संसद अवरोध हटाउन सभामुख घिमिरे र प्रमुख सचेतकबीच छलफल

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा विपक्षीले गरेको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन्। सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेसँगै बैठक अगावै संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै आइतबार प्रतिपक्ष दलले संसद अवरुद्ध गरेका थिए।
सभामुखसँगको छलफलमा प्रमुख विपक्षीसहित विपक्षी दलहरुले आफ्ना कन्सर्नका विषयमा प्रधानमन्त्री र सत्तापक्षका नेताहरुसँग छलफल गर्ने बताएका छन् । दलहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भन्दै सचेतकनिस्किएका छन्। सभामुख घिमिरेले बजेट पारित गर्ने समयसीमालाई ख्याल गर्न आग्रह गरेका छन्। उनले भने, 'बरु समय लिनुहोस् तर हाउस चल्नुपर्छ।'
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारका पालामा नेपालको संसद्ले संविधान संशोधन गरेर आफ्नो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको थियो। नेपालको भूमि फिर्ता लिनुपर्ने र भारतीय सेनालाई कालापानीबाट हटाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्नुपर्ने बहस चलिरहेको समयमा प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिको चर्को आलोचना हुँदै आएको छ।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमाथि छलफल हुनु अगाडि नै एमाले, रास्वपा, राप्रपाले संसद बैठक अवरोध गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
