चुरे जोगिए विपद् रोकिन्छ
चुरेको पारस्थितिकीय प्रणाली बिगिँ्रदा जलवायु परिवर्तन भइरहेको छ। यसको असर अहिले देखिएको छ।
बर्खा लाग्छ बाढी र पहिरोकै डर हुन्छ। हिमाल, पहाड र तराईका मिलेर नेपाल बनेकाले यहाँ दुवैको चिन्ता उत्तिकै हुन्छ। पहाड र हिमालमा पहिरो र बाढी अनि तराईमा बाढी र डुबानले बर्सेनि सताएकै छ। यसको मुख्य कारण प्राकृतिक मात्रै नभई मानवीय गतिविधि पनि हो।
चुरेका पहाड खिइँदै गएका छन्। यसको दोहनले पहाडी क्षेत्रमा पहिरो गइरहेको छ। नदी किनारमा मापदण्डविपरीत १ हजार १ सय ४१ क्रसर उद्योग छन्। त्यसले नदी र पहाड निलिरहेका छन्। पहाडमा अव्यवस्थित सडक संरचना बनाइँदा पनि पहिरोको जोखिम बढ्दो छ। तराईमा खेतीयोग्य जमिन कटान तीव्र छ। बाढीले बस्ती डुवान हुने क्रम बढ्दै छ। यस्तो हुनुमा लगभग ७० प्रतिशत कारण महाभारत र चुरेका पहाड दोहन हुनु हो, अतिक्रमण बढ्नु हो। यसै कारण कुनै बेला वरदान बनेको चुरे पहाड अहिले तराईवासीका लागि अभिषाप बनेको छ।
मनसुनको पहिलो चरणमै पूर्वीभागमा जनधनको क्षति भइसकेको छ। पूरा मनसुन अझै बाँकी छ। प्रकृतिलाई हामीले नष्ट गर्दा त्यसको परिणाम देखिँदैछ। यो क्रम गएको दुई दशकदेखि जारी छ। यस वर्ष पनि यो घटनाले निरन्तरता पाएको छ। दिन प्रतिदिन खोलाको चौडाइ बढ्दै गएको छ। मानिसहरूको हातमा लालपुर्जा छ तर, खेती लगाउने खेत छैन। उठिबास भएर सुकुम्बासी भएका छन्। चुरेले मध्यपहाडलाई सुरक्षा दिएर राखेको छ। यहाँको वातावरण बिग्रियो भने त्यसको नाकारात्मक प्रभाव सबैले भोग्छन्। चुरेको पारस्थितिकीय प्रणाली बिगिँ्रदा जलवायु परिवर्तन भइरहेको छ। थोरै समयमा धेरै पानी परेर पहाडमा पहिरो र तराईमा बाढीले ताण्डव मच्चाउँछ। चुरे जोगाए मात्रै पनि नेपालमा हुने यस्ता प्राकृतिक विपत्ति धेरै रोक्न सकिन्छ।
महाभारत र तराईको बीचमा पर्ने कान्छो पहाड हो चुरे। पश्चिममा पाकिस्तानको इन्दुस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्रनदीसम्म चुरे पहाड फैलिएको छ। भारत र पाकिस्तानमा यसलाई सिवालिक भनिन्छ। नेपालको कुल क्षेत्रफलमध्ये १२.७८ प्रतिशत भू–भाग चुरे पहाडले ओगटेको छ। यो कमलो पहाड हो। यहाँ थोरै धक्का लाग्दा घाउ हुन्छ। पहिरो जान्छ ।
चुरे तराईका लागि जीवन पनि हो। यसमा बर्खाको पानी सजिलै शोषेर संचित गर्छ। यो चुरेको दरिलो पक्ष हो। त्यसैले चुरेको गर्वमा प्रशस्त पानी छ। वर्षाको चार महिना पानी शोषेर हिउँदको ८ महिना तराईमा पानी पठाउँछ। यहाँको प्यास मेटाउन सहयोग गर्छ।
नेपालमा तीन किसिमका खोलानालाहरू छन्। पहिलो हिमालबाट निस्किएको छ। दोस्रो मध्यपहाडबाट निस्केको छ बागमती जस्तो। कोसी, कर्णालीहरू हिमालबाट बग्छ। र, तेस्रो चुरेबाट निस्केको मौसमी खोलाहरू हु्न्। चुरे तथा तराई मधेसलाई चिरेर नेपाल–भारत सीमा पार गर्ने नदीहरू १ सय ६४ वटा छन्। जसमा उच्च हिमाल र हिमालबाट उत्पत्ति भई बाह्रै महिना पानी बग्ने ४८ वटा, मध्यपहाडबाट उत्पत्ति भई प्रायः बाह्रै महिना पानी बग्ने ७६ वटा, चुरेबाट उत्पत्ति भई वर्षायाममा मात्रै पानी बग्ने ४८ वटा र तराई मधेसबाट उत्पत्ति भई प्रायः बाह्रै महिना पानी बग्ने १३ वटा नदी छन्।
चुरेको पारिस्थितिकीय प्रणाली जोगाएर राख्दा तराईका लागि गिटी, ढुंगा, बालुवा कम र सफा पानी बढी तराईलाई प्रदान गर्छ। हिमाल र पहाडबाट बग्ने खोलाहरू पनि चुरे भएरै बग्छन्। चुरे हिमालयको बाहिरको दक्षिणतिरको सबैभन्दा सानो तर, प्राकृतिक रूपमा महत्त्वपूर्ण छ। चुरे महाभारतसँग जोडिएको छ। महाभारत हिमालय पर्वतसँग टाँसिएको छ। त्यस्तै नेपालको चुरे पहाडको यो कडीलाई निकालिदियो भने नेपालको अस्तित्व नै खतरामा पर्छ।
चुरेलाई संरक्षण गर्न चुरे ऐन नै बनाउनुपर्छ। यसले मात्रै चुरेको संरक्षण हुन्छ। चुरिया क्षेत्र बाँच्यो भने मात्रै महाभारत पहाड स्वस्थ्य रहन्छ। सरकारले अहिले वातावरण ऐनअन्तर्गत संरक्षण क्षेत्र घोषणा गरेको छ। विकास ऐनअन्तर्गत राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति गठन भएको छ। चुरे संरक्षण गर्न सरकारले चुरे ऐन नै बनाउनुपर्छ।
सरकारले लहडको भरमा चुरेबाट बालुवा, गिटी निकासी गर्नुहुँदैन। २०७१ साल साउन १ गतेदेखि चुरेबाट नदीजन्य पदार्थको निकासी बन्द गरेको थियो। तर, अहिले सरकार चुरेबाट भारत निकासी गर्न ऐन बनाउन लागेको छ। यसले बाढी पहिरोको समस्या बल्छाउँछ। त्यसैले चुरे जोगाए मात्रै सबै जोगिनेछौं।
(डा. सिंह चुरे विज्ञ हुन्।)