प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र डा.बाबुराम भट्टराईविरुद् सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
माओवादी जनयुद्धकालमा २०५९ सालदेखि बालसैन्यको रूपमा भर्ती भएका लेनिन विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड र डा. भट्टराईविरुद्ध सर्वोच्चमा रिट दिएका छन्।
निवेदनमा उत्प्रेषण,प्रतिषेध र परमादेशलगायत उपयुक्त आज्ञा आदेशको माग गरिएको छ।
यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। सर्वोच्चको रजिस्ट्रारले जेठ १६ गते विष्टको निवेदन दरपीठ गरेका थिए। रिट निवेदन दरपीठ भएपछि विष्टले पुनः दर्ताको माग गर्दै जेठ १८ गते निवेदन दिएका थिए।
गत शुक्रबार निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको गत शुक्रबारको एकल इजलासले सर्वोच्च अदालतका रजिस्ट्रारले गरेको दरपीठ आदेश बदर गर्दै विष्टले दायर गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालीन न्याय पद्धतिअनुसार निरुपण हुने भन्दै रजिस्ट्रारले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता नगरी विष्टको निवेदन दरपीठ गरेका थिए।
विष्टले बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई राहत,परिपुरण,क्षतिपूर्ति र न्याय दिलाउन विपक्षीका नाममा परमादेश माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !