको छ।
पालिकालाई स्मार्ट बनाउने उद्देश्यले ‘स्मार्ट चौतारो’ बनाउन लागिएको गाउँपालिकाले जनाएको छ। ‘स्मार्ट चौतारो’ नेपालमै पहिलो अवधारणा भएको समेत खाँडादेवी गाउँपालिकाको दावी छ।
यो अवधारणाको सही सदुपयोग गर्न सके वर्षौ लगाएर गर्ने काम छोटो समयमै सजिलै गर्न सकिने गाउँपालिकाले जनाएको छ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले ‘स्मार्ट चौतारो’ बनाउने बताए। उनले भने ‘हामीले स्मार्ट सिटी, स्मार्ट फोन धेरै सुन्यौँ, हामीले गाउँपालिकालाई समृद्ध बनाउन ‘स्मार्ट चौतारो’को अवधारणा अघि सारेका छौँ। स्मार्ट चौतारोको अवधारणामा मार्फत गाउँपालिकालाई स्मार्ट बनाउने योजनामा छौँ', उनले भने।
स्मार्ट चौतारो अवधारणका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको पनि उनले बताए। जनघनत्वलाई आधार मानेर उपयुक्त ठाउँमा ‘स्मार्ट चौतारो’ बनाउने अध्यक्ष श्रेष्ठले बताए। ‘पुराना भएकालाई मर्मत गर्छौँ, नभएका ठाउँमा नयाँ बनाउँछौँ, त्यसमा स्वच्छ पिउने पानी, निःशुल्क टेलिफोन, फ्रि वाइफाई, मोबाइल चार्जिङको व्यवस्था र स्मार्ट ट्याब्लेट (आइ प्याड) को व्यवस्था हुन्छ। हामी सबै मोबाइलमा मात्रै केन्द्रित भयौँ। स्मार्ट चौतारो भयो भने त्यो बानी सुध्रिन्छ श्रेष्ठको भनाइ छ। वृद्धदेखि युवासम्म चौतारोमा रम्ने छन्', श्रेष्ठले भने।
यी सुविधा भएको ‘स्मार्ट चौतारा’ भएमा विद्यालय, कलेजका विद्यार्थी, किशोर–किशोरीले अनलाइनबाट पढ्ने, साँझपख जमघट हुने, मोबाइलले बनाउँदै गएको एकलौटी बानीलाई सामूहिकतामा बदल्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।
एउटा स्मार्ट चौतारो बनाउन करिब ८० हजारदेखि १ लाखसम्म लागत लाग्ने पालिकाको अनुमान छ। ९ वटा वडामा गरी २५ वटा स्मार्ट चौतारो निर्माण गर्ने पालिकाको योजना रहेको उनले बताए।
चौतारोमा उपकरण/प्रविधिको आवाज रेकर्ड हुने सीसीटीभी क्यामेराले पालिकाको एक कक्षबाट २४ सै घण्टा निगरानी गरिने पनि अध्यक्ष श्रेष्ठले बताए।
जनताको घरदैलो सेवालाई प्राथमिकता दिएको बताउँदै अहिले प्रविधिको युग भएकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सबैलाई प्रविधिको प्रयोगबाट छिटो–छरितो बनाउन गाउँपालिका लागिपरेको बताए।