पाल्पामा कर्णेल उजिर सिंह गोल्ड कप’ फुटबल प्रतियोगिता सुरु
तानसेन : पाल्पामा कर्णेल उजिर सिंह गोल्ड कप’ फुटबल प्रतियोगिता सुरु भएको छ।
पाल्पा फुटबल संघको आयोजनामा तानसेनको टुँडिखेल मैदानमा सोमबारबाट कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको हो।
पहिलो खेलमा पाल्पा ११ विजयी भएको छ। पाल्पा ११ ले रुपन्देहीको लिस्नु क्लब लाई २ गोलले पराजित गरेको हो। पाल्पा ११ को तर्फबाट १२ नम्बर खेलाडी आशिष रानाले २ गोल गरी टिमलाई विजयी बनाएका हुन्।
पाल्पाका खेलाडी रानाले हाफ टाइमअघि एक र हाफ टाइमपछि दोस्रो गोल गरेका हुन्। रुपन्देहीको लिस्नु क्लबले पाल्पा ११ लाई पटक दवावमा राखे पनि गोल गर्न सकेन।
प्रतियोगितामा १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा पाल्पा ११ र लिस्नु क्लबका साथै फोर ब्रदर्श नबलपरासी (पश्चिम), रोडस् रामपुर फुटबल क्लब चितवन, गार्डेन फुटबल क्लब पोखरा, वीर गोर्खाली लखनउ भारत रहेका छन्।
यस्तै समूह ‘बी’ मा रुपन्देही ११, २८ विघा युथ क्लब नबलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङ्जा वालिङ, स्वयम्भू युथ क्लब काठमाडौ, विष्णुपादुका युथ क्लब पोखरा, दि फेमश महिन्द्र दल गण पाल्पा रहेका छन्।
११ खेल हुने प्रतियोगितामा दैनिक एक मात्र खेल हुनेछ। जेठ २७ गते शनिबार फाइनल खेल हुनेछ। प्रतियोगितामा प्रथम हुनेले ३ लाख, दोस्रो हुने टिमले १ लाख ५० हजार रुपैयाँ, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिए।
आजको प्रतियोगितामा पाल्पा ११ आशिष राना म्यान अफ दि म्याच भएका छन्। प्रत्येक दिनको म्यान अफ दि म्याच लाई नगद ३ हजार दिइने छ भने उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ।