
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अहिलेसम्म १ सय ११ जनाको उजुरी परेको छ।
काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्। तर, अझै उजुरी आउने क्रम जारी छ। आइतबार मात्रै थप पाँचवटा उजुरी परेको छ। पक्राउ परेकामाथि अनुसन्धान सँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा उजरी पनि आइरहेका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई थप अनुसनधान गर्नुपर्ने भएकाले आइतबार तीन दिन म्याद थपिएको थियो। उनीहरूविरुद्ध म्याद थप भइरहँदा आइतबार नै ५० लाख ठगी भएको विवरणसहित ५ जनाको उजुरी आएको प्रहरीले जनाएको छ।
यस प्रकरणमा अनुसन्धान गरी तयार गरेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी पनि थियो। तर, थप उजुरी परेपछि सोमबार मात्रै प्रतिवेदन बुझाउने तयारी भएको प्रहरी अधिकारी बताउँछन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अहिलेसम्म १ सय ११ जनाको उजुरी परेको छ। अनुसन्धान पूर्णतया नसकिएकाले प्रतिवेदन बुझाउन नसकिएको कार्कीले बताए। उनी भन्छन्, ‘यसै प्रकरणमा संग्लन भएकाहरूपछि पनि पक्राउ पर्ने र नयाँ उजुरी आइरहेको भएर पनि अनुसन्धान सकिएको छैन। बयान लिने, प्रमाण जुटाउने लगायतका केही कामहरू बाँकी नै छ। सकेसम्म सोमबारसम्म प्रतिवेदन बुझाउने तयारी प्रहरीको छ।’
पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राख्नका लागि अदालतबाट अनुमती लिनुपर्ने हुन्छ। यसअघि प्रहरी नियन्त्रणमा रहेका आरोपी १६ जनाको म्याद आइतबार सकिएपछि थप म्याद लिनका लागि प्रहरीले उनीहरू सबैलाई जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याएको थियो। बिना हतकडी प्रहरी नियन्त्रणमा रहेका पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझी सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेको कार्यकक्षमा प्रवेश गरेका थिए। अन्य आरोपी १४ जना भने प्रहरीको गाडीभित्र नै थिए।
अन्य बेला मास्कसहित देखिने पूर्वगृहमन्त्री बालकृष्ण खाँण आइतबार भने मास्कबिना नै सरकारी वकिल कार्यालय प्रवेश गरे। प्रहरीसंगै उपस्थित भएका उनले केही हाँस्दै सञ्चारकर्मीतिर फर्किएका थिए। अर्का आरोपी टोपबहादुर रायमाझी भने प्रहरी भ्यानबाट ओर्लदा नै हसिलो चेहरामा उपस्थित भएका थिए। उनी पनि बिना हतकडी नै थिए। उनीहरू सबैलाई थप ३ दिन हिरासतमा राख्नका लागि जिल्ला अदालत काठमाडौंले अनुमती दिएको छ।
प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा यस प्रकरणको मुख्य योजनाकार चार जना भएको प्रमाण फेला परेको छ। जसमा टोपबहादुर रायमाझी, ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी हुन्। उनीहरूकै सक्रियता र योजनामा सम्पूर्ण ठगी धन्दा चलेको हो। बालकृष्ष्ण खाँण भने दोस्रो चरणमा मात्रै जोडिएका हुन्।
केशव दुलालले नै सानु भण्डारीमार्फत टोपबहादुरलाई यस धन्दामा सहभागी गराएका थिए। सानु भण्डारी र टोपबहादुरबीच मामा भान्जाको सम्बन्ध रहेको छ। टोपबहादुर रायमाझीले र्नै डा. इन्द्रजित राईसँग दुलाल र भण्डारीको चिनजान गराएका थिए। राईमार्फत नै काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ। इन्द्रजितले धन्दामा ‘बादल’का छोरा प्रतीक थापालाई सहभागी गराएको अनुसन्धानबाट खुलेको छ।
रामबहादुर थापा गृह मन्त्रालयबाट बाहिरिएसँगै डा. इन्द्रजित पनि बाहिरिए। त्यसपछि आएका गृहमन्त्री बालकृष्ण खाँणसँग गिरोहले पहुँच बनाएर कार्यदलको प्रतिवेदनमा अनुसूचीमा हेरफेर गरेका थिए। मोरङका सागर राई हालको वडाअध्यक्ष पनि हुन्। उनीमार्फत नै यो गिरोह बालकृष्ण खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसम्म पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !
