लम्की स्किन प्रकोप : दोलखमा ५२ पशु मरे, ३ हजार १ सय ८१ संक्रमित
![लम्की स्किन प्रकोप : दोलखमा ५२ पशु मरे, ३ हजार १ सय ८१ संक्रमित](https://annapurnapost.prixacdn.net/media/albums/lampi-skin_3WlKflCaIN_N4dNwD11nD.jpg)
दोलखा : लम्पी स्कीनका कारण दोलखामा ५२ वटा पशु मरिसकेका छन् भने ३ हजार १ सय ८१ पशु संक्रमित भएका छन् । असार महिनाको चटारो समयमा दोलखामा धमाधम पशुहरु संक्रमति हुन थालेपछि किसान चिन्तित बनेका छन् ।
असारमा खेतबारीमा व्यस्त रहने बेला गोरु बिरामी हुँदा कतिपयले रोपाइँ नै गर्न नसकेको गुनासो गरेका छन् भने महामारीको रुपमा रोग फैलिरहँदा पर्याप्त उपचार हुन सकेको छैन । किसानका दुहुना पशु मर्दा आयआर्जनको बाटो नै बन्द भएको छ । महामारीका रुपमा फैलिएको लम्मी स्किनले कतिपय किसानको गोठ नै रित्तो बनाएको छ ।
जिल्लाको बैतेश्वर गाउँपालिकामा यो रोगको संक्रमणदर उच्च रहेको छ । बैतेश्वरमा हालसम्म सबैभन्दा बढी १५ सय १२ वटा पशुहरु संक्रमित भएका छन् भने ८ वटा मृत्यु भएका छन् । यस्तै, भीमेश्वर नगरपालिकामा ५ सय ५६,मृत्यु १४, तामाकोशीमा ३ सय ९६,मृत्यु ७, कालिञ्चोकमा १ सय ५४,मृत्यु ४, बिगुमा १ सय ५०,मृत्यु ५, जिरीमा १ सय १५,मृत्यु ४, गौरीशंकरमा ९८,मृत्यु १, र मेलुङ गाउँपालिकामा ५०,मृत्यु ९,शैलुङमा १ सय ५० संक्रमित मृत्यु भएको छैन् ।
संक्रमण थप फैलन नदिन भन्दै भीमेश्वर र शैलुङ गाउँपालिकाले आफैले खोप खरिद समेत गरेका छन् । पछिल्लो समय भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाले जिल्लाका स्थानीय तहहरुलाई लम्पी स्किन रोग विरुद्धको खोप वितरण गरेको छ ।
भेटेरिनेरी अस्पतालले लम्पी स्किन रोग न्युनिकरणका लागि ९ लाख १० हजारमा भ्याक्सिन खरिद गरेको भेटेरिनरी अस्पताल दोलखाका सूचना अधिकृत ध्रुर्व डिसीले जानकारी दिए। उनका अनुसार एक डोजको १ सय ३० रुपैँया पर्ने उक्त खोप ७ हजार मात्रा खरिद गरिएको हो । भेटेरिनेरी अस्पतालका अनुसार भ्याक्सिन वैतेश्वर, कालिञ्चोक, मेलुङ, तामाकोशी, विगु, गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकामा पठाइएको छ ।
गाईभैंसीमा महामारीको प्रकोप बनेको लम्पी स्किन हिमाली क्षेत्रका चौंरीगोठमा पनि देखा परेको छ । रोगका कारण २ वटा चौंरी मरीसकेका छन् । पहिलो पटक हिमाली क्षेत्रका चौंरीगोठमा रोग देखा परेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दोलखाले जनाएको छ ।
जिल्लाको कालिञ्चोक गाउँपालिकाको वडा नम्वर ६ को कालिञ्चोक क्षेत्रका चौंरीमा लम्पी स्किन देखा परेको हो । लम्पी स्किनका कारण २ वटा चौंरी मरेका छन् । उक्त क्षेत्रमा चरणका लागि पुगेका १७ भन्दा बढी गोठका चौंरीमा लम्पी स्किनको संक्रमण देखिएको छ । ३७ वटा चौंरी मध्ये १२ वटा चौंरी बिरामी परेर थलिएको कृषक निमा शेर्पाले जानकारी दिए। उनका अनुसार ३ हजार ८ सय मिटर उचाइमा चरणका लागि लगिएका चौंरीमा लम्पी स्किनको प्रकोप देखिएपछि किसान चिन्तित छन्
कालिञ्चोक क्षेत्रमा १७ गोठका ४ सय भन्दा बढी चौरी मध्यअसारमा चरणका लागि पुग्ने गरेका छन् । यस्तै सोही क्षेत्रमा चौंरीको प्रजजनका लागि ४ वटा याक समेत छाडिएको छ । प्रतिचौंरी गोठबाट वर्षमा १० देखि १५ लाखसम्म दूधजन्य घिउ र छुर्पीमार्फत आम्दानी हुने गर्छ ।
मुख्य सिजनमै चौंरीमा लम्पी स्किन रोग देखिएपछि किसान चिन्तित छन् । ‘एउटा चौंरीको ७० हजारदेखि एक लाख रुपैयाँसम्म मूल्य पर्छ, हिमाली क्षेत्रका मान्छेको गरिखाने पेशा भनेकै चौंरीपालन हो, तर रोगले गोठ मासिन्छ जस्तो छ,’किछिरी शेर्पाले भने। उनका २६ वटा चौंरीमध्ये १५ वटा दुहुना छन् । ती मध्ये १० वटा बिरामी परेका छन् । ‘चौंरीको उत्पादन बजारमा लग्ने मौसममा सबै बिरामी परेर ठूलो क्षति भएको छ ।’समयमा चौंरीको उपचार नपाए धेरै क्षति हुने उनको दुखेसो छ । कालिञ्चोक क्षेत्रका चौंरी गोठमा पशु प्राविधिक पुगेर उपचार भएन भने आफूहरू सडकमा पुग्ने निश्चित भइसकेको शेर्पाले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)