भीमेश्वर नगरपालिकाको बजेट ८१ करोड
![भीमेश्वर नगरपालिकाको बजेट ८१ करोड](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_1DAzLA72sT_UBSmnyyTlB.jpg)
दोलखा : भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ८१ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको तेस्रो नगरसभामा आइतबार उपप्रमुख कमला बस्नेतले ८१ करोड १२ लाख ९० हजारको बजेट सार्वजनिक गरेकी हुन्।
उपप्रमुख बस्नेतले सार्वजनिक गरेको बजेटअनुसार चालुतर्फ ४८ करोड ६७ लाख, ४० हजार र पुँजीगततर्फ ३२ करोड २० लाख ५० हजार र वित्त व्यवस्थापनतर्फ २५ लाख विनियोजन गरिएको छ।
क्षेत्रगत रूपमा आर्थिक विकासमा ४ करोड ६८ लाख, सामाजिक विकासमा २५ करोड २७ लाख ५४ हजार, पूर्वाधार विकासमा १ करोड ७७ लाख ५० हजार विनियोजन गरिएको छ।
वन, वातावरण र जलवायु परिवर्तन अनुकुलनमा ५४ लाख ५० हजार,विपद् व्यवस्थापनमा ६२ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास (कार्य सञ्चालन तथा प्रशासनिक खर्च समेत)मा १० करोड ४९ लाख ४३ हजार विनियोजन गरिएको उपप्रमुख कमला बस्नेतले बताइन्।
भीमेश्वर नगरलाई संघीय सरकारबाट ३४ करोड ५२ लाख, बागमती प्रदेश सरकारबाट १ करोड ९४ लाख १० हजार, संघीय राजश्व बाँडफाँटबाट १० करोड ७ लाख ९१ हजार तथा बागमती प्रदेश राजश्व बाँडफाँटबाट ५ करोड ६ लाख, स्थानीय राजस्व बाँडफाँटबाट ५ करोड ६ लाख रकम प्राप्त हुनेसहित गरी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)