सप्तरी प्रिमियर लिग : बलान बिहुल सुपर किंग्स विजयी
राजविराज : सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दोस्रो खेलमा बलान बिहुल सुपर किंग्स विजयी भएको छ।
बलान बिहुल सुपर किंग्सले राजविराज द किंगलाई ८ विकेटले पराजित गर्दै लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। राजविराजले दिएको १२५ रनको लक्ष्यलाई बलान बिहुलले १०.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटाएको छ।
बलान बिहुलको ब्याटिंगमा प्लेयर अफ द म्याच घोषित हसिम अन्सारीले सर्वाधिक ५२ रन बनाए। अन्सारीले अविजित रहँदै ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ तथा रुपेश सिंहले १५ रन बनाए। हसिमले सोनुसँग ५५ रनको ओपनिंग साझेदारी गरे। दोश्रो विकेटको लागि पवनसँग हसिमले ४२ रन जोड्दै जितको आधार तयार गरे।
यस अघि टस हारेर ब्याटिंग गरेको राजविराज द किंगले १९.५ ओभरमा १२४ रन बनायो। उसको लागि अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए भने प्रतिक श्रेष्ठले २२, तृतराज दासले १६ रन बनाए। बलान बिहुलका बलर रुपेश सिंहले ३ तथा विकास दास, रोबिन सिंह र बिष्णु मण्डलले २/२ विकेट लिए।
शुक्रबारसम्म ११औं खेल सकिदा लिग अंकतालिकाको पहिलो स्थानमा लगातार तीन जित हासिल गरेको बजाज खडक वारियर्स कायम रहेको छ। समान अंक भएता पनि चौंथो खेलमा तेश्रो जित पछि रुपनी राइडर्स दोश्रो स्थानमा उक्लेको छ।
यस्तै चौंथो खेलमा दोश्रो जितपछि ४ अंकसहित बलान बिहुल तेश्रो स्थानमा उक्लेको छ। छिन्नमस्ता लायन्स ४ खेलमा ४ अंकका साथ चौथो स्थानमा छ। लगातार चौंथो हार बेहोरेको राजविराज द किंग अंकविहिन रहँदै पुछारमा छ। लिगको अन्तमा शिर्ष–२ मा रहने टोली फाइनलमा भिंडने छन्।
प्रतियोगिताअन्तर्गत शनिबार राजविराज द किंग र कञ्चनरूप राइनोज तथा रुपनी राइडर्स र बजाज खडक वारियर्सबीच प्रतिस्पर्धा हुनेछ।