‘लम्की स्किन’बाट १२० गाईगोरु मरे

‘लम्की स्किन’बाट १२० गाईगोरु मरे
रघुगंगा-६ पाखापानी औलामा लम्की स्किनबाट बिरामी गोरुको उपचार गर्दै भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका प्राविधिकहरू। तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : ‘लम्की स्किन’ रोगको महामारीबाट म्याग्दीमा हालसम्म १२० गाईगोरु मरेका छन्। जिल्लाभर एक हजार ६६९ गाईगोरु र भैसी लम्की स्किनबाट बिरामी परेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। 

केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले म्याग्दीका छ वटै स्थानीय तहमा लम्की स्किन फैलिएको बताए।  ‘यसअघि गाई, गोरु, बाच्छा र बाच्छीमा मात्र यो रोग देखिएको थियो,’ उनले भने ‘पछिल्लो पटक मंगला गाउँपालिकामा एक वटा भैसीमा पनि लम्की स्कीन देखिएको छ।’ 

तथ्याङ्क अनुसार बेनी नगरपालिकामा ८१, मंगला गाउँपालिकामा ५०, मालिकामा ४३, धवलागिरीमा १५४, रघुगंगामा ४६१ र अन्नपूर्णमा ८८० पशुमा लम्की स्किन देखिएको छ। 

बेनीमा ९, मालिकामा ४, धवलागिरीमा ४, रघुगंगामा २९ र अन्नपूर्णमा ७४ पशु मरेका छन्। १३ वटा बाच्छाबाच्छी, ३६ वटा गाई, ७१ वटा गोरु मरेका केन्द्रले जनाएको छ। 

म्याग्दीमा लम्की स्किन देखिएका मध्य ७.१९ प्रतिशत पशु मरेका छन्। वि.स. २०७९ चैत १३ गते रघुगंगा गाउँपालिकामा जिल्लामा पहिलो पटक लम्की स्किन देखिएको थियो। 
पछिल्लो पटक अन्नपूर्ण गाउँपालिकामा यो रोग तिब्र रुपमा फैलिएको छ। गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाई प्रभावित भएको अन्नपूर्ण गाउँपालिका-६ घारका कृषक टेकबहादुर खड्काले बताए। ‘गाईहरु बिरामी भएपछि घारमा सञ्चालित चिज उद्योग पनि बन्द भएको छ,’ उनले भने ‘खेती लगाउने बेलामा जोत्ने गोरु नपाएर समस्या भएको छ।’

ज्वरो आउने र शरीरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन्। यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ। साथै झिँगाबाट समेत यो रोगको संक्रमण बढ्ने बताइएको छ। यो रोगको उपयुक्त औषधी नभएपनि खोप पहिचान भएको छ। यो रोगका कारण गाई गोरुमा समस्या आउँदा दुध उत्पादनमा असर पर्ने जनाइएको छ।

लम्की स्किन फैलिन नदिन बेनी नगरपालिकाले निशूल्क खोप लगाउने अभियान सञ्चालन गरेको छ। नगरपालिकका ४०० पशुमा हालसम्म लम्की स्किन विरुद्धको खोप लगाइसकेको पशु सेवा शाखाका प्राबिधिक प्रदिप गौतमले बताए। 

नगरपालिकाले आन्तरिक स्रोतबाट खोप खरिद गरेर निशुल्क लगाउने व्यवस्था मिलाएको जनाएको छ। प्रदेश सरकारबाट प्राप्त भएको लम्की स्किनबाट बिरामी भएका पशुलाई खुवाउने एन्टिबायोटिक औषधि स्थानीय तहलाई उपलब्ध गराएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.