समाज रूपान्तरण
जनताले पटकपटक जनआन्दोलन गरे। मुलुकको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था फेरिएको छैन।
विचारले मानिसलाई जागृत गर्छ। समाज रूपान्तरण गराउँछ। तर, विचार यथार्थ र वैज्ञानिक हुनुपर्छ। वैज्ञानिक विकासको सोच एवं योजनाबाट नै समाजको रूपान्तरण गर्ने आर्थिक, सामाजिक, राजनीतिक र निर्माणका कार्यक्रमहरूको खाका निर्माण हुन्छ ।
‘देशभक्ति’लाई ‘देशप्रेम’ भनिन्छ। चिनियाँहरू ‘आई गुवो’ देशप्रतिको प्रेम भन्छन्। बंगालीहरू ‘राष्ट्रप्रेम’ भन्छन्। अर्थात् ‘देशभक्ति’ भनेको ‘देशप्रेम’ हो। देश जनता र भुगोलको समिश्रणबाट बन्छ। सिमानाभित्र इतिहास आबद्ध ‘मानिसहरूको एकताप्रतिको’ अक्षष्ुण सद्भाव देशप्रेम हो। नेपलामा सिञ्जा सभ्यता र खस भाषी (पालीबाट विकास भएको संस्कृतभन्दा पृथक् भाषा) जनता, किराँत सभ्यता र किराँत भाषी जनता, मगरात र मगरभाषी जनता, मिथिला सभ्यता र मैथिली भाषी जनताको ‘विविधता’प्रतिको ‘सद्भाव र एकताको आकांक्षा’ नै देशप्रेम हो। यो कुनै एकलाई अलग गर्दा नेपाल खण्डित हुन्छ। यी सभ्यताको ‘ऐतिहासिक जगमा निर्मित इतिहास र संस्कृतिको समतापूर्ण सद्भाव’ नै नेपाली देशभक्ति हो।
यदि कुनै अवयवले अर्कोलाई विस्थापित गर्न खोज्यो भने ऊ आफैं बेदखल हुन्छ। यी चार सभ्यतालाई रग्यांउने अन्य संस्कृति र भाषाहरू छन्, जसले ‘चार सभ्यता’ भूमिलाई उजागर गछन्। अतः यस अर्थमा नेपालको अखण्डताको अक्षुष्ण आकांक्षा नै नेपालीको देशभक्तिको ठोस र सार्थक देशभक्ति हो। यही आकांक्षाले हामीलाई नेपालको स्वाधीनताप्रति बफादार बनाउँछ, विदेशीको आक्रमणका विरुद्ध एकताबद्ध गर्दछ। विदेशी हस्तक्षेपका विरुद्ध लड्न प्रेरित गर्दछ।
अतः हामी भारतको विरोधी भएर देशभक्त भएको होइन, नेपालको अखण्डता र स्वाधीनताको रक्षा गर्ने देशभक्तिको आकांक्षाले भारतीय हस्तक्षेपको विरोध गरेको हो। त्यसैले यदि नेपालको निर्माणको सपना पूरा गर्ने हो भने हामीले हरेक नेपालीलाई ‘नेपालको अखण्डता र स्वाधीनताको पक्षमा जागृत गर्नुपर्छ।’ त्यसो भन्नुको तात्पर्य हो हामीले ‘विविधता’प्रतिको सद्भावलाई बलियो बनाउनुपर्छ। र, त्यसो हो भने प्रत्येक अवयवको नेपालको अखण्डस्वरूप निर्माणप्रतिको भूमिकालाई कदर गर्न सक्नुपर्छ।
अहिले नेपाली जनता विभाजित छन्। ‘देशभक्ति’ कमजोर भएको छ। यदि विभाजन कायम रह्यो भने अखण्डताप्रतिको सद्भाव कमजोर हुन्छ। ‘सभ्यता, भाषा, संस्कृति र जात’ को विभाजन गर्ने रणनीतिमा भर गरिरहेका छन्। तर हामी त्यसो गरेको देख्दैनौं वा बुझ्दैनौं। अधिकांश गरिब जनता फलामको घरभित्र अँध्यारोमा बाँचेका छन्। उनीहरू यस्ता खेलहरू बुझ्नै सक्दैनन्। त्यसैले ‘राष्ट्रिय अखण्डता र स्वाधीनता’ को आकांक्षालाई उजागर गर्नुपर्छ।
आयातमुखी अर्थतन्त्रका कारण उत्पादकत्व ध्वस्त पारेका छन्। आर्थिक प्रणालीले हरेक कुरामा कर लादेको छ। त्यसैले उपभोक्तावादमा नभई उत्पादनमा रमाउनु पर्छ। हाम्रो स्वजागरण वा आत्मजागृतिले हाम्रो देशभक्तिको पुनर्जागरण गर्ने बेला भएन ? नेपाली राजनीतिभित्र ‘नेतृत्वको अनैतिक तथा भ्रष्ट चरित्र अवश्य पनि समस्या हो। अर्कोतर्फ ‘जनताको स्वजागरण वा आत्मचेतनाको अभाव छ।
आम जनतामा मौलाएका अनेकौं आदत, यथार्थलाई बुझ्न नसक्ने अज्ञानता तथा आत्मसम्मान माथि प्रहार हुँदा पनि सहन गर्ने र समस्यासँग जुध्ने होइन पलायन गर्ने प्रवृत्तिहरू समस्याका भित्री कारण हुन्। यदि नेपाललाई जोगाउने हो भने यस ‘अज्ञानता’ लाई भत्काउनु पर्छ। त्यसैले केवल नेता र सरकार बदलेर समस्याको समाधान हुन सक्दैन। देशभक्तिको जग राष्ट्रिय एकता र अखण्डता’लाई जोगाउन सक्तैनौं। नेपाललाई आधुनिक, समतामूलक र उन्नत राष्ट्र बनाउन सक्तैनौं।
मुलुक गणतन्त्रात्मक भएको छ। जनताले पटकपटक जनआन्दोलन गरे। मुलुकको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था फेरिएको छैन। गणतन्त्र आएको र संघीयता लागू गरेको एक दशकमै प्रश्नहरू उब्जिएका छन्। हाम्रो समाजको मूल समस्या वैज्ञानिक चेतनाको अभाव हो। सुनेका अर्ती, उपदेश र भाग्यवादी दर्शनबाट प्रभावित छन्। अतः हाम्रो विचार र त्यसले निर्माण गर्ने अभियानले राष्ट्रको नैतिक र सामाजिकी विकासको जग तयार पार्नुपर्छ।
एउटा सार्थक राष्ट्रिय मनोविज्ञान निर्माण गर्नुपर्छ। हामीले एउटा मानवीय साहित्य र मानवीय संस्कृतिको निर्माण गर्नुपर्छ। जुन साहित्य र संस्कृतिले सामाजिक आर्थिक अन्यायका विरुद्ध मानिसको सोच निर्माण गरोस्। महिला माथिका अन्याय छुवाछूतजस्ता अपराध, देशलाई छोडेर पलायन हुने, छोराछोरी विदेश जाँदा बाबुआमा खुसी हुने प्रवृत्तिहरूका विरुद्ध साहित्य र संस्कृतिले संघर्ष गर्न सकुन्।
प्राकृतिक विज्ञानका उपलब्धिहरू मानिसका जीवनमा प्रयोग होऊन् । र, एउटा सभ्य समाजको निर्माण होस्। त्यसको पहिलो कदमको रूपमा जनतालाई अज्ञानता र भ्रमका विरुद्ध संगठित गर्दै जानुपर्छ। अन्यायका विरुद्ध लड्ने र न्यायको आवाज बुलन्द गर्ने हुनुपर्छ।