फेवातालमा चिनियाँ ड्रागन रेस

फेवातालमा चिनियाँ ड्रागन रेस
सुन्नुहोस्

पोखरा : पर्यटकीय सहर पोखरामा असार ८ र ९ गते नेपाल–चीन मैत्री ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ। यस फेस्टिभलका लागि आठ वटा चिनियाँ डुंगा पोखरा ल्याएर प्रतिस्पर्धाका लागि प्रशिक्षण भइरहेको छ। ड्रागन बोट रेस फेस्टिभलमा चीनबाट सहभागी टोली सोझै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने भएको छ। चीन सरकारको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि पहिलो पटक विदेशबाट अन्तर्राष्ट्रिय उडानका रूपमा चीनबाटै पोखरा विमानस्थलमा  जहाज अवतरण हुन लागेको हो।   

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पाहुना लिएर छेन्दुक सहरबाट असार ६ गते विमान आउन लागेको हो। सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका रूपमा पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो।
चीनबाट पहिलोपटक चार्टड विमान पोखरा विमानस्थलमा अवतरण भएपछि चीनका विभिन्न सहरबाट नियमित उडान पनि सुरु हुने विश्वास पर्यटन व्यवसायीको छ। यससँगै भारत र अन्य मुलुकबाट पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान र अवतरण हुने विश्वास पोखराका पर्यटन व्यवसायीको छ। यही विश्वासमा पोखरामा पर्यटकीय पूर्वाधारमा लगानी बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल हुन लागेको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसन महोत्सवको सह–आयोजक हुन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले महोत्सवले चिनियाँ पर्यटकको अगमन बढ्ने विश्वास व्यक्त गरे। ‘कोभिडपछि चिनियाँ पर्यटक आगमन सुरु भइरहेको अवस्थामा हुन गइरहेको चिनियाँ महोत्सवले ठूलो संख्यामा चिनियाँ पर्यटक आउने गरी पर्यटन प्रवद्र्धन हुने छ’, उनले भने।

गत जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानसमेत महोत्सवमै आउने पर्यटकलाई चीनबाट ल्याएर हुने भएकाले अन्तर्राष्ट्रिय उडानका लागि पनि ढोका खोल्ने डा. रेग्मीले बताए। नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले पोखरामा हुने यो फेस्टिभलले नेपाल र चीनबीचको सम्बन्धमा नयाँ अध्याय थपिने बताए। 

फेस्टिभलमा नेपाल र चीनका गरी एक सय २० जना प्रतियोगीको सहभागिता रहने जनाइएको छ। दुई सय र पाँच सय मिटरमा गरी दुई भागमा आठ वटा डुंगाबाट रेस हुनेछ। चार वटा डुंगा नेपाली र चार वटा डुंगामा चीनका प्रतिस्पर्धी रहने छन्। प्रतियोगिताका विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। 

महोत्सवमा नेपाल र चीन दुवै देशका साँस्कृतिक कार्यक्रमका साथै दुवै देशका विभिन्न खानाका परिकार प्रदर्शनीमा राखिने छ। कार्यक्रममा सहभागी हुन चीनको लिङजी सहरबाट नगर प्रमुखसहित ६० जनाको टोली पनि पोखरा आउने भएको छ। कोभिड संक्रमणपछि चीनले गत मार्च १५ देखि लागु हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्नो नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। यससँगै कोभिडपछि मार्च महिनादेखि चिनियाँ पर्यटक आउने क्रम सुरु भएको छ। 

यसअघि चिनियाँलगायत विभिन्न देशका पर्यटकको आगमन ठप्प भएपछि पोखरामा रहेका चिनियाँ लगानीका धेरै होटल तथा रेस्टुरेन्ट व्यवसायी विस्थापित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.