घारखोला जलविद्युत आयोजनाको निर्माण सकियो

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको निर्माण सकिएको छ । म्याग्दी हाइड्रोपावर प्राली प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण थालेको छ । बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी)मा पानी हालेर यसै सातादेखि परीक्षण थालेको आयोजनाको विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बाँधबाट डिसेन्डरमा पानी हालेर परीक्षण थालिएको जानकारी दिए । ‘डिसेन्डर,एप्रोच क्यानल,टनेल,पेनस्टकको क्रमैसँगै परीक्षण हुन्छ,’उनले भने, ‘भौतिक संरचनाहरूको अवस्था ठिक भए नभएको पहिचान गर्न पानी हालेर परीक्षण गरिएको हो ।’
अबको १५ दिनभित्र विद्युतको परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित भौतिक संरचनाको परीक्षणसँगै उपकरण जडान,प्रशारण लाइन र स्विचार्ड निर्माणलाई अन्तिम रुप दिन लागिएको जनसम्पर्क अधिकृत पौडेलले बताए ।
अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर म्बाइको दुईवटा पानी थिग्राउने पोखरी (डिसेन्डर)मा पानी हालिएको हो । डिसेन्डरदेखि सुरुङ सम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको दोस्रो चरणको परीक्षण गर्न लागिएको हो ।
तीन हजार पाँच मिटर लामो सुरुङ पानी बगाएर परीक्षणका लागि तयार भएको छ । अमिलाकाफलमा रहेको आउटलेटदेखि विद्युत गृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेटदेखि विद्युतगृहको दुरी एक हजार २०० मिटर र उचाई ४८५ मिटर छ । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युत गृहको भवन निर्माण सकिएको छ ।
विद्युत गृहमा टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल तर्फका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले बताए । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्राली इन्डिया,हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालीका प्राविधिकले विद्युतगृहमा उपकरण जडानको काम गरिरहेका हुन् ।
सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरले भौतिक संरचना निर्माण सकेको हो । पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत गृहको नजिकै स्वचार्ड बनाउने काम भइरहेको छ ।
वि.स.२०७४ चैत महिनादेखि सुरु भएको घारखोला वि.स.२०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना,निषेधाज्ञा,बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको हो । कूल दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।
नागरिक उर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आव्हान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रर्वद्धकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
