कोइ सुखारी कोइ दुःखारी

देउडामा नारी आवाज

कोइ सुखारी कोइ दुःखारी

नारी वर्गले आफ्ना दुःख गीतमार्फत जंगलमा व्यक्त गर्थे। गीत नै साथी बनेका थिए, उनीहरूका लागि। गीत, सुखी जिन्दगीभन्दा दुःखी जिन्दगीका हितैषी साथी हुन् भन्छन्, देउडा खेलाडीहरू।

भोट्यान बाजपण्यो भन्छन् मेरा लेखी चील

जाँ गया वौलणी खेल्छन् वैरी वाजा डिल...

भारी बोक्ने भरिया र पेटमा बच्चा बोकेकी महिलाको पीडा बोलेको छ यो गीतले। यस्तो त अव्यक्त महिलाका भावनाहरू एउटै गीतले बोल्दैन। सयौं गीतले विशेषगरी गरिबीपन नारीमाथि गरिने अमानवीय व्यवहार, सौतेनी आमाबाट चेलीबेटीको पीडाले रुझेका हुन्छन्, देउडा गीतहरू। महिलाहरू परिवारमा दुःख व्यक्त गर्न सक्दैनन्। बरु रोएर बस्छन्, भोको पेटमा जंगलमा घासदाउरा काट्न जान्छन्। तर परिवारमा आफ्ना दुःखहरू सुनाउन चाहन्नन्। अझ कामका लागि परदेशीयको श्रीमान् घरमा नभएपछिको नजर महिलामा तुच्छ र हेपाहा हुन्छ। त्यस्तो अवस्थामा महिलाका दुःख सुन्ने अभिन्न साथी बनिदिन्छन्, वनपाखा र गीतहरू।

२०४६ सालको सफल जनक्रान्तिपछि सुदूरपश्चिम र कर्णाली प्रदेशको समाजमा अशिक्षारूपी कालो बादल विस्तारै हटेर शिक्षारूपी घाम लागेको छ। गाउँगाउँमा चेलीबेटीलाई पनि बढाउनुपर्छ भन्ने मान्यता स्थापित हुँदै आएको छ। त्यसअघि महिलालाई हेर्ने नजर पुरुषवर्गको हेपाहा प्रवृत्तिको थियो। मानौं महिलाहरू घरका नोकर हुन्, सन्तान उत्पादन गर्ने कलकारखाना मात्र हुन्। नारीवर्गले आफ्ना दुःख गीतमार्फत जंगलमा व्यक्त गर्थे। गीत नै साथी बनेका थिए, उनीहरूका लागि। गीत, सुखी जिन्दगीभन्दा दुःखी जिन्दगीका हितैषी साथी हुन् भन्छन्, देउडा खेलाडीहरू। हरेक उमेर र वयका नारीहरूले वनपाखामा थकाई मोर्दै अन्निफाँको (खाजा) खाँदै देउडा गीतका भाकाहरू सुनाउँछन्। अक्सर उनीहरू ठाडी भाकाका कारुणिक शब्दहरू चयन गर्ने हुँदा मानौं वर्षामौसममा देवलोकबाट इन्द्र देवता रोएर वर्षा गराउँछन्। प्रकृतिको नियमसँगै महिला गायिकाहरू पानीमा भिज्दै काम गर्दै गीत पनि लगातार गाइरहने हुँदा महिलालाई गीतका कहिल्यै नसुक्ने पोखरी हुन्, बाह्रैमहिनाका चिसापानीका धाराहरू हुन् भन्न मन लाग्छ। 

मधुवन् हरियो होइझाउ श्रीखण्ड पलाई झाउ
मायापिरथीको दियो आउ वाज जलाई झाउ...

यी देउडाका भाकाहरूले कस्को मन छुँदैन ? को व्यक्तिको मन पग्लदैन ? श्रीखण्डको बगैंचाबाट निस्केका मधुवनका गीतहरू प्रकृतिका गीता हुन्। अलिखित महाकाव्य हुन्– ७ नं. र ६ नं. प्रदेशका संस्कृतिका अनमोल देउडा गीतहरू। यी गीतहरूको संरक्षण विशेषगरी महिला वर्गबाट हुँदै आएका छन्। व्यक्तिगत पीडा लुकाएर पनि प्राचीन कालदेखि महिला वर्गले यी गीतहरूको संरक्षण गर्दै आएका छन्। तर अचम्मलाग्दो कुरा के पनि छ भने उनीहरूले यी कारुणिक गीतहरू घनाजंगलको बीचमा ओडार र डाँडाले छेकिने एकान्त ठाउँमा गाउनुपर्छ। यदि समाजमा सुनाएको खण्डमा उनीहरूले पातर्नी, छाडा, वादी आदि उपमा पाउने गर्छन्। २०२६/०२७ सालतिर सानो अवस्थामा आमाहरू, भाउजूहरूले जंगलमा यी गीत गाएकाले पंक्तिकारमा गीतप्रतिको मोह बढ्यो।

देउडा गीतले जीवन दिएको अनुभूति गरिरहेछु। त्यसबेलाको आमा र भाउजूहरूले गाएको गीतरूपी गंगामा नुहाउन पाएकाले गायनकलामा हालसम्म सिटामोल खान परेको छैन। गीति गंगामा नुहाउन पाउँदा आफूलाई भाग्यशाली गायक सम्झन्छु। गीत गाएको र खेल खेलेका कारण क्षेत्री र दलित वर्गका महिलाले आफ्नो कर्मघर छोड्नु परेका प्रत्येक जिल्लामा सुन्न र देख्न पनि पाइन्छ। गीत संगीतको उर्वर भूमि हो, ६ र ७ नं. प्रदेश। जसमा बझाङ, बाजुरा, अछाम र बैतडीलाई त देउडा गीतको जननी नै मान्दा फरक पर्दैन। बझाङमा गीत गाउँदा मायाप्रिती बसेर घरजम भएका ताजा घटनाहरूका र शुभ रैवारहरू धेरै छन्। वर्तमानमा यो शैली मोबाइल र फेसबुकले फैलाएको छ। जात मिलेका व्यक्तिसँग पोइल जानु (भागेर जानु)लाई क्षेत्री र दलित वर्गमा सामान्य मानिन्छ। यस्तो अवस्थामा पनि देउडा गीतप्रतिको सम्मोह किन न घटेको होला, सांस्कृतिक प्रश्न हो यो।

सुत्केरी हुँदा र छाउपडी हुँदा नारीको अवस्था : यस विषयमा धेरै कथा र मर्म स्पर्शीय घटनाहरू छरपस्टरूपमा देख्न र सुन्न पाइन्छ। ठूलै काव्य बन्न सक्छ, प्रत्येक जिल्लाका महिलाका यी दर्दनाक घटना सञ्चार जगत्मा उतार्ने हो भने। तर हालसम्म जे जति घटनाहरूलाई उचालेर छापामार्फत बाहिर आएका छन्, प्रायः ती रैवारहरू बढाएर उल्लेख गरेको पाइन्छ। जिल्लापिच्छे महिलाका घटना र संवेदना फरक छन्।

आधुनिक कालमा प्रवेश गर्नुपूर्व सुत्केरी महिलाले बच्चा बचाउन ५/६ महिनासम्म हरियो सागपात खान हुँदैन। तीन महिनासम्म धिदालो (गोरस) पिउन हुँदैन। गाईहरू देवताका भागकाले यदि सुत्केरी महिलालाई गाईको दूध दही खुवाएको खण्डमा देवता रिसाउँछन्, घरमा अनिष्ट हुन्छ भन्ने कुतर्क थियो। सुत्केरी महिलाले घिउ हालेको भात र दालमा मात्र जीवन धान्नुपर्ने अवस्था कायम थियो। अहिले पूरै बदलिएको छ समाज। यसैगरी छाउपडी महिलाले चार दिनसम्म घरछेउको एक कुनामा कसैको मुख नहेरी लुकेर बस्नुपर्ने कुप्रथा सानोमा पंक्तिकारले पनि देखेको छु। 

तर गोठमा थुन्न गरी भोकभोकै बस्नुपर्ने अवस्था थिएन। उनीहरूका लागि नुहाउने धारा र खानाखाने भाँडाकँुडा पनि बेग्लै छुट्ट्याएको हुन्थ्यो। सात दिनपछि नुहाएर, गहुत चाखेर मात्र घरभित्र प्रवेश गर्न पाउँथे। अहिले धेरै सहज भएको छ विषयमा। छाउपडीका बेला महिलाले देउडा गीत भने गाइरहन्थे। मानौं, उनीहरू देउडा गीत, संस्कृतिका रक्षक हुन्, पहरेदार हुन्–

सुत्केरी भयाका बेला कैखी बताऊँ दुःख
जिन्दगी दुःखैमा बित्यो कैल पाउला सुख ?
जेठाज्यू भान्साउणा गया जेठानी छुइछन् कि
कोइ सुखारी कोइ दुःखारी भगवान् दुई छन् कि ?

यी र यस्तै खालका वेदनाले भरिपूर्ण गीतहरू गाउँछन्– सुत्केरी महिलाहरू र छाउपडी चेलीबेटीहरू। महाशंकर देवकोटा र प्रेमदेव गिरीले संकलन गरेर ल्याएका देउडा गीतमा स्वर दिने महिला कलाकारमा अग्रपंक्तिमा आउँछन्, चन्द्रकला शाह, ज्ञानु राणा र कविता आले। दाङ जिल्लाको गायिका शाह, पोखराकी गायिका राणा र इलाम जिल्लामा जन्मेकी कविताले जानी नजानी पनि नारी आवाज दिलाएर देउडा गीतप्रति सम्मान व्यक्त गरिन्। २०४४ सालअघि देउडा गीतको इतिहासमा उनीहरू सञ्चारजगत्मा मात्र नभएर सांस्कृतिक धरातलका सदैव आदरका पात्र मानिन्छन्। यसैगरी, २०४५ सालमा भारती उपाध्याय र प्रार्थना 

खनालले देउडाका अजम्बरी भाकामा यो पंक्तिकारसँगै स्वर दिए। जुन गीत रेडियो नेपालमा हालसम्म कालजयी भएर प्रसारण भैरहेछन्–

डडेल्धुरा बैतडीका बीचमी पाटन
हातकी रुमाल दिउला सौरणी साँटन।
(लय बाज सौंराई लागी तेरी आज) 

देउडा गायनमा मीठो स्वर प्रस्तुत गरेकी खनालले गाएको गीत यस्तो छ:
बजार जल्यो बिजुलीले वन् जल्यो तारले
फूल्भाणीलाई माया लाउँछु मसिना सारले।
(लय– छमक्क मेरी माला छमक्क, 
रातपणिग्यो झमक्क)

सेतीको सन्देश महाकालीको मौसम नामक देउडा गीति क्यासेटमा समावेश सो भाकाको गीत चन्द्रकला शाह र स्व. मधुबाबु थापाले पनि स्वर दिएर ठूलो गुन लगाए। कर्णाली र सेती महाकाली भूमिमा देउडा गीति फाँटमा निकै लोकप्रिय मानिएको सो गीति क्यासेटलाई देउडा गीतसंगीतको जग या पिलर मानिन्छ।

सुदूरको भूमिबाट महिला कलाकारलाई राजधानीमा बोलाएर गीति क्यासेट उत्पादन गर्न र रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गर्नु आफैंमा कठिन कार्य थियो। त्यस कालखण्डमा पनि महिला आवाज भने देउडा गीतमा जरुरी थियो। आफ्नो मीठो स्वर दिएर त्यसबेला चन्द्रकला शाह, कविता आले, भारती उपाध्याय र प्रार्थना खनालले देउडा गीति क्षेत्रमा लगाएको गुन बिर्सी नसक्नुको छ। त्यसपछि पनि खनालले त देउडा गीतका पाँचवटा 
भाकामा स्वर दिइन्। जसमध्ये–

जुम्ला जाँच्यो जुम्लेलीले वन जाँच्यो वर्मले
तिम्रो रूप हेर्न पाऊ यै मेरा कर्मले।
(लय धप्कु ध मिरिउली, पिउली, सुखी, सम्झना मोती अ)

यो देउडा गीतको भाका लोकप्रिय रह्यो। यही गीतलाई छोरी शृंखलाले रिमिक्स गरेर गाउँदा गीतको बान्की अझ उज्यालियो। दीपा धामीले पनि रैवार नामक गीति क्यासेटमा यो पंक्तिकारसँगै देउडा गीतमा स्वर दिइन्। उनले गाएको ठाडी भाका पनि चर्चामा रह्यो–

चिन्याको चौपातो होइफाउ पीपल्को सेल् होइझाउ
फूल् लाउन्या मायालु होइयाउ पुगाउन्या रेल होइझाउ...

देउडा गीत सबै गीतहरूको जननी हो। वर्तमान अवस्थामा देउडा गीतप्रति सबै कलाकारहरूको ठूलो मोह र सम्मान रहेको पाइन्छ। वि.संं २०४८ देखि २०५२ सालसम्म बागमती, गण्डकी, लुम्बिनीलगायतका तत्कालीन जिल्लाका गायिकाहरूले देउडा गीतमा आफूलाई उपस्थित गराए, थोरै परिश्रमिक लिएर पनि त्यस क्षेत्रका पुरुष कलाकारलाई न्याय दिलाए। कुनै कलाकारले त पारिश्रमिक नै लिन मानेनन्। पारिश्रमिक नलिएर पंक्तिकारसँगै ३ वटा अजम्बरी गीति क्यासेटमा मीठो स्वर दिने कलाकार हुन् वरिष्ठ गायिका जानकी भट्टराई। गलबन्दीमा रातो धागो, जमुना र सुवा, रैवार नामक चर्चित गीति क्यासेटमा उनको स्वर सुमधुर रह्यो।

यसैगरी अन्य नारी आवाजमा डिक्रा देवीवादी, बिमाकुमारी दुरा, लोचन भट्टराई, लक्ष्मी न्यौपाने, राधिका हमाल, इन्दिरा गुरुङ, गीता देवी, शिवा आले आदि छन्। पछिल्लो अवस्थामा हरिना साउद, पवित्रा घर्तीमगर र टीका पुनको आवाज देउडा गीतमा कर्णप्रिय छ। २०६२/०६३ हो, जनक्रान्तिपछि त देउडा गीति क्षेत्रमा एक किसिमको बाढी आएको छ। धेरै महिला आवाज गुञ्जिए। गीति क्यासेटमा महिला आवाज अनिवार्य नै ठहरिएको छ। स्वदेशका स्टुडियो र मञ्चमा मात्र नभएर विदेशमा पनि वर्तमान अवस्थामा नवगायिकाहरू प्रस्तुति देखाउन सफल देखिन्छन्। विदेशमा बसेर पनि देउडा गीत रेकर्ड गर्ने पहिलो नारी आवाज बनिन्, शृंखला जोशी। उनले अस्ट्रेलियाको सिड्नी सहरको स्टुडियोमा रेकर्ड गरेको देउडा गीत हाल निकै चर्चामा छ–

एक्ल्याको सम्पत्ति न होऊ गाउन्याकी जोइ नहोऊ
कि र पाल्न न्याउली न रोऊ कि सुन्या 
कान् न होऊ...

(लय : चुइक्यो मोटर घुइक्यो रेल सिड्नी झान्या मेरो खेल)
लक्ष्मी आचार्य, गौरी भट्ट, रेखा जोशी आदिको नाम पनि अग्रपंक्तिमा आउँछ। विदेश गएर देउडा गीतको पछिल्लो पिँढीमा यिनीहरूले आफ्नो आवाज बुलन्द पारेका छन्। उनीहरूका आवाजको देउडा भाकामध्येको एक गीत यस्तो छ–

सेरी खेत् रोपिन लाग्यो गड्कुला पानीले
अकालै ज्यान् झान्या हो कि सम्झिन्या बानीले।


नर्कदेखि स्वर्गसम्म

अमेरिका पुगेको तीन वर्ष नबित्दै चेतन काठमाडौं फर्कियो। ऊ आउँदा एयरपोर्टको वातावरण अमेरिका जाँदाको जस्तो रौनक थिएन। चेतनलाई लिन बासुदेव र ललिता गुपचुप विमानस्थल पुगेका थिए।

प्रकाश तिवारी

‘बिदा हुने भैगयो बेला, फेरि भेट होला कि नहोला
लगाइदिन्छु सगुनको माला, माया भए जरुरै 
भेट होला ...

चेतन र सुभद्रा उक्त गीतमा नाच्नुसम्म नाचे। संगीतमय थियो त्यो साँझ। उत्सवमय थियो त्यो रात। बिदाइ गर्न आउनेहरूले भरिभराउ थियो घर। बाबु बासुदेव र आमा ललिताले त्यस साँझलाई रौनकमय बनाउन कुनै कसर बाँकी राखेनन्। अबेर रातिसम्म भोजभतेर चल्यो। खाने र पिउने क्रम मजैले चल्यो। सबै नाचे। केहीले शुभकामना कविता वाँचे। छोराबुहारी अमेरिका जान लागेकामा बासुदेव र ललिताको खुट्टा भुइँमा थिएनन्। ‘नर्क छोडी स्वर्ग’ जान लागेकामा स्यावासी दिइरहेका थिए सबै।

चेतन र सुभद्रा रातको ११ बजे एयरपोर्ट जान तयार भए। उपस्थितजनले उनीहरूलाई खादा, फूल–माला पहिर्‍याइदिए। लगत्तै भरिभराउ पाँच ट्याक्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ हुइँकिए। एयरपोर्ट प्रांगणमा पुगेपछि सुभद्राकी दिदीले ‘शुभयात्रा केक’ काटिन्। अनि सुरु भयो फोटो सेसन। पोजपोजका चार दर्जनभन्दा बढी तस्बिर खिचे। चेतन र सुभद्रा ‘वाईवाई’ गर्दै डिपार्चर कक्षतिर लम्किए। बिदाइ गर्न गएकाहरू पनि निवास फर्किने सुरसारमा लागे। फर्किनुअघि ललिताले चेतन र सुभद्राको बिदाइ फोटो फेसबुकमा पोस्ट गरिदिन उपस्थित सबैसँग अनुरोध गरिन्। तब सबैले बिदाइ फोटो फेसबुकमा प्रविष्ट गरे। साथै चिनेजानेका सम्पूर्णलाई सक्दो सेयर र लाइक गरिदिन बिन्ती बिसाए।

रात बित्यो। दिन सुरु भयो। बिहान उठेपछिको सबैको पहिलो काम गएरातिको पोस्टले पाएको लाइक र सेयर गणना गर्ने रह्यो। नतिजा चामत्कारिक थियो। आठ–नौ घण्टाभित्रै चेतन र सुभद्रा फेसबुकमा भाइरल भइसकेका थिए। अथवा यसो भनौं, उनीहरूको बिदाइ पोस्टले मार्क जुगरवर्गको फेसबुकमाथि जबर्र्जस्त शासन गरिसकेको थियो। मोबाइल नामको यन्त्रभित्र छोरा–बुहारीले पाएको आधुनिक माया देख्दा बासुदेव र ललिताको नाक घिरौंला जत्रो भयो।

‘म अमेरिका पुगें आमा।’ भोलिपल्ट अबेर राति चेतनले सन्देश पठायो। ललिताले बिनाविलम्व उनीहरूको तस्बिर फेसबुकमा भाइरल भएको सु–समाचार सुनाइन्। जतिजति दूरी टाढा, उतिउति स्मृति गाढा। व्यक्ति एक, प्रतिबिम्ब अनेक। कल्पना गर्न कस्ले कस्लाई रोक्न सक्छ र ? दुनियाँमा बिनाशुल्क पाइने केही चिज छ भने त्यो कल्पना नै हो।

ललिताका त्यसपछिका दिन ‘छोराबुहारीले अमेरिकामा मनग्गे पैसा कमाएको, ४० लाख ऋण चुक्ता गरी काठमाडौंमा भव्य महलमा बसेको, सानदार कारमा सहर घुमेको’ आदि कल्पनामा बिते। ललिता एक्लै छँदा चेतनकै बारेमा सोच्थिन्। त्यस्तैमा उनले चेतनलाई शिशु कक्षामा भर्ना गर्न लैजाँदाको क्षण सम्झिइन्। ‘बाबु ठूलो भएपछि के बन्ने ?’ सोधेकी थिइन् सदीक्षाले। चेतन नबोली आमाको मुखमा हेरेको थियो। ‘प्लेन चढी विदेश जाने भनन बाबु’, सिकाइन् ललिताले। ‘विदेश जाने कुन ठूलो कुरा भो र दिदी !’ सदीक्षाले प्रतिक्रिया जनाएकी थिइन्। ‘जमाना बदलियो। सोच बदलियो। अहिलेका केटाकेटी नेपाल बसेको देख्नु भएको छ र मिस ? विदेश जानु आजका युवाको फेसन जस्तै भएको छ।’ ललिताले थपेकी थिइन्।

जुन कुरा देशमा गृहयुद्ध उत्कर्षमा पुग्दाखेरीको हो। अमेरिका पुगेको एक वर्षसम्म चेतन र सुभद्राको जीवन रमाइलैसँग बित्यो। नर्सिङ विषय पढेकी हुँदा सुभद्रा अस्पतालमा नर्सको काम काम गर्थी। चेतनले भने लामो समयसम्म काम पाउन सकेन। काम मिल्ने संकेत देखिएको थियो एकताका, कोरोना महामारीका कारण त्यतिकै रोकियो। कोरोनाको रोगी भेटिनासाथ टोलै सिल गरी आवत्जावत बन्द गरिन्थ्यो। त्यतिमात्र कहाँ हो र ? रोग संक्रमणको डरले मृतकको अन्तिम संस्कारसमेत सरकार आफैंले गरिदिन्थ्यो।

यस्तै परिस्थितिबीच सदीक्षाले ‘कोरोनाग्रस्त भएको जानकारी दिँदै केही दिन अस्पतालमैं रहने’ जानकारी पठाई। साथै रोग संक्रमणको भय देखाउँदै भेटघाट गर्न नआउन चेतनलाई सचेत गराई। चेतनले त्यसै गर्‍यो। स्थिति पनि त्यस्तै थियो त्यतिबेला। सुभद्रा १२–१५ दिनपछि अस्पतालबाट डिस्चार्ज भई आउनुपथ्र्यो, तर आइन। तब सुभद्राको स्वास्थ्यलाई लिएर चेतनको चिन्ता बढ्न थाल्यो। ऊ सुभद्राका बारेमा हुँदो नहुँदो सोच्न थालिसकेको थियो। चेतन अन्ततः सत्य–तथ्य बुझ्न अस्पताल गयो। तर न सुभद्रा अस्पतालमा भेटिई, न त ऊ बिरामी भएको पुष्टि हुन नै सक्यो ! परिणमतः चेतन डिप्रेसनमा पुग्यो।

महिनौं यसरी नै बिते। यता, बासुदेव र ललिताले छोराबुहारीसँग बोल्न नपाएको लामो समय बितिसकेको थियो। उनीहरूले अमेरिका बस्ने अन्य व्यक्तिमार्फत चेतनको सोधखोज अघि बढाए। यस कार्यमा न्युजर्सीमै रहने नितेश नाम गरेको युवाले ठूलो मद्दत पुर्‍यायो। नितेश चेतनलाई खोज्दै उसको डेरासमेत पुग्यो। नितेश पुग्दा चेतन डेरामा थिएन। उसले त्यहाँ बाबु बासुदेव र आमा सुभद्रालाई सम्बोधन गरी चेतनले लेखेको डायरी भेट्टायो। उसले उक्त डायरी काठमाडौं जाने नेपालीका हात बासुदेव र ललिताकहाँ पठाइदियो।

बासुदेव र ललिताले अत्तालिँदै डायरी पढे– ‘...हामी अमेरिकाको स्वच्छन्द वातावरणमा भिज्दै गैरहेका थियौं। करिब एक वर्षसम्म हाम्रो दाम्पत्य जीवनको डुंगा राम्रै चल्यो पनि। त्यसपछि हामीबीचको सम्बन्ध बिग्रिँदै जान थाल्यो। सुभद्रा मलाई हरेक क्षण नालायक सिद्ध गर्न खोज्थी। पछि त ऊ कोरोनाग्रस्त भएको झुटो बहाना बनाएर अन्यत्रै रात बिताउन थाली। पशुलाई पो दाम्लो। मान्छेलाई ... ? ऊ भिक्टर नामको युवाकी भइसकेकी रैछे ! मेरो बुवा ! यहाँको समाज चरम उपभोक्तावादी समाज हो। यहाँ लोग्नेस्वास्नीबीचको सम्बन्ध पनि बजारबाट खरिद गरी ल्याएको लुगाको जस्तो हुने गर्छ। मन लागुञ्जेल लगायो, त्यसपछि फालिदियो ! धन ठूलो कि मन ? भन्ने हिज्जेमा धनले जित्ने गर्छ यहाँ !

प्यारी आमा !

लाउँदालाउँदैको चुरा प्याट्ट फुटेजस्तै रहेछ, मृत्यु। जीवन डुंगा कुन मोडमा दुर्घटनाग्रस्त हुन्छ, त्रिकालदर्शीले समेत भेऊ पाउन सक्दैन। सुभद्रा भिक्टरकी भएको केही समयपछिको कुरा हो। त्यस रात इन्डियाना नाइट क्लब युद्धग्रस्त मुलुक युक्रेनजस्तै थियो। १७ वर्षे सन्की युवाले एके ४७ बाट चलाएको गोली लागी एक दर्जन निर्दोष मानिस मारिए। मारिनेमा भिक्टर र ‘तराना’ नाम गरेकी युवतीसमेत सामेल थिए।

भिक्टर र तराना मारिएको समाचार संसारको कुनाकुनामा पुग्यो। कतिपय सञ्चारमाध्यमले तरानालाई भारतीय महिला भनी उद्धृत गरे। कतिपयले उसलाई पाकिस्तानी भएको बताए त अन्यले अरबी मूलकी युवती भनी न्युज बनाए। पछि थाहा भयो, सुभद्रा नै तराना थिई। भिक्टरसँग विवाह गरेपछि तराना नाम राखेकी रैछे उसले। 

गएराति ममाथिसमेत गोली प्रहार भयो। म मरें। मरेको मर्‍र्यै हुन पनि सक्थें म। परन्तु सपना थियो र पो। म डराउनुसम्म डराएँ। अथवा यसो भनौं, डरकै कारण पुनः अर्को मृत्यु मरें। कसैले भनेको छ– काउवार्ड डाई मेनी टाइम्स बिफोर हिज डेथ !

आमा ! यस देशलाई स्वर्ग ठान्नु भ्रम रहेछ मेरो ! खासमा यो मेसिनहरूको देश हो। रोबोटहरूको सहर हो। रोबोटसँग संवेदना हुँदैन। मेसिनलाई दया, माया, करुणा र बन्धुत्वको भावनाले छुँदैन। यस देशमा जो पनि आउँछ, मेसिन बन्ने प्रशिक्षण लिन्छ। मेरो देशमा कालो ढुंगाले समेत शालिग्राम बन्ने गन्तव्य चुन्छ।

नेपालमा अव्यवस्था जरुर छ। किन्तु दया, माया, करुणा, साथै जिउने साथै मर्ने अजम्मरी फूल विश्वमा कहीँ फुल्छ भने त्यो मेरो देशमा फुल्छ। हाम्रा, हजारौं, लाखौं बाआमा, दिदीबहिनी, दाजुभाइले त्यस फूललाई गोडमेल गरी हुर्काउँछन्। ब्रह्माण्डमा स्वर्ग नामको प्रदेश कहीँ छ भने त्यो मेरो देशमैं छ। म यस नर्कबाट छिटोभन्दा छिटो मुक्त हुन चाहन्छु।’

डायरी पढिसक्दा बासुदेव र ललिताको आँखा आँसुको तलाउमा बदलिइसकेका थिए। ललिता आकाशतिर हेर्दै निकैबेर मौन रही। उसले देखी सक्रिय मनसुनी बादलले आकाशलाई घेर्दै लगिरहेको थियो। हेर्दाहेर्दै सम्पूर्ण आकाशलाई कालो बादलले ढपक्क ढाक्यो। धर्ती नै चिरा पर्ने गरी बिजुलीको लप्का खस्यो। मेघ डरलाग्दो गरी गज्र्यो। हुरीबतासको साथ मुसलधारे वर्षा भयो। दृश्य टिठलाग्दो थियो। चाहेर पनि सहयोग गर्न नसक्नु ! तमासे बनी हेरिरहनु ! ललिताले कोइलीका बचेरासँग छोरो चेतनको तुलना गरी अनि पश्चिम दिशातिर हेरिरही।

अन्ततः नितेसले चेतनलाई फेला पार्‍यो। चेतन त्यति बेला पागलजस्तै लाग्थ्यो। बेसुरका कुरा गर्दथ्यो। नितेशले चेतनलाई अविलम्ब काठमाडौं पठाउने तारतम्य मिलायो। यस प्रकार, अमेरिका पुगेको तीन वर्ष नबित्दै चेतन मानसिक रोगीका रूपमा काठमाडौं फर्कियो। ऊ आउँदा एयरपोर्टको वातावरण अमेरिका जाँदाको जस्तो रौनकमय थिएन। चेतनलाई लिन बासुदेव र ललिता गुपचुप विमानस्थल पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.