क्यान्सरले घरबार सक्यो, सकिएन उपचार

क्यान्सरले घरबार सक्यो, सकिएन उपचार
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारको पालो पर्खंदै बिरामी । तस्बिर : अनिल ढकाल

चितवन : भरतपुर क्यान्सर अस्पतालमा निन्याउरो अनुहारमा भेटिए बाँके उडरापुरका नसुरुद्दिन बेहना। उनी बुबालाई क्यान्सर भएर अस्पताल पुगेका रहेछन्। बुवा फैयाज बेहनाले कमाएको खेत बेचेर बुबाकै उपचारमा खर्च गरे। धानखेत बेचेर ल्याएको पैसा पनि सकियो। तर, उपचार सकिएन। तीन लाख रुपैयाँमा जग्गा पनि बेचे । भरतपुरमा ५५ दिन बसेर उपचार गरे। आमा ठीक हुन्छ कि हुँदैन भनेर रोइरहन्छिन्। अवस्था उस्तै छ ।

क्यान्सरबारे फैयाजलाई थाहै थिएन। सुरुवातमा उनले गाउँकै अस्पतालमा जाँच गराए। भारत पनि लगे। तर, ठीक भएन। गाउँलेले नेपालगञ्जको खजुरा अस्पतालमा लैजान सुझाव दिएपछि क्यान्सर लागेको थाहा भयो। फैयाजलाई क्यान्सर लाग्दा परिवार नै छाँगाबाट खसेजस्तै भए। ‘पैसा सकियो। अब कति खर्च लाग्छ थाहा छैन’, नसुरुद्दिनले भने, ‘पाएको दुःख त सम्झिन पनि मन लाग्दैन। यस्तो रोग कसैलाई नलागोस्।’

नेपालगन्ज त्रिभुवन चोकका ७४ वर्षीय श्याम विहारी गुप्ता ५२ वर्षीय छोरा मनोजकुमारको उपचारमा बुढ्यौली शरीर यसै अस्पतालमा घोटिरहेका छन्। छोरा मनोजकुमारको मुखमा क्यान्सर भएको छ। सुरुवातमा कोही नचिन्दा बढी दुःख पाए। चार लाख सकियो। अब कति खर्च हुन्छ थाहा छैन।  ‘क्यान्सर लागेर घर घडेरी बेचेर आएका धेरै छन्। पैसा पनि सकियो, मान्छे पनि बाँच्छ कि बाँच्दैन थाहा नहुने रैछ यहाँ’, उनले भने, ‘क्यान्सर भनेको थाहा पाएको मृत्यु हो।’

नेपालगन्जकै मुस्तफिक मिया उपचार गर्न नसकेर फर्किए। कामको सिलसिलामा मलेसिया पुगेका उनी त्यहाँबाट फर्केपछि गालामा डल्लो देखियो। फर्कने बेला उपचार गराउँदा क्यान्सर भएको थाहा भयो। उनी खर्च अभावले फर्किए। इटहरीका विवेक अधिकारीको पनि उही गुनासो छ। आन्द्राको क्यान्सर लागेपछि बुवा सूर्यकान्तको उपचारका लागि विवेक क्यान्सर अस्पताल धाइरहेका छन्। उनको पीडा पनि उस्तै छ। ‘डेढलाख खर्च भयो। उपचार सकिएको छैन’, आन्द्राको क्यान्सरको उपचारका लागि बुवा लिएर आएका उनले भने, ‘यो त ट्रिजर हो। अब कति खर्च लाग्छ के थाहा ?’

रोगको पहिचान र निदानका लागि लामो प्रक्रिया हुने कारण क्यान्सरका बिरामीले दुःख पाउने गरेका छन्। ‘क्यान्सरका बिरामी तीनपटक मर्छन्। पहिलो क्यान्सर लागेको थाहा हुनेबित्तिकै मानसिक तनाबमा आउँछन्। अर्को उपचारको लागि वर्षांैं लाग्छ, आर्थिक रूपमा टाँट पल्टिन्छन्। तेस्रो उमेर अघि नै दुःख पाएर साँच्चिकै मर्छन्’, अस्पतालका एक कर्मचारीले परिवारका सदस्यमा क्यान्सर लागेको अनुभव सुनाउँदै भने, ‘यतिसम्मकी कार चढेर आएकाहरूसँग रिक्सा चढेर जाने भाडासमेत पनि हँुदैन। बाँचुञ्जेल अस्पताल धाउनुपर्छ।’ अस्पतालका हरेक विभागका ढोका अगाडि पीडा लुकाएर उपचार गर्न आउनेहरू थुप्रै भेटिन्छन्। उपचारको पालो पर्खंदै ह्विल चियरमा बसेका शिथिल बिरामी थुप्रै छन्। 

बढ्दै क्यान्सरका बिरामी

पछिल्लो समय क्यान्सरको उपचार गर्ने बिरामी बढेका छन्। बीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा दैनिक ९ सय बिरामी परीक्षणका लागि पुग्छन्। तीमध्ये १० देखि ३५ जनामा क्यान्सर लागेको हुन्छ। बर्सेनि एक लाख ६५ हजार बिरामी आउँछन्। त्यसमा करिब सात हजार क्यान्सरका बिरामी हुन्छन्। सबैभन्दा बढी मुखको क्यान्सर भएका बिरामी आउँछन्। त्यसपछि थोरासिक (छाती) को क्यान्सरका बिरामी हुन्छन्। पाठेघरको क्यान्सर, स्तरको क्यान्सरका बिरामी धेरै छन्।

नेपाल चिकित्सक संघका अध्यक्षसमेत रहेका भरतपुर क्यान्सर अस्पतालका सिनियर कन्सलटेन्ड डा. अनिल विक्रम कार्कीले क्यान्सरको उपचार सहजका लागि राज्यले धेरै स्थानमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने बताए। खानपान, वंशाणुगत कारण क्यान्सर लाग्ने गरेको चिकित्सकहरू बताउँछन्।

‘सबै ठाउँमा क्यान्सर रोगको उपचारको व्यवस्था नभएकाले ढिलो पत्ता लाग्छ। पत्ता लाग्ने बेलासम्म रोगको उपचार गर्र्नै जटिल हुने अवस्थामा पुगेको हुन्छ’, डा. कार्कीले  भने, ‘एकैदिनमा उपचार गरेर घर जाउँ भन्ने हुँदैन। प्रक्रिया लामो र समय लाग्ने कारण बिरामी तनावमा हुन्छन्। निदानको उपाय भनेकै क्यान्सरको सचेतना हो।’ अस्पतालका पूर्वकार्यकारी निर्देशक सिनियर कन्सलटेन्ट डा. विजयचन्द्र आचार्यले क्यान्सरको सुरुको अवस्था आए निको बनाउन सकिने बताए। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताका अध्यक्ष डा. विजयराज न्यौपाने क्यान्सरको सेवा थप व्यवस्थित र प्रभावकारी बनाउन लागि परेको बताए। 

लामो छ परीक्षण र उपचारको प्रक्रिया 

क्यान्सरको सुरुमा परीक्षण गर्दा नै समय लाग्छ। परीक्षणमा खर्च र समय उत्तिकै लाग्दा बिरामी र तीनका आफन्त निराश हुन्छन्। क्यान्सर परीक्षणको सुरुवाती परीक्षण शंका लागेको भागको मासुको परीक्षण बायोप्सी गरिन्छ। अप्ठ्यारो भागमा भए छिटो पत्ता लाग्दैन। बायोप्सीको रिपोर्ट १५ दिनमा मात्रै आउँछ। हरेक परीक्षणमा पालोमा लाइन बस्नुपर्ने हुन्छ। 

क्यान्सर पत्ता लागेपछि तीनवटा उपचारको तीनवटा विधि छन्। क्यान्सर पत्ता लागेपछि  पहिलो भनेको शल्यक्रिया हो। सर्जरी गर्न मिल्ने या नमिल्ने त्यसको थप रिपोर्ट हेरिन्छ। फैलिएको अवस्था र असर कहाँसम्म गरेको छ भन्ने यकिन गरिन्छ। रोग पत्ता लागेको दुई साताभित्र उपचार सुरु भइसक्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर, नेपालमा पालो पर्खनुपर्ने बाध्यता छ। सर्जरीका लागि पालो पर्खन पर्छ। पालो पाउने भनेको छिटोमा दुई साता हो। महिनौ पर्खिएका बिरामी पनि हुन्छन्। 

सर्जरी गरेपछि फेरि बायोप्सी गरिन्छ। यसका लागि एक महिना कुर्नपर्छ। त्यसपछि सुरु हुन्छ केमोथेरापी। औषधिको माध्यमबाट क्यान्सरको सेल मार्ने विधि हो। केमो चढाउन मिल्ने नमिल्ने फेरि परीक्षण गर्नपर्छ। तीन हजारदेखि ११ लाखसम्मको केमोथेरापीको खर्च लाग्छ। रगत, मुटुको परीक्षणपछि छ साइकलसम्म चढाउनुपर्छ। हरेक २१ दिनको अन्तरालमा केमो चढाउने हो। हरेक पटकको केमो चढाउनु अघि रगत र मुटुको परीक्षण गर्नुपर्छ। यसका लागि एक साता लाग्छ। हरेक पटक कम्तीमा पाँच हजार खर्च हुन्छ। केमोथेरापीको बेलामा बिरामी कमजोर हुन्छन्। रगत, प्लेट्सलेट्स कम भए केमो दिन मिल्दैन। त्यसका लागि ‘फिलग्राष्टिम’ औषधि चढाउनपर्छ। 

तेस्रो विधि भनेको रेडियसन (सेकाइ) हो। क्यान्सर लागेको भागमा सेकाई गरेर सेल मार्ने हो। केमोथेरापी सकिएको तीन सातापछि सेकाइ सुरु हुन्छ। यसका लागि पहिला प्लानिङ गरिन्छ। प्लानिङका लागि १० दिन लाग्छ। बिरामी धेरै भएपछि पालो पाउनै समस्या हुन्छ। रगत, इको, ईसीजी गर्नुपर्छ। भरतपुरको क्यान्सर अस्पतालमा सातामा पाँच दिन मात्रै सेकाइ हुन्छ। बिदा परे पालो सर्छ। सेकाइ सकिएपछि चिकित्सकको सल्लाहअनुसार फलोअपमा आउनुपर्छ। 

सबै ठाउँमा क्यान्सर रोगको उपचारको व्यवस्था नभएकाले ढिलो पत्ता लाग्छ। पत्ता लाग्ने बेलासम्म रोगको उपचार गर्र्नै जटिल हुने अवस्थामा पुगेको हुन्छ। एकैदिनमा उपचार गरेर घर जाउँ भन्ने हुँदैन। प्रक्रिया लामो र समय लाग्ने कारण बिरामी तनावमा हुन्छन्। निदानको उपाय भनेकै क्यान्सरको 
सचेतना हो।
डा. अनिल विक्रम कार्की
सिनियर कन्सलटेन्ड, भरतपुर क्यान्सर अस्पताल

क्यान्सरको सुरुको अवस्थामा आए निको बनाउन सकिन्छ। सरकारले पनि अब सबै क्षेत्रमा क्यान्सरको सेवा थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्छ।
डा. विजयराज न्यौपाने
अध्यक्ष, भरतपुर क्यान्सर अस्पताल

बुबाको खर्च जुटाउन साइकलमा कवाडी संकलन

बिरामी बुवाको उपचारका लागि कपिलवस्तुको सोम्डी गाउँपालिका–७ कोपवाका शत्रुघन धोबीसँग अब थोत्रो साइकल मात्र सहारा छ। बुबाको उपचार नहुने दिन बिहानै उनी साइकल चढेर निस्कन्छन्।  ‘खाली सीसी, थोत्रा सामान, पुराना कागज’ हरेक दिन उनले भट्टयाउने शब्द हो। यसरी कराउँदै हिँड्दा संकलन भएको सामान बेचेर बचेको पैसाले खाना र उपचार खर्चको जोहो गर्छन्। 

कपिलवस्तुबाट बुवाको उपचार गर्न भरतपुर आएका उनले खर्चले नधानेपछि कवाडी संकलनको काम थाले। ‘बुबाको रेखदेख गरेर बस्ने इच्छा त छ नि ! खर्चले धान्दैन, अनि त्यसै बस्न मन पनि मान्दैन’, उनले भने, ‘मन अमिलो बनाउँदै दिनभर भरतपुरका चोक र गल्लीमा कराउँदै हिँड्छु, यो नै मेरो बुवाको उपचारका लागि अन्तिम विकल्प भयो।’ 

बुवा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन्। बुवा ५८ वर्षका हनुमान धोबीको मुखमा क्यान्सर लागेको छ। उनको गत भदौमा परीक्षण गरेर पुसमा अप्रेसन गरिएको हो। अहिले घरमा दैनिक जोहो टार्न पनि मुस्किल छ। बुवाको अवस्था देखेर आमा रुन्छिन्। त्यसले शत्रुघन झन् कमजोर हुन्छन्। अनि, एक्लै लुकेर रुन्छन्। कहिल्यै नसुनेको रोगले उनी मानसिक रूपमै विक्षिप्त भएका छन्। ‘हाम्रो सात पुस्तालाई पनि लागेको थिएन यस्तो रोग। मान्छे बाँच्ने होकि होइन थाहा छैन। घरका सबै रुन्छन्’, शत्रुघनले दुखेसो पोखे, ‘यो रोग त दुश्मनलाई पनि नलागोस्। पैसाको दुःख, बिरामीको अवस्था हेर्‍यो, त्यस्तै पीडा छ। बिरामी हेरेर खान मनै लाग्दैन। रोएर बस्ने हो।’ 

उनले ब्यथा सुनाइरहँदा छेवैमा रहेकी आमा अञ्जनी धोबीको आँखाबाट आँसु बर्सिरह्यो। श्रीमान्लाई निको हुन्छ कि हुँदैन भन्ने चिन्ताले उनी हरेक रात निदाउन सक्दिनन्। बेला बेलामा भक्कानिन्छिन्। अस्पताल आएदेखि उनको आँखा ओभानो छैन। रुँदै उपचारमा धाएकी छिन्। बिरामी बुवालाई उनै आमाको साथमा छोडेर शत्रुघन भने थोत्रा कागज, बोतल जम्मा गर्छन्। दिनभरि दुई सय रुपैयाँ जोगाउन मुस्किल पर्छ। खान बस्न मात्रै दैनिक एक हजार खर्च हुन्छ। अप्रेसन गरेपछि बिरामीको रेडियोथेरापी (सेकाइ) भइरहेको छ। आठवटा सर्कल बाँकी छ। शत्रुघनलाई क्यान्सर अस्पतालमा आएपछि चिनेका साथीले थोत्रो साइकल चलाउन दिए।  साइकललाई मर्मत गरेर उनले कवाडी संकलन गर्न थाले। दिनभर थाकेर आएका शत्रुघन साँझ बुवाको हालत देख्दा झन् तनावमा हुन्छन्। 

धोबी परिवारले क्यान्सरको उपचारको क्रममा आर्थिक, मानसिक पीडा ब्यहोर्दै आएका छन्। बुबाको क्यान्सरको उपचारका लागि बेचेको एक बिघा जग्गाको पैसाले पनि खर्च धानेन। निम्न वर्गीय धोबी परिवारको ९ महिनामा पाँच लाख सकिसकेको छ। जग्गा बेचेर आएको साढे तीन लाखले पनि नधानेपछि ऋण मागेर खर्चको जोहो गरे उनीहरूले। त्यसले पनि धानेन्।

उनी क्यान्सर अस्पताल अघि कोठा भाडामा लिएर बसेका छन्। ‘बाटोमा बुवाको अनुहार झल्झली आँउछ, अनि खर्च सम्झिन्छु। पीडा बोकेर फलाम कागज बोक्दै हिँड्छु’, शत्रुघनले पीडा सुनाए, ‘दिनभरि कुदिरहनुपर्छ। एकछिन बस्न पाइँदैन। अब भगवानले जे गर्छन् त्यही सहने हो। उनैको भरोसा हो।’

भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भदौदेखि यो पीडा सहेर बुवाको उपचारमा खटिरहेका छन्, शत्रुघन। अस्पतालमा शत्रुघनको जस्तै पीडा भएका धेरै भेटिन्छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.