इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउनु हुँदैन : प्रदीप पौडेल
इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिस्पर्धा गरिरहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ ।
काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्। इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउनभन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ।
पौडेलले भने,‘राज्यले सबै क्षेत्रलाई प्रविधिकरण गर्ने राष्ट्रिय अभियानजस्तै सुरु गरेको छ। प्रविधिकरणका लागि इन्टरनेट अनिवार्य हुन्छ। अहिले उपलब्ध सेवामा गुणस्तरीयता, गति, क्षमता, निरन्तरता केही पनि छैन। सेवा अवरुद्ध हुँदा अवधि बराबरको सेवा प्रदान गर्ने वा अवरुद्ध अवधिको शुल्क नलाग्ने शर्त समेत पालना गरिएको छैन। इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिस्पर्धा गरिरहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ।’
पौडेलले इन्टरनेट कम्पनीहरूले बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न उनीहरूलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस !