चलचित्रमा चन्दको चिनो

चलचित्रमा चन्दको चिनो
सुन्नुहोस्

इतिहास लेखिएला भन्ने लोभले होइन, कलाकारिताको भोक मेटाउन र आफूले चाहेको विधाको मोह पूरा गर्न अनि त्यो विधालाई निरन्तरता दिन भुवन चन्द थापा अभिनय क्षेत्रमा लागि परेकी थिइन्। अन्ततः समय अनि त्यो विधाप्रतिको समर्पण र प्रतिकूल अवस्थामा पनि कलाकारितामा लागेकै कारण ऐतिहासिक व्यक्तित्वको उपाधि पाइन् उनले। त्यसकै फलस्वरूप आज इतिहास लेख्न सफल भुवन पहिलो नेपाली चलचित्र आमाको पहिलो नायिकाको रूपमा झन्डा गाड्न सफल भएकी छन्।

सन् १८७८ मा विश्वमा चलचित्रको निर्माणको सुरुवात भए तापनि नेपालमा भने धेरैपछि मात्र चलचित्र निर्माणको सुरुआत भएको देखिन्छ। नेपाल भूमिमा निर्माण भएको चलचित्र ‘आमा’ २०२० सालमा निर्माण भएको थियो। यो चलचित्र २०२२ सालमा प्रदर्शनमा आएको थियो। इतिहास निर्माणको सुनौलो यात्रा कमैले मात्र तय गर्ने गर्छन्। इतिहासमा नाम लेख्ने अहोभाग्य थोरैले मात्र निर्माण गर्ने अवसर पाउँछन्। यसै क्रममा नेपाली चलचित्रको इतिहासमा पहिलो पानामा नेपाली चलचित्रको पहिलो नायिकाको ऐतिहासिक नाम लेखाउन सफल भइन् भुवन। उनको असार १ गते जन्मदिन। ऐतिहासिक व्यक्तित्व चन्दलाई जन्मदिनको शुभकामना।

भुवनले चार वर्षको उमेरमै बालकृष्ण समको नाटक ‘अन्धवेग’मा बालकलाकारको भूमिका निभाएकी थिइन्। उस्ताद भैरवबहादुर थापाकी छोरी भुवनको पारिवारिक माहौल गीत- संगीत विधाको भए पनि उनको झुकाव भने अभिनयमा बढी थियो। ‘हुन त गीत पनि धेरै गाएँ, तर मन नै अभिनयमा भएका कारण गीत–संगीतमा धैर्यता नै भएन र अभिनयतिर होमिएँ’, उनी सम्झन्छिन्। २००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मिएकी भुवन चन्द थापाले तीन दर्जनको हाराहारीमा चलचित्रहरूमा आफ्नो शानदार उपस्थिति जनाइसकेकी छन् भने त्यति नै संख्यामा नाटकहरूमा पनि आफूलाई रंगमञ्चतिर प्रस्तुत गरिसकेकी छन्। उनले काम गरेकी रेडियो नाटक र टेलिचलचित्रहरूको संख्या पनि दुई दर्जनभन्दा बढी छन्।

चलचित्र आमामा नायिकाको रूपमा छनोट हुँदाको क्षणलाई भुवन यसरी सम्झिन्छन्, ‘विदेशमा चलचित्रहरू बनिरहेका थिए। नेपालमा पनि कलाप्रेमी राजा महेन्द्रको पहलमा चलचित्र निर्माण हुने खबर पाएँ। तत्कालीन सूचना विभागले चलचित्र निर्माण गर्न लागेको र नायिका छनोट गरिरहेको जानकारी पाएँ। म पनि अन्तर्वार्ता दिन गएँ। त्यति बेलासम्म म नाटकहरूमा व्यस्त भइसकेको थिएँ। मलाई त्यो कुराले पनि आमा चलचित्रमा नायिकाको रूपमा छनोट हुन मद्दत ग¥यो।’ 

नेपाल र भारतमा छायांकन गरिएको चलचित्र आमाको प्रदर्शन २०२२ सालमा भएको थियो। यो चलचित्र अबलोकन गरेपछि तत्कालीन राजा महेन्द्रले हाम्री नायिका भुवन चन्द पनि कुनै भारतीय नायिकाभन्दा कम छैनन् भनेर तारिफ गरे। त्यो क्षणलाई आज पनि उनले बिर्सिएकी छैनन्। कला विधामा लागेकाहरूलाई प्रेरणा, उत्साह र हौसला दिने संस्कार थियो त्यति बेला। ‘तर आजकल मुलुकको जिम्मा लिएकाहरूलाई न त कला विधाप्रति चासो छ न त यो क्षेत्रको चिन्ता नै। कलाकारको कला हेरेर स्यावासी दिने संस्कार पनि छैन आजकल’, भुवनको चित्त दुखाइ छ।

श्रीमान् माइकल चन्दलाई आफ्नो सफलता, लगाब, निरन्तरता र प्रेरणाको स्रोत मान्छिन्  भुवन। तत्कालीन अवस्थामा महिलालाई अभिनय क्षेत्रमा लाग्न समाज र परिबारबाट साथ र समर्थन मिल्दैनथ्यो। त्यस्तो प्रतिकूल अवस्थामा पनि भुवनले अभिनय विधामा लागेर हात पारेको सफलता र वाहवाही कम गौरबको विषय होइन। भुवनले अभिनय गरेका हरेक चलचित्रमा समाजको कथा, व्यथा र अवस्थाका बारेमा चर्चा गरिएका हुन्छन्। यस्तै विषय वस्तुमाथि आधारित चलचित्रहरूमा मात्र काम गर्छिन् उनी। ‘ममाथि नेपाली सिनेमाको एउटा कालखण्ड समाहित छ। मलाई यो देश र सिनेमा क्षेत्रले हेर्ने नजर र दिएको सम्मान विशिष्ट छ। यसको मान र इज्जत राख्न जीवनभर लागिरहने छु’, उनी भन्छिन्।

आफ्नो अभिनयमार्फत मनोरन्जनका साथै चेतना प्रवाह गर्ने कार्यलाई पनि भुवन चन्द थापाले आज पनि छाडेकी छैनन्। भुवन नेपाली चलचित्र क्षेत्रकी एक होनहार धरोहर हुन्। उनी नेपाली चलचित्र कर्ममा लागि परेका र पर्न खोज्ने भावी पुस्ता र नेपाली चलचित्र क्षेत्रका लागि अध्ययन, अन्वेषण र दस्तावेज हुन भन्ने कुरा सगौरव भन्न सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.