मंगलश्री क्रसर उद्योगमा टिपरले थिचेर एक मजदुरको मृत्यु
झापा : झापाको अर्जुनधारा–७ स्थित मंगलश्री क्रसर उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा ताप्लेजुङ घर भएका अन्दाजी २३ वर्षीय अर्जुन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार मिलन बस्नेतले सञ्चालन गरेको क्रसर उद्योगमा सोमबार दिउँसो मिक्स गिट्टी लोड गर्ने क्रममा टिपर पल्टिदा थिचिएर मजदुर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।
‘क्रसर मेसिनबाट टिपरमा मिक्स गिट्टी लोड हुँदै थियो, माथिबाट टिपर पल्टियो, टिपरसहितको गिट्टी मजदुरमाथि पोखियो,’ घटनास्थल पुगेका एक प्रहरीले भने।
यता इलाका प्रहरी कार्यालय अनारमनिको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।