बौरिँदै रूपाताल

बौरिँदै रूपाताल
रूपातालको मुहान क्षेत्रमा पुरिएर खेतमा परिणत भएको ताल क्षेत्र। ताललाई पुरानै अवस्थामा पु¥याउन रूपाताल संरक्षण एकीकृत विकास गरी योजनाअन्तर्गत बाँध निर्माणको काम सुरु भएको छ। तस्बिर : कृष्णमणि बराल
सुन्नुहोस्

पोखरा : कास्कीको तेस्रो ठूलो रूपाताल संरक्षणका लागि बाँध निर्माण र विस्तारको प्रक्रिया अघि बढेको छ। रूपाताल संरक्षणका लागि रूपाताल संरक्षण एकीकृत विकास परियोजनाअन्तर्गत ताल र तालको वरपरको जैविक विविधता संरक्षण, पर्यापर्यटनको विकासको काम सुरु भएको आयोजनाका अधिकारी बताउँछन्।

रूपातालको मुख्य स्रोत तालबेंसी खोलाबाट बर्सेनि बगाएर ल्याउने गेग्रर र माटोले करिब आधा ताल पुरिएको अवस्थामा ताललाई पुन पहिलेकै अवस्थामा फर्काउने गरी संरक्षणको काम सुरु भएको हो। ताल मुहान क्षेत्रबाट पुरिँदै गएपछि तालले छोडेको जमिनमा अतिक्रमण गरी धान रोप्ने, घरसमेत बनाउने क्रम बढेको थियो। ताललाई पुनः जीवन दिने उद्देश्यले नेपाल सरकारले रूपाताल संरक्षण एकिकृत विकास परियोजनाअन्तर्गत तालको संरक्षण, जैविक विविधताको संरक्षण र कृषि, पर्यटनको विकासको काम सुरु गरेको परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विकले बताए।

ताल संरक्षणका लागि बाँध बनाउने काम सुरु भएको छ। निर्माणाधीन बाँध खरिद प्रक्रियामा आधारित रहेको आयोजनाले जनाएको छ। निर्माण कार्यको सम्झैता कालिका जेभीसँग भएको छ। ताल संरक्षणका लागि करिव १४ सय रोपनी जग्गा अधिग्रहणको काम भइरहेको छ। अहिलेसम्म करिब १ हजार रोपनी जग्गाको मुअब्जा वितरण भइसकेको परियोजनाको सूचना अधिकारी विकले जानकारी दिए।

ताललाई चाहिने जग्गाको मुअब्जामा मात्र १ अर्ब ३६ करोड खर्च लाग्ने आयोजनाले जनाएको छ। परियोजनाको कुल लागत ४ अर्ब ५२ करोड ८८ लाख रहेको छ। परियोजनाको खरिद गुरुयोजना तथा ईआईए २०७६ पुस १७ गते स्वीकृत भएपछि निर्माण कार्यले गति लिएको परियोजनाका अधिकारीले बताएका छन्। परियोजना रूपा गाउँपालिका र पोखरा महानगरपालिकामा पर्छ। 

रूपाताल करिब आधा पुरिएर १ सय २२ हेक्टरमा खुम्चीएको छ। बाँध बनेपछि तालको क्षेत्रफल बढेर १८० हेक्टर क्षेत्रफलमा फैलिने आयोजनाको सूचना अधिकारी विकले जानकारी दिए। अहिले २ हजार ५० मिटर लम्बाइ रहेको ताल बाँध बाँधेपछि बढेर ३५ सय ७५ मिटरमा फैलने छ। तालको चौडाइ पनि ८ सय ५४ मिटरबाट बढेर ८ सय ७४ मिटरसम्म पुग्ने छ। तालको सबैभन्दो धेरै गहिराई अहिले ६ मिटर रहेको छ। यो बढेर ९ मिटरसम्म पुग्ने अयोजनाले जनाएको छ। 

रूपाताल पहिले खोलाबेंसीसम्म फैलिएको स्थानीय पूर्णबहादुर भुजेलले सुनाए। ताल मुहानबाट पुरिँदै जाँदा ताल घट्दै गएको थियो। ताल पुरिँदै जाँदा चौरमा परिणत भएको जमिन २०३२ सालमा नापी आउँदा दर्ता भएको भुजेलले बताए। फेवातालको अवस्था पनि रूपाको जस्तै छ। मुहानबाट ताल परिँदै गएपछि ताल र खोलाले छोडेको जमिन स्थानीयले दर्ता गर्दै गएको बिभिन्न अध्ययन रिपोटमा उल्लेख छ। 

रुपा तालको पुछार खोलाछेउमा बाँध बाँधेपछि तालको क्षेत्रफल मात्र होइन उचाइ पनि ४ मिटर बढ्ने छ। २०७३/०७४ मा स्थापना भएको रूपाताल संरक्षण एकीकृत विकास परियोजना ५ वर्षमा सक्ने योजना रहेको थियो। गुरुयोजनाको स्वीकृति, परियोजनालाई आवश्यक पर्ने जग्गाको विवरण तयार गर्ने कार्य, स्रोत स्वीकृत, वातावरणीय प्रभाव मूल्याङ्न स्वीकृतिको काम, मुआब्जा रकम कम भएको भन्ने स्थानीयको गुनासोलगायतका कारणले केही ढिला गरी काम अघि बढेको परियोजनाले जनाएको छ। काम अघि बढी सकेकाले अवको पाँच वर्षभित्र सम्पूर्ण काम सकिने अयोजनलो जनाएको छ। 

एकीकृत विकास परियोजना अन्तर्गत रूपातालमा मुख्य रूपमा बाँध (अर्थन ड्याम) बाँधिने छ। यस्तै गरी खोला छेउ देखि तालको मुहान तालबेंसीसम्म ८ किलो मिटर पक्की सडक निर्माणका काम भइरहेको छ। रूपाताल किनार हुँदै निर्माण हुँदै गरेको सडकका कारण भने पहिरो जान सक्ने अवस्था सिर्जना भएको छ। तालमै माटो खस्ने गरी ताल छेउमै सडकका लागि डाँडा कटान भएको छ। यसरी खनिएको बाटोको कारण वर्षा याममा पहिरो जान सक्ने स्थानीयले बताएका छन्। 

तालको बाँधनजिकै सार्वजनिक वाटिका निर्माण हुने छ। यस्तै गरी तालको बीचमा माछाको आकारको कृतिम थुम्को, रूपाताले बीचमा माछा आकारको थुम्को माथि मन्दिर निर्माण, ७ किलो मिटर साइकल लेन निर्माणलगायतका काम हुने छन्। माछाका लागि प्रख्यात रूपातालमा माछा पालनलाई थप व्यवस्थीत गरिने परियोजनाले जनाएको छ। 

अहिले परियोजनाअन्तर्गत रूपा जलाधार क्षेत्रमा तटबन्दको काम, सडक निर्माण लगायतको काम भइरहेको। बाँकी मुअब्जा वितरणको काम पनि भइरहेको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विकले जानकारी दिए। रूपातालको मुहानका जलाधार क्षेत्रमा थुप्रिएको माटो झिकेर अन्यत्र लगेर व्यवस्थापन गरिने पनि उनले बताए। 

२०८२ सालसम्म रूपातालमा बाँध निर्माण सकिने र २०८५ साल सम्पूर्ण काम सम्पन्न हुने सूचना अधिकारी विकले सुनाए। बाँधबाट बगेर जाने पानीले राजाको चौचारा, मालेपाट क्षेत्रका २ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने पनि परियोजनाले जनाएको छ। कास्कीका फेवा, बेगनास, रूपातालसहित ९ ताल २०७२ सालमा रामसार सूचिमा सूचीकृत भएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.