भन्सार प्रतिनिधिलाई स्वतः लाइसेन्सको माग
काठमाडौं : सरकारले भन्सार प्रतिनिधिलाई स्वतः लाइसेन्स दिनुपर्ने सरोकारवालाले माग गरेका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक ऐनमार्फत भन्सार ऐन संशोधन गरेर आयात निर्यात कार्य व्यवसायीको भन्सार एजेन्टले मात्र गर्न पाउने व्यवस्था गरेको थियो। यसअघि अनुमति प्राप्त प्रतिभन्सार एजेन्टले दुई जना भन्सार प्रतिनिधि राख्न पाउँथे। ऐन संशोधन भएपछि प्रतिनिधि भन्ने पद नै खारेज हुने भएको छ।
सरकारले भन्सार प्रतिनिधिको व्यवस्था खारेज गरेपछि प्रतिनिधिहरू आन्दोलित भएका छन्। काम गर्दै आएका प्रतिनिधिलाई स्वतः भन्सार एजेन्ट लाइसेन्स दिनुपर्ने माग गर्दै भन्सार विभागमा भन्सार एजेन्ट प्रतिनिधि संघर्ष समितिले १३ दिनदेखि धर्ना दिँदै आएका थिए। तर भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले आन्दोलित प्रतिनिधिहरूसँग शुक्रबार छलफल गरेर ४–५ दिनका लागि धर्ना नबस्न अनुरोध गरेका छन् । उनले प्रतिनिधिको मागलाई केही व्यवस्था गर्ने आश्वासन दिँदै अहिले राजस्व उठाउने चटारो भएकाले केही अवधिका लागि धर्ना नगर्न अनुरोध गरेको बताए।
‘असारको महिना छ। राजस्व जुटाउनु छ। बरु परेको मर्कामा हेरौंला। अहिलेलाई अनशन स्थगित गर्न भनेको हो,’ महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने। आन्दोलित प्रतिनिधिहरूले महानिर्देशक पौडेलले दिएको आश्वासनलाई विश्वास गर्दै केही दिनलाई धर्ना नगर्न तयार भएको तर माग पूरा नभए यसलाई कायम गर्ने अडान राख्छन्।
संघर्ष समितिका सहसंयोजक प्रेम बानियाँ सरकारले व्यवस्थापनको विकल्पबिना आवश्यकताविहीन ठानेकोमा आपत्ति जनाए। बानियाँ भन्छन्, ‘पहिले सरकारले भन्सार प्रतिनिधि भएर काम गर्न पत्याउने अहिले आवश्यकताविहीन ठान्यो। हामीलाई स्वतः एजेन्ट लाइसेन्स दिनुपर्छ।’ आन्दोलित प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत र कांग्रेस सभापति शेरबहादुर देउवालाई मागसहित ज्ञापनपत्र बुझाएका थिए।
पछिल्लो समय करिब २ सय ७० एजेन्ट मात्रै भएकाले पर्याप्त नभएको भन्दै भन्सार विभागले परीक्षा प्रणालीबाट एजेन्टको लाइसेन्स दिएको थियो। यसबारे जानकारी दिँदै भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार पुरानो भन्सार एजेन्टको संख्या नपुगेकाले नयाँ भन्सार एजेन्टलाई परीक्षाको प्रक्रियाबाट गत वर्ष छनोट गरेर थप ६ सय १८ ले एजेन्ट लाइसेन्स लिएर काम सुरु गरेका थिए। भन्सार ऐनको दफा ५१ मा भनिएको छ, ‘आयात निर्यात हुने मालवस्तु भन्सार छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि भन्सार एजेन्टलाई आधिकारिक व्यक्ति तोकेपछि एजेन्टले आफैं वा आफ्नो प्रतिनिधिमार्फत व्यवसायीको काम गर्न पाउने छन्।’
यसअघि नै भन्सार विभागले पुराना एजेन्ट प्रतिनिधिलाई पनि शैक्षिक योग्यता नपुगेको भए पनि परीक्षामा सामेल गरेकोे थियो। ‘नियमावलीमा व्यवस्था भएअनुसार प्रतिनिधिलाई सामेल गराएका थियौं। परीक्षामा उत्तीर्ण हुनेहरूले काम गर्दैछन् तर अनुत्तीर्ण हुनेहरू भने स्वतः लाइसेन्स दिनुपर्छ भनेका छन्।,’ सूचना अधिकारी खड्काले अन्नपूर्णसँग भने।
भन्सारको परीक्षापछि पुराना र नयाँ गरेर ८ सय ८८ एजेन्टले काम गरेकाले प्रतिनिधि चाहिँदैन भनेपछि सरकारले यो व्यवस्था खारेज गरेको हुन सक्छ। तर यता ती पुराना एजेन्ट प्रतिनिधिहरू भने पहिलाको जमानाकालाई अनुभवको आधारमा भए पनि परीक्षा नलिएरै स्वतः एजेन्ट लाइसेन्स दिनुपर्ने बताउँछन्।