बागलुङमा खानी छन्, भएनन् उत्खनन्

पुनः उत्खनन् गर्न स्थानीयको माग

बागलुङमा खानी छन्, भएनन् उत्खनन्
बागलुङ नगरपालिका–९ तित्याङमा रहेको तामाखानी। तस्बिर : अर्जुन कार्की

बागलुङका धेरै स्थानको नाम खानीसँग जोडेर राखिएको छ।

बागलुङ : समुन्द्र सतहदेखि दुई हजार ३५० मिटर माथिको उचाइमा छ बागलुङको तमानखोला गाउँपालिका–६ को  ‘नर्जाखानी’ गाउँ। चारैतिर डाँडाले घेरिएको गाउँ वरपर पुर्खाहरूले तामा उत्खनन गरेका धेरै खाडल ‘डोबहरू’ अहिले पनि देख्न सकिन्छ। 

डाँडामा रहेको तामाखानीबाट स्थानीय छन्त्याल समुदायले तामाका ढुंगा (धाउ) तामा निकाल्ने, कामी, विक समुदायले धाउ पगाल्ने र थकाली समुदायले तराई भेगमा धाउबेच्ने र खाना ल्याउने काम गर्ने गरेको इतिहास रहेको। नर्जाखानीमा अहिले पनि स्थानीय पुर्खाले उत्खनन गरेर निकाले तामाबाट घरायसी प्रयोगका लागि बनाइएका भाँडाकुँडा स्थानीयले अहिले पनि प्रयोग गरिरहेका छन्।

खानी प्रयोग गरेवापत नर्जाखानीका डिठ्ठा वर्षविर छन्त्यालले तत्कालीन श्री ३ चन्द्र शमशेरलाई तिर्नुपर्ने कर (तामा) अत्याधिक बढाएपछि बुझाउन नसकेर खानी प्रयोगमा बन्देज लगाइयो। वर्षविरका नाति स्थानीय ओम प्रसाद छन्त्यालेले बाउबाजेहरूले तामा उत्खनन गर्ने क्रममा नर्जाखानीमा आएर बसोबास गरेको बताए। उनले बाउबाजेको पालामा खानीबाट तामाहरू उत्खनन भइरहे पनि तत्कालीन श्री ३ चन्द्र शमशेरको पालादेखि खानीहरू बन्द भएको बताए। ‘मेरा बाजे बर्षविर छन्त्याल नर्जादखानीमा रहेको खानीको डिठ्ठा हुनुहुन्थ्यो रे,’ छन्त्यालले भने–‘बुबा रुपलाल छन्त्यालका अनुसार तत्कालीन श्री ३ चन्द्र शमसेरको पालामा तामा बुझाउन नसकेपछि खानी बन्द भएको हो।’

तत्कालिन समयमा पुर्खाहरू अनपढ भएपनि उनीहरूले मत्ती खन्ने (खानी काट्ने) मात्र काम गर्ने गरेको र आफ्ना बाउबाजेहरूले खानी खन्दै गर्दा नर्जाखानीमा आएर तामाको उत्खनन गर्ने गरेको स्थानीय कुल बहादुर छन्त्यालले बताए। ‘उक्त समयमा हाम्रो पुर्खाको अन्य खेती किसानी केहि थिएनरे,’ छन्त्यालले भने– ‘अहिलेको आधुनिक युगमा बिजुली भए पनि उनीहरूले उक्त समयमा निगालो काटेर दुई, तीन महिनासम्म खोलामा राख्ने र निगालोमा कालो लेउ लागेपछि त्यसलाई निकालेर घाममा सुकाएर बाल्दै खानी उत्खनन गर्ने गरेका थिए।’

नर्जाखानीमा जस्तै खानी बागलुङमा दर्जनौं संख्यामा छन्। बागलुङका धेरै स्थानको नाम खानीसँग जोडेर राखिएको छ। खुंखानी र नर्जाखानी क्षेत्रमा धेरै खानी भएकाले ‘खुबैखानी’ भन्ने गरिएको थियो। ‘खुबैखानी’ बाट अपभ्रंश भएर खुंखानी भन्न थालिएको स्थानीयहरू बताउँछन्।

nullनर्जाखानीमा पुर्खाहरूले तामा निकालेको स्थान देखाउँदै तमानखोला–६ का स्थानीय ओमप्रसाद छन्त्याल। 

बागलुङको तमानखोला गाउँपालिकाको नर्जाखानी, खुङखानी, घोषाखानीलगायतमा तामाखानी, गलकोटको पाण्डवखानी र दुदिलाभाटीमा तामाखानी र सुनखानी, ढोरपाटन ढोरपाटनको लुकुरवनमा फलामखानी, बागलुङ नगरपालिकाको तित्याङमा तामाखानी, काठेखोला गाउँपालिकाको धम्जा ओखले र लेखानीमा तामाखानी, जैमिनी नगरपालिकाको राङखानी, दमेकमा तामाखानी, बडिगाड गाउँपालिकाको सिसाखानीमा सिसाखानी र भिमगिठेमा फलामखानी र ताराखोला गाउँपालिकामा रहेका ढुंगाखानीहरू अलपत्र अवस्थामा छन्। ताराखोला गाउँपालिकामा एक वटा ढुंगाखानी मात्र सञ्चालनको अवस्थामा छ भने जैमिनी नगरपालिकामा रहेको ढुंगाखानी पनि पछिल्लो समय बन्द जस्तै छ।

आर्थिक वर्ष २०७६/७७ मा सरकारले सम्भावना रहेको स्थानमा खानी सञ्चालन गर्ने घोषणा गरेपछि बागलुङ नगरपालिका–९ तित्याङमा रहेको तामाखानी पुनःसञ्चालन गर्नको लागि नगरपालिकाले अध्ययन गरेको थियो। २०७६ सालमा नगरपालिकाले शुभम् ग्रुपसँगको साझेदारीमा धातुको अनुसन्धानको काम सुरु गरेको थियो। खानी विज्ञहरूको समूहले सम्भावना औंल्याएपछि ग्रुपले चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा मेसिन नै प्रयोग गरेर खानी परीक्षणको काम गरेको थियो।

खानी अध्ययन गरेको शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले तत्कालीन समयमा तित्याङको खानीमा तामा ९० प्रतिशत रहेकोमा आफूहरू पुगेको र के कति छ भन्ने निक्र्यौल गर्न मात्र बाँकी रहेको बताएका थिए। उनले तामासँगै हुने धातुहरूको अध्ययन भएको र तामाको परीक्षणका लागि ढुंगामाटो संकलन गरी ल्यावमा परीक्षण गर्ने काम भइरहेको बताएका थिए। ल्याबको रिपोर्ट राम्रो आएपछि उत्खननका लागि ग्रुपले खानी तथा भूगर्भ विभागलाई स्वीकृतीका लागि आह्वान गरेको थियो। विभागले खानी वरपर रहेको वस्ती र स्रोतसाधनका लागि एआईई र आईई गर्ने जनाए पनि नगरेको कारण उत्खननको प्रक्रिया अगाडि नबढेको जानकारी पाइएको बागलुङ नगरपालिका–९ तित्याङका पूर्व वडाअध्यक्ष गणेश थापाले बताए। 

पूर्व वडा अध्यक्ष थापाले खानी उत्खनन भएमा स्थानीय पूर्वधार निर्माण हुने, स्थानीयहरूले रोजगार पाउने बताए। उनले भन्सार विभाग, आर्मिको टुकुटीसमेत रहने बताए। खानी विभागको अनुमतिमा मोहङ  मिनरल्स र शुभम् ग्रुपले वैशाखबाट जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका छन्। यहाँ परापूर्वकालमा तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताए। पूर्खाले बनाएका पहाडभित्रका सुरुङमा तामाको सम्भाव्यताबारे खानी विभाग र अनुमति प्राप्त कम्पनीहरूलाई जानकारी गराइएको थियो। खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका ईञ्जिनियरको समूहले काम थालेको हो।

तामा रहे नरहेको विषयमा प्रारम्भिक अध्ययन भइरहेको शुभम् ग्रुपका निर्देशक अशोक बिकले बताए। उनले प्रारम्भिक अध्ययनका लागि ६ महिनाको समय लाग्छ त्यसको रिपोर्टपछि अन्य प्रक्रिया थालिने बताए। अध्ययन सकिएपछि कम्पनीहरूले एक वर्षभित्र प्रतिवेदन तयार गर्ने छन्।जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले खानी नगरको महत्वपूर्ण क्षेत्र रहेकोले त्यसको अध्ययनले हामी कहाँ छौं र के छ भन्ने थाहा हुने बताए। उनले परम्परागत खानीहरूकै सेरोफेरोमा विज्ञहरूको समूहले अध्ययन गरिरहेकाले दीर्घकालीन र महत्वकांक्षी प्रयासमा सम्भावनाहरूको खोजी गर्दै नौलो कर्ममा जोडिन लागेको बताए।

पूर्खाहरूले उत्खनन गरेका खानीहरूको पुनः उत्खनन सुरु गर्नुपर्ने स्थानीयहरू बताउँछन्। नर्जाखानीका स्थानीय ओमप्रसाद छन्त्यालले स्थानीय, प्रदेश र संघीय सरकारले पुराना खानीहरूको उत्खनन गरेर देश आत्मनिर्भर हुनुपर्ने बताए। ‘बाजेहरूले एउटा घन र छिनोको भरमा ठूला–ठूला भिर काटेर खानी उत्खनन गरेका थिए,’ छन्त्यालले भने,‘अहिले नयाँ–नयाँ प्रविधि छ। सरकारले खानी उत्खनन गरेर आत्मनिर्भर बन्दै स्थानीय जनतालाई रोजगारी सिर्जना गरेमा राम्रो हुने थियो।’

गाउँको चारैतिर तामा उत्खनन गरेका खानीहरू रहेकोले गाउँको नाम नै नर्जाखानी भएको इतिहास रहेको स्थानीय कुलबहादुर छन्त्यालले बताए। ‘तत्कालीन समयमा छन्त्यालहरूले खानीको उत्खनन गर्ने, कामी, विकहरूले तामाका ढुंगा (धाउ) पगाल्ने र थकालीहरूले तराईबाट खाना ल्याउने र धाउ तराई लगेर बेच्ने गरेको इतिहास छ,’ छन्त्यालले भने। पुराना खानीहरू उत्खनन गरेमा स्थानीय पालिका र सिंगो देशको आर्थिक विकास गर्न सकिने स्थानीय कुलबहादुर छन्त्यालको भनाई छ। खानी उत्खननमा स्थानीय, प्रदेश र संघीय सरकारले चासो नदिएको उनले गुनासो गरे।

यहाँका खानीहरूको उत्खनन गरेर प्रयोग गर्न सकेमा राज्यको आर्थिक विकासमा एउटै खानी पनि कोसेढुंगा सावित हुनसक्ने विज्ञहरू बताउँछन्। खानीसम्बन्धी अध्ययन गरेका धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख तथा खानी विज्ञ प्रध्यापक डाक्टर रामप्रसाद उपाध्यायले बागलुङमा रहेका तामाखानी र फलामखानीहरू सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताए। उनले बागलुङका कुनै खानीहरू १९८० र कुनै २०३६ सालसम्म सञ्चालन  गरिए पनि पछिल्लो समय उत्खनन नभएको बताए। ‘बागलुङको तमानखोला र गलकोटको पाण्डवखानीमा ठूला खानीहरू छन्,’ प्रा.डा. उपाध्यायले भने,‘ बागलुङका तामाखानीमा ४० देखि ७०, ८० प्रतिशतसम्म धाउ रहेको अध्ययनबाट देखिन्छ। राज्यले चाहेमा सञ्चालन गर्न सक्छ।’

प्रा.डा. उपाध्यायका अनुसार बागलुङको तमानखोलाका र काठेखोला–३ धम्जा ओखलेको तामाखानी  १९८० सालसम्म र गलकोट नगरपालिका–१० पाण्डवखानीको तामाखानीबाट २०३६ सालसम्म धाउ निकालिएको थियो। यस्तै, बडिगाड–३ सिसाखानीमा रहेको सिसाखानीबाट २०१५ सालमा सिसा निकालेर बेचेको स्थानीय बताउँछन्। उक्त समयमा निकालिएका सिसाहरू बागलुङ बजारमासमेत बिक्री गरिएको प्रा.डा. उपाध्यायले बताए।
पाण्डवखानीमा रहेको सुनखानीमा राजा महेन्द्रले विदेशी टोलीलाई परीक्षण गर्न पठाएपछि विदेशीहरूले सुन रहेको र उत्खननका लागि आधा–आधा भाग खोजेपछि उत्खनन हुन नसकेको स्थानीयहरूले जानकारी  दिएको प्रा.डा. उपाध्यायले बताए।

खानीजन्य उद्योगमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने थुप्रै सम्भावना रहे पनि यस्ता सम्भावनालाई प्रवद्र्धन गर्न राज्य जिम्मेवार बन्नुपर्ने यस क्षेत्रका जानकार बताउँछन्। अधिकांश खानी वन क्षेत्रमा रहेको र वन ऐन र खानी ऐन फरक–फरक हुँदा कानुनी प्रावधानले कार्यान्वयनमा असहजता सिर्जना गरेको खानी विज्ञ प्रा.डा. उपाध्यायले बताए। ‘देशकै आर्थिक विकासमा अर्थ राख्ने खानी सञ्चालन गर्ने सन्दर्भमा यस्ता व्यवस्था बाधक हुनु दुर्भाग्यपूर्ण हो। खनिजस्रोतको प्रयोग गर्ने हो भने नीतिगत अवरोध हटाउनु जरुरी छ,’ उनले भने, ‘नीति भन्दा पनि खानी सञ्चालनमा ल्याउन राज्यले सोच नै राखेको देखिँदैन। राज्यले सञ्चालन गर्न खोजेमा सम्भव छ।’

प्रा.डा. उपाध्यायले देशमा खानी मैत्री वातावरण नै नभएको बताए। ‘खानी उत्खनन गर्ने सम्भावना छ, तर खानीमैत्री वातावरण नहुँदा कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो भयो,’ उनले भने। खानीहरू सञ्चालन गर्नको लागि सुरुवातमा २, ४ करोड लगानी लाग्ने, बस्ती  स्थान्तरण गर्नुपर्ने, सडक पूर्वाधार निर्माण गर्नुपर्ने देखिने हुँदा यो कुनै ठेकदारले गर्न नसक्ने भएकोले राज्यले दीर्घकालीन सोचका साथ सञ्चालन गर्न खोजेमा सञ्चालन गर्न सकिने प्रा.डा. उपाध्यायको भनाई छ।

खानी सञ्चालनमा आएमा नेपालीहरूले स्थानीय स्तरमै रोजगार पाउने र देशमै फलाम, तामालगायतका औजार बनाउन सकिन्छ। तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँपालिकाभित्रै धेरै खानीहरू रहेको र कति खानी छन् भनेर यकिन नभएको भन्दै गाउँपालिकाले यसको तथ्यांक संकलन र परीक्षण गर्ने बताए। उनले केही वर्ष पहिले खानीहरूको अध्ययनका लागि चिनको टोलीलाई बोलाइए पनि कोरोना भाइरसको प्रकोपको कारण आउन नसकेको बताए। ‘हामीले खानीको अध्ययनको लागि चिनियाँ टोलीलाई बोलाएका थियौं,’ पालिका अध्यक्ष बुढाले भने–‘कोभिडले गर्दा टोलीलाई ल्याउन र धाउहरू ल्याबमा लगेर परीक्षण गर्ने तयारी पुरा हुन सकेन।’

पालिका अध्यक्ष बुढाले स्थानीय सरकारले एक्लै खानी उत्खनन गर्न नसक्ने र त्यसका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको बताए। ‘खानीहरूको उत्खनन गर्न हामीले एक्लै सक्दैनौं,’ अध्यक्ष बुढाले भने, ‘संघीय सरकारको सहयोग भएमा उत्खनन गर्न सकिन्छ। त्यसका लागि संघीय सरकारलाई हामीले आह्वान गरेका छौं।’ अध्यक्ष बुढाले खानीको कारण नै पालिकाका नर्जाखानी, खुंखानी, बोङखानी नामाकरण भएको बताए।

उनले उक्त स्थानहरूमा तमानखोलामा तामाखानीसहित फलामखानी र ढुंगाखानीहरू रहेको बताए। स्थानीय, प्रदेश तथा केन्द्र सरकारले तामाखानीको अध्ययन गर्न जरुरी छ। साँच्चिकै बागलुङमा रहेका खानीबाट धातुहरू निकाल्न सकेमा जिल्ला मात्रै नभइ सिंगो मुलुककै आम्दानी बढ्ने छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.