जनमनमा योग

जनमनमा योग
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सामान्य भाषामा योगको अर्थ जोड भन्ने बुझिन्छ। आत्माको परमात्मासँग हुने जोडलाई नै योग भनिन्छ। योगलाई राम्ररी अध्ययन र साधना गर्ने हो भने हरेक मानिसले खोजेको कुरा यसबाट पाउन सकिन्छ। त्यसैले योगलाई विज्ञान, चिकित्सा पद्धति, जीवन जिउने कला भनी बताइन्छ। योग विधाका प्रवर्तकका रूपमा भगवान् शिवलाई लिइन्छ। शिवले पार्वतीलाई योगका सम्बन्धमा बताएको शास्त्रीय प्रमाण पाइन्छन्।

भगवान् कृष्णले श्रीमद्भागवत गीताको १८ अध्यायमा १८ प्रकारका योगको चर्चा गरेको छ। हाम्रा प्राचीन ग्रन्थहरू ऋग्वेद, वेद, उपनिषद्, रामायण, महाभारत, गीता आदिमा पनि योगका विषयमा केही न केही चर्चा गरिएको छ। यसलाई व्यवस्थित र लिपिबद्ध तरिकाले लेख्ने काम भने ऋषि पतञ्जलीले गरेका थिए। योगलाई महर्षि व्यासले समाधिको संज्ञा दिएका थिए भने श्रीमद्भागवत् गीतामा ‘योग कर्मसु कौशलम्’ अर्थात् योगले काममा कुशलता ल्याउने छ भनिएको छ। प्रसिद्ध विद्वान् महर्षि पतञ्जलीले योगलाई ‘योगश्चित्तवृत्तिनिरोध’ अर्थात् योगले चित्त शुद्ध गर्ने काम गर्छ भन्ने जनाएका छन्। 

योगको सुरुआतको इतिहास लामो भए तापनि यसको प्रचारप्रसार भने त्यति हुन नसकेको देखिन्छ। योगी, सन्यासी आदिको आश्रम, गुफा, मन्दिरलगायत ठाउँमा मात्र योग गरेको इतिहास छ। तर करिब ३०–३५ वर्ष अघिदेखि समाजका विभिन्न क्षेत्रमा योगबारे विभिन्न चर्चा हुन थालेको पाइन्छ। सन् १९९५ देखि स्वामी रामदेव र आचार्य श्री बालकृष्णले हरिद्वारबाट योगलाई मानिसको स्वास्थ्यसँग जोडेर अगाडि बढाए। त्यसपछि क्रमशः मानिसका विभिन्न रोग निको वा कम हुन थाले। यसले योगप्रति मानिसको आकर्षण द्रुत गतिमा बढ्दै गयो। यसरी विभिन्न योगगुरु पनि चर्चामा आउन थाले। अहिले संसारभर नै योग गर्न चाहने मानिस अत्यधिक भेटिन्छन्।

सन् २०१४, डिसेम्बर ११ तारिखमा संयुक्त राष्ट्रसंघको ६९औं महासभामा योग दिवसको प्रस्ताव राखेपछि जुन २१ लाई विश्व योग दिवसको रूपमा मनाउने निर्णय गरियो। यस वर्षको विश्व नारा ‘बसुधैव कुटुम्बकमका लागि योग’ अर्थात् संसार एक परिवार हो भन्ने जनाउँछ। यस नारामार्फत योगको नियमित अभ्यासमा कुनै पनि भेदभाव नगरी प्रत्येक व्यक्तिको स्वस्थ अस्तित्वलाई जोड दिइएको छ। नेपालमा भने असार ६ गते ‘मानवताका लागि योग’ (योग फर हुम्यानिटी) भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। यसरी नेपाल, भारतमात्र नभई विश्वभर नै योगको महŒव दिनप्रतिदिन बढ्दो छ।

मानिस भौतिक सुख सुविधाको नाममा स्वास्थ्यलाई ख्याल गर्न भुल्दैछ। दिनहँुको तनाव, चिन्ता, डर आदिमा रुमल्लिएको छ। जसका कारण मानिस युवा अवस्थामै विभिन्न शारीरिक एवं मानसिक समस्याबाट पीडित बन्ने गरेका छन्। ती समस्या समाधानका लागि अस्पताल, क्लिनिक आदि ठाउँमा जाँदा पनि पूर्णरूपमा समाधान हुन सकेका छैनन्। योगले त्यस्ता समस्यालाई कम गरेको र कतिपय अवस्थामा निर्मूल पनि पारेकाले हिजोआज विश्वभर नै योगप्रति मानिसको विश्वास बढेको छ। विभिन्न देशमा योगबाट भएका फाइदा सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रसारमा आएको पाइन्छ। आधुनिक औषधि विज्ञानले पनि निको पार्न नसकेका रोगहरूलाई योगले ठीक पारेका धेरै प्रमाण छन्। हिजोआज कुनै पनि क्षेत्रबाट समस्या समाधान नभए योग गरे हुन्छ भन्ने आमधारणा र विश्वास बढेको छ। आधुनिक चिकित्सा क्षेत्रमा लागेकाहरूले पनि नियमित योग गर्ने सल्लाह दिन थालेको पाइन्छ। चिकित्सक स्वयं योग गर्नुका साथै बिरामीलाई यसको नियमित अभ्यास गर्न सुझाउने गर्छन्। त्यसैले योगलाई विज्ञान पनि भन्ने गरिन्छ। योगमार्फत् शारीरिक रोगहरूबाट मानिसले मुक्ति पाएका छन् भने मानसिक समस्याहरूबाट पनि धेरै हदसम्म फाइदा पुगेको छ। त्यसैले नेपाल र केही दक्षिण एसियाली देशमा योगलाई निःशुल्क रूपमा वा कम शुल्कमा सिक्ने सिकाउने व्यवस्था गरिएको छ। युरोप, अमेरिका, चीन, जापानलगायत देशमा भने धेरै महँगो शुल्क तिरेर मात्र योग सिक्न पाइन्छ।

स्वस्थ जीवनका लागि योग अनिवार्य भइसकेको छ। त्यसैले निजी क्षेत्रमात्र नभई सरकारी क्षेत्र पनि यसमा जोडिन थालेको पाइन्छ। औपचारिक शिक्षामा पनि योगबारे साना कक्षादेखि स्नातकोत्तर तहसम्म पढ्ने व्यवस्था मिलाइएको छ। योगलाई खेलको रूपमा पनि विकास गर्ने क्रममा योगसम्बन्धी खेलका संस्थाहरू नेपाललगायत विभिन्न देशमा स्थापना भएका छन्। ती संघसंस्थाले योगासन प्रतियोगितासमेत सञ्चालन गर्दै आएका छन्। हालै नेपालमा गत जुन १० देखि १२ सम्म तेस्रो दक्षिण एसियाली योग खेल च्याम्पियनसिप सम्पन्न भएको छ। यसरी खेलकुद क्षेत्रमा योगको प्रवेशले स्कुल, कलेज हुँदै विश्वविद्यालय तहमा पनि विद्यार्थीको रुचि दिनप्रतिदिन बढ्दै छ। नेपालमा योगको प्रचारप्रसार व्यापक भए तापनि सहरी क्षेत्रमा सीमित देखिन्छ। सहरी क्षेत्रमा मानिसमा चेतनाको विकास भएको र शारीरिक एवं मानसिक समस्या सहरी क्षेत्रमै बढी हुने भएकाले योग अभ्यास पनि यही क्षेत्रका मानिसले बढी गरेको पाइन्छ। विश्व स्तरको योग शिक्षक तालिममा सहभागी हुन धेरै विदेशी नेपालमा आउने गरेका छन्। नेपालमा सस्तो शुल्कमा राम्रो योग सिक्न पाइने हुँदा विदेशीको पनि यसमा रुचि बढेको देखिन्छ। गैरसरकारी संस्थाहरूले मात्र नभई सरकारी संघसंस्थाहरूले पनि योगको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका छ।

आगामी दिनमा योग जनजनसम्म पुर्‍याउनु जरुरी छ। सहरकेन्द्रित योगलाई गाउँगाउँसम्म पुर्‍याउनु आजको आवश्यकता हो। स्थानीय सरकारले पनि योगलाई उत्तिकै महत्त्व दिँदै वार्षिक रूपमा निश्चित बजेट नै छुट्ट्याएर योग केन्द्र वा योग स्कुल खोलेर अभ्यास गराउनुपर्ने देखिन्छ। योगले मानिसमा सकारात्मक सोचको विकास गराउँछ। भाइचारा र सेवाको भावना बढाउने हुँदा आपसमा मित्रता बढाउँछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.