सप्तरी प्रिमियर लिग : रुपनी राइडर्स विजयी
राजविराज : सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगमा रुपनी राइडर्सले रोमाञ्चक जित हासिल गरेको छ। बुधबार भएको खेलमा रुपनी राइडर्सले कन्चनरुप राइनोजलाई ७ विकेटले पराजित गरेको हो। कन्चनरुपले दिएको १३८ रनको लक्ष्य रुपनी राइडर्सले १३.४ ओभरमै पूरा गर्यो।
रुपनी राइडर्सको ब्याटिंगमा रोहन बिकले सर्वाधिक ५५ रन बनाए। अविजित रहेका उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। रोहन प्लेयर अफ द म्याच समेत चुनिए।
यस्तै भोला साहले ३७ बलमा ७ चौका र १ छक्काको मद्दतले ४५ रन तथा अरनिको यादवले १४ बलमा १ चौका र ४ छक्काको मद्दतले अविजित ३६ रन बनाए। रोहन र भोलाले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। कन्चनरुपका बलर राशिद खानले ३ विकेट लिए।
यसअघि टस हारेर ब्याटिंग गरेको कञ्चनरुप राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो। उसको लागि नारायण जोशीले मात्र १५ बलमा ४२ रन बनाए। जोशीले २ चौका र ५ छक्का प्रहार गरे। अमित यादवले ३० तथा दिलिप नाथले २२ रन बनाए। रुपनी राइडर्सका जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले २/२ तथा मुकुन्द यादवले १ विकेट लिए।
बुधबारको जितपछि बजाज खडक वारियर्स दुवै खेलमा जितको साथ ४ अंकसहित अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। ३ खेलमा २ जित र १ हार बेहोरेको रुपनी राइडर्स समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ। कञ्चनरुप राइनोज, छिन्नमस्ता लायन र बलान बिहुल सुपर किंग्स समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा छ। तिन वटै खेलमा पराजित राजविराज द किंग छैठौं स्थानमा छ।
प्रतियोगिता अन्तर्गत पाँचौ दिन बिहीबारको पहिलो खेल बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्स तथा दोश्रो खेल छिन्नमस्ता लायन्स र कञ्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने आयोजक सप्तरी क्रिकेट संघले जनाएको छ।