दोलखाको गौरीशंकरमा मासिक हाट बजार
![दोलखाको गौरीशंकरमा मासिक हाट बजार](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_cxqwwIUBw0_z3XuvJthNK.jpg)
दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका-५ मा इविथानमा हाट बजार सुरु गरिएको छ।
गाउँपालिकाको पहलमा यस क्षेत्रमा हाटबजार गरिएको हो। स्थानीय उत्पादन ठूला बजारसम्म पुर्याउन समस्या हुने र ग्रामीण भेगका हाट बजार हराउँदै जाने अवस्था भएकाले मासिक हाटबजार सुरु गरिएको पालिकाले जनाएको छ।
हाट बजारमा बिक्रीका लागि ल्याइएको स्थानीय उत्पादन किसानले नै फिर्ता लाने अवस्था बनेमा त्यसलाई किसानको घरमा फिर्ता नपठाई हाट बजार व्यवस्थापन समितिले नै खरिद गरिदिने अध्यक्ष हर्क बहादुर तामाङले बताए।
गाउँघरमा हाट बजारको प्रचलन हराउँदै गएको र स्थानीय कृषकहरूले उत्पादन गर्ने कृषि उत्पादन बिक्रीका लागि समस्या हुने भएकाले वडाको सक्रियतामा मासिक हाटबजार सुरु गरिएको वडा अध्यक्ष सुन्दर खड्काको भनाइ छ।
हाट बजारमा तरकारी तथा फलफूलका साथै चोयाका सामग्री घुम, नाङ्लो र कुचोसमेत बिक्रीका लागि ल्याएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष तामाङले बताए।
मासिक हाटबजारमा किसानहरूलाई सकेसम्म स्थानीय रुपमा बिक्री हुने खालका कृषिजन्य वस्तुहरू ल्याउन आग्रह गरिएको र हाट बजारको अवधिसम्म पनि बिक्री हुन नसकेका कृषकको उत्पादन हाट बजार व्यवस्थापन समिति मार्फत वडा कार्यालयले खरिद गरी किसानलाई भुक्तानी दिने व्यवस्था मिलाइएको वडा अध्यक्ष खड्काले बताएका छन्।
किसानको राहतको लागि वडाले आर्थिक वर्ष २०७९/८० मा हाट बजार सञ्चालनको लागि एक लाख रकम विनियोजन गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिने वडाअध्यक्ष खड्काको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)