फिदिममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने
फिदिम : पाँचथर सदरमुकाम फिदिममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता गर्ने तयारी गरिएको छ। जिल्ला बुद्धिचाल संघ र जिल्ला खेलकुद विकास समिति पाँचथरले प्रतियोगिता आयोजना गर्न लागेका हुन्।
प्रतियोगिता आगामी असार १५ र १६ गतेसम्म हुने भएको हो। जिल्ला खेलकुद विकास समिति पाँचथरले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो। कोशी प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा प्रतियोगिता गर्न लागिएको हो।
विभिन्न चार विधामा हुने बुद्धिचाल प्रतियोगिताका खेलाडीहरूलाई एक लाख ६६ हजार नगद पुरस्कार दिइने खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए। उनका अनुसार खुला अन्तर्गत प्रथमदेखि तेह्रौ स्थानसम्म हुने खेलाडीलाई नगदसहित पुरस्कार दिइनेछ।
प्रथम हुनेले २५ हजार, दोस्रोले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १२ हजार, पाँचौ हुनेले १० हजार, छैठौं हुनेले ९ हजार र सातौं हुनेले ८ हजार, आठौं हुनेले ७ हजार, नवौदेखि तेह्रौ सम्मले ६ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी ५५ वर्ष माथिका उत्कृष्टलाई ६ हजार, जुनियर तर्फ १६ वर्षमुनि र महिला तर्फ प्रथम हुनेले समान ६ हजारका दरले पुरस्कार पाउनेछन्। जनप्रतिनिधि तर्फ उत्कृष्ट हुनेले नगद ६ हजार पुरस्कार पाउने मोक्तानले जानकारी दिए।
पाँच लाख बढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा पाँचथर जिल्लाभरिका १०० जनाभन्दा बढी खेलाडीको सहभागिता हुने आयोजकको भनाइ छ।