स्थानीय तहले जनताको आवश्यकता पूरा गर्ने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

सिन्धुली : बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले स्थानीय तहले जनताका आधारभूत आवश्यकतालाई पूरा गर्ने गरी काम गर्नुपर्ने बताएका छन्।
उनले स्थानीय सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नसके मात्र जनताको आवश्यकता पूरा हुने बताएका हुन्।
आइतबार सिन्धुलीको मरिण गाउँपालिका-२ को नवनिर्मित वडा भवनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले जनताको अति आवश्यक मागलाई पूरा गरेर मात्र स्थानीय सरकारले अन्य पूर्वाधार विकासमा जोड दिनुपर्ने उल्लेख गरे।
पालिकाभित्र शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रको विकास अझै नाजुक अवस्थामा भएको बताउँदै उनले प्रदेश सरकारले आगामी बजेट पनि तिनै क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने जानकारी दिए।
‘पालिकामा पूर्वाधार विकास हुनुपर्छ तर, एउटा योजनाले पूर्णता पाएपछि मात्रै अर्को योजना सुरु गर्न सके राम्रो हुन्छ। एकैपटक सबै सडक पिच गर्छु भनेर नसोच्नुहोला त्यो सम्भव छैन। सबै गाउँलाई छुने एउटा मुख्य सडक छनोट गरेर व्यवस्थापन गर्नुस्। त्यसमा प्रदेश सरकारले सहयोग गर्छ,’ उनले थपे ।
प्रतिक्रिया दिनुहोस !
