डेंगु सतर्कता, रोगअघि रोकथाम
सरकारहरू पनि हरहिसाबले यसको रोकथाममा लाग्नुको विकल्प छैन।
गर्मी मौसम भनेको पानीको मौसममात्रै होइन, रोगव्याधिको मौसम पनि हो। गर्मी सुरु हुन नपाउँदै लामखुट्टेले डेंगु रोग फैलाइरहेको छ। पूर्वी सहर धरानका अस्पतालमा अहिले डेंगुका बिरामीको चाप परिसकेको छ।
देशभर डेंगुका बिरामी देखिइसकेका छन्। यो वर्ष एकजनाको ज्यान डेंगुले लिइसकेको छ। हाला कि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीकै रूपमा डेंगु नआइसकेको बताएको छ। तर गर्मीयामको चरमोत्कर्ष बाँकी नै छ। मनसुनी याम असोजसम्मै रहन्छ, त्यतिबेलासम्म डेंगुको डर जाँदैन, लामखुट्टे सक्रिय भइरहन्छ। पोहोर साल डिसेम्बरसम्म नेपालमा साढे ५४ हजारभन्दा बढी डेंगुका संक्रमित भेटिएका थिए।
यसपालि झन् बढी जोखिम हुने खतरा छ भनिरहेछन् विज्ञ। त्यसैले डेंगुको जोखिमअनुसार सतर्क हुनुको विकल्प छैन। सरकारीस्तरबाट मात्रै डेंगुको सतर्कता अपनाएर पुग्दैन, नागरिकहरू झन् बढी समेत र सतर्क हुनुपर्छ। सरकारी तवरबाट डेंगुको सचेतना फैलाइएको हुन्छ। तर, आफूलाई नपरी नचेत्ने बानीले गर्दा नागरिकहरूमा लापरबाहीको ठूलो समस्या छ। खासमा त नागरिक आफैं सचेत भइदिए जाती हुन्थ्यो। सरकारले गरेका डेंगु बासस्थान नस्ट र यो रोगबारे सचेतना आखिर नागरिककै लागि हो। जलवायु परिवर्तनको असर के भने डेंगुबाहक प्राणी लामखुट्टेले पनि अचेल तराई मधेसबाट पहाड र हिमाली क्षेत्रमा पनि बसाइ सारेको छ। तसर्थ संक्रमणको डर कुनै खास ठाउँमा मात्रै नभई देशैभरि छ।
लामखुट्टेमध्ये पनि एडिस एजेप्टी र एडिस एल्बोपिक्टस प्रजातिले डेंगु संक्रमण गराउँछ। अचाक्ली टाउको दुख्ने, चर्काे ज्वरो आउने, सास फेर्न कठिन हुने, रक्तस्राव हुने, जिउ थाक्ने, गल्ने, रिंगटा लाग्ने र बान्ता हुने जस्ता लक्षण डेंगु संक्रमणमा हुन्छन्। लक्षण देखिनासाथ अस्पताल जानु नै पर्छ। त्यसभन्दा अघिचाहिँ लामखुट्टेको टोकाइबाट जोगिनु सर्वाेत्तम उपाय हो।
अझ आफू र आफ्नो वरिपरि लामखुट्टेले बासस्थान बनाउन नपाओस् भनेर सरसफाइ गर्ने, पानी जम्न नदिने र झाडीहरू भए फाँड्ने गर्नुपर्छ। आखिर रोग लागेर उपचार गर्नुभन्दा रोकथाम गर्नु नै जाती हो। सरकारहरू पनि हरहिसाबले यसको रोकथाममा लाग्नुको विकल्प छैन।