अन्नपूर्णकर्मी बुढालाई प्रादेशिक पत्रकारिता पुरस्कार
सुर्खेत : अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका कर्णाली ब्युरो प्रमुख ललितबहादुर बुढा प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
कर्णाली प्रदेश सरकारले १६ औं गणतन्त्र दिवसको अवसरमा सोमबार बुढालाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो।
पत्रकारितामार्फत कर्णालीको विकास र समृद्धिमा योगदान पुर्याएको भन्दै उनलाई पुरस्कृत गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।
अन्नपूर्णकर्मी बुढालाई ५० हजार नगद र प्रमाणपत्रसहित कर्णालीका प्रदेश प्रमुख तिलक परियारले सम्मान गरे। प्रदेश सरकारले पत्रकारलाई पहिलो पटक यो पुरस्कार वितरण सुरु गरेको हो।
मन्त्रालयका अनुसार अबदेखि हरेक वर्ष कर्णालीको विषयमा कलम चलाउने तीन जना पत्रकारलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ। यो वर्ष अन्नपूर्णकर्मी बुढासँगै पत्रकार चाँदनी कठायत र सरिता चलाउने पनि पुरस्कृत भएका छन्।
यसअघि अन्नपूर्णकर्मी बुढा शुक्रबार मात्र युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका थिए।
संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अन्नपूर्णकर्मी बुढालाई २५ हजार नगद र प्रमाणपत्रबाट सम्मान गरेका थिए।
अन्नपूर्णकर्मी बुढाले यसअघि प्रादेशिक शिक्षा पुरस्कारसँगै पर्यटन, आर्थिक, बाल संवेदनशील, विपद् पत्रकारिता र स्वास्थ्य पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसकेका छन्।