बैंकबाट पौने ३ करोड निकाल्ने नक्कली ऋणी पक्राउ
![बैंकबाट पौने ३ करोड निकाल्ने नक्कली ऋणी पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_LlNk68oAH5_oXR690EOIm.jpg)
राजविराज : एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका आरोपित सद्दाम मंगलबार पक्राउ परेका छन्।
लिखत सम्बन्धी कसूर मुद्दामा पक्राउ पुर्जी जारी भएको दुई महिनापछि राजविराज नगरपालिका–९ का २८ वर्षीय मो. सद्दाम पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ। राजविराजकै एक पसलबाट उनी पक्राउ परेका हुन्।
अर्काका नाममा रहेको जग्गाको नक्कली जग्गाधनी प्रमाण बनाइ बैंकबाट ऋण उठाएको माघ २३ गते खुलासा भएपछि सद्दाम फरार भएका थिए। सद्दामसहित बैंकका प्रमुख, ऋण अधिकृतसहित ९ जना विरुद्ध अदालतबाट वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रतिवेदन जाहेरीले उनीहरू विरुद्ध कारबाही अगाडि बढेको हो।
वास्तविक जग्गाधनी राजविराज नगरपालिका ८ बस्ने रवीन्द्र यादवले रोक्का रहेको उनको जग्गा धितो राखेर बैंकले ऋण दिएकोमा आश्चर्य व्यक्त गर्दै विवाद गरेपछि स्क्याम प्रकरणके घटना खुलासा भएको हो। यादवको नाममा रहेको जग्गा राजविराज–९ का वसिरन खातुनको नाममा नक्कली लालपूर्जा तयार गरिएको थियो। सोही नक्कली जग्गाधनी प्रमाणका आधारमा एनआइसी एसिया बैंक राजविराज शाखाबाट २ करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गराइ २ करोड ३० लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा भुक्तानी समेत दिइएको थियो।
किर्ते गरी बनाइएको सोही नक्कली जग्गा धनी प्रमाण–पत्रको आधारमा बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको थियो। राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा आसमा खातुनका नाममा दर्ता रहेको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई बैंकले माघ ९ गते सो ऋण प्रवाह गरेको थियो।
पक्राउ परेका मोबाइल व्यवसायी सद्दाम नक्कली जग्गाधनी बनाइएकी बसिरन खातुनका छोरा तथा ऋणी आसमाका श्रीमान् हुन्। आसमाले उनका श्रीमान् सद्दामकै मोबाइल पसल मूल्याङ्कन गराएर ऋण लिएकी थिइन्।
वास्तविक जग्गाधनी यादवले यसअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित साविक प्रसवनी गाविस–९ (ग) को कित्ता नम्वर २२१ (९ को ख) को १० कठ्ठा ५ धुर जग्गा राजविराजस्थित सिटिजन बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण लिएका छन्।
सिटिजन बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गाको नक्कली कागज धितो राखेर एनआइसी एसिया बैंकले २ करोड ३० लाख रुपैयाँ ऋण दिएको अनुसन्धानबाट खुलेको हो। कर्मचारीसहितको मिलेमतोमा पहिलेदेखि नै रोक्का रहेको जग्गा फुकुवा नहुँदै नक्कली जग्गाधनी प्रमाणपत्र बनाएर ऋण निकालिएको अनुसन्धानबाट देखिएको छ।
वास्तविक जग्गाधनी यादवले थाहा पाई घटना बाहिरिए लगत्तै बैंकका प्रबन्धक संतोषकुमार यादवसहित बैंकका केही कर्मचारी र व्यवसायीहरू फरार भएका छन्। जग्गाधनी यादवका अनुसार आरोपितहरूले लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटरसँग मिलेमतो गरेर नक्कली जग्गाधनी खडा गरी बैंकबाट ऋणकर्जा निकालेका हुन्।
‘स्क्याम’सँगै बैंकका प्रबन्धक यादव, सद्दामकी श्रीमती आसमा खातुन, आमा बसिरन खातुन, घटनामा संलग्न तत्कालीन सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दीपेन्द्र यादव, भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर दीपक शर्मा, व्यवसायी सम्साद र शंकर यादव फरार छन्।
नक्कली कागजातका आधारमा बैंकले स्विकृत गरेको २ करोड ८० लाख रकम मध्ये मुख्य ऋणीको खाताबाट सम्साद, सद्दाम र राजविराजकै एक सहकारी संस्थामा रकम ट्रान्सफर भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)