श्रमले दिन्छ स्वीकृति, अध्यागमन रोक्छ भटाभट

श्रमले दिन्छ स्वीकृति, अध्यागमन रोक्छ भटाभट
सुन्नुहोस्

काठमाडौं : श्रम कार्यालयले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दियो। तर, विदेश उड्न विमानस्थल पुग्दा अध्यागमनले फर्काइदियो। कुबेत हिँडेका १ सय ३८ नेपाली कामदार सरकारी निकायबीच ‘समन्वय नहुँदा’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन्। अध्यागमनका कर्मचारीले उनीहरूको कागजपत्रमा ‘शंका’ गर्दै विदेश जान रोकेका हुन्। 

अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालका अनुसार मंगलबार बेलुकी ३७, बुधबार बेलुकी ८७ र बिहीबार बिहान १४ जनालाई कुबेत जान रोक लगाइएको हो। ती कामदारका श्रम गरिएको कागजपत्रमा शंका लागेपछि यात्रामा रोक लगाइएको ढकालले बताए। ‘हामीले यसअघि छाडेका थियौं। तर, अहिले कागजपत्रमा शंका लागेपछि रोकेका हौ’, उनले भने। 

श्रम गरेभन्दा फरक कागजपत्र फेला परेको उनले सुनाए। श्रम स्वीकृति लिएर आएको भए पनि त्यससम्बन्धी कागजपत्र देखाएर अन्यत्र बेचबिखन हुने शंका लागेको ढकालको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख रामबन्धु सुवेदीले यात्रा गर्न लागेका नागरिकको कागजपत्रमा शंका लागेपछि अनुमति रोकिएको बताए। ‘कुबेतस्थित नेपाली दूतावासले प्रदान गर्ने पत्रमा एउटै चलानी नम्बरमा फरक–फरक नाम भएको, श्रम स्वीकृति र सम्झौतापत्रमा काम फरक–फरक पाइएको छ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने। 

उनका अनुसार एउटा कागजपत्र बोकेको र झोलामा अर्कै भेटिएको हुँदा उनीहरू कुबेत पुगेर अलपत्र नपरून् भनी उडान अनुमति नदिइएको हो। कसैका घरेलु कामदारका भिसा त कसैका कागजपत्र फरक परेको उनको भनाइ छ। 

श्रम कार्यालयबाट श्रम स्वीकृत लिएर हिँडेका नागरिकलाई अध्यागमन कार्यालयले रोकेपछि गृह मन्त्रालयले चासो देखाएको सुवेदीले सुनाए। 

उनका अनुसार एउटा कार्यालयको काममा अर्कोले अवरोध गरेजस्तै देखिएपछि गृह मन्त्रालय र सम्बन्धित व्यवसायीले पनि चासो दिएका छन्। सुवेदीले यस विषयमा बिहीबार गृह मन्त्रालयमा संयुक्त बैठक बसेको जानकारी दिए। 

आफ्नो कार्यालयले नेपाली नागरिक विदेशमा अलपत्र पर्न नपरोस् भनी बैठकमा कुरा राखेको उनले सुनाए। सबैको चासो बनेको यो विषयमा अध्यागमनले लिखित जवाफ गृह मन्त्रालयलाई बुझाएपछि थप छानबिन प्रक्रिया अगाडि बढ्ने गरी बैठक सकिएको उनले बताए।

श्रम कार्यालयले भने सम्पूर्ण प्रक्रिया पु¥याएर मात्रै श्रम स्वीकृति दिइएको जनाएको छ। श्रम कार्यालय ताहाचल प्रमुख पार्वती अर्यालले भनिन्, ‘हामीले मागपत्र, ग्यारेन्टी पत्र, भिसा, दूतावासको प्रमाणीकरणलगायत ऐन, निर्देशिकाअनुसार श्रम गरेका छौं।’ 

आफूहरूले श्रम गरेको नागरिक अध्यागमनले फिर्ता गरेको सञ्चार माध्यमबाट थाहा पाए पनि औपचारिक जानकारी भने नभएको उनले सुनाइन्। म्यानपावर व्यवसायीअन्तर्गत सबै प्रक्रिया पूरा भएको हुँदा विभागमा म्यानपावर व्यवसायीका सबै कागत भएको अर्यालको भनाइ छ। उनले कुनै म्यानपावर व्यवसायीले नक्कली कागजपत्र पेस गरेको भए उनीहरू नै जवाफदेही हुने भएकाले घटनाको प्रवृत्ति थाहा नपाई केही भन्न नसकिने बताइन्। श्रमका लागि आवश्यक कागजातमा कार्यालयले कुनै कसर बाँकी नराखेको उनको भनाइ छ। 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा हिँडेका नागरिक किन फिर्ता भए भन्ने औपचारिक जानकारी नभएको बताएको छ। विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले अध्यागमन कार्यालयले रोक लगाएको विषय यस विभागमा अनौपचारिक जानकारी नभए पनि यस विषयमा चासो राखेको बताए। 

‘नागरिकको गुनासो आउन थालेपछि हामीले पनि यो विषयमा चासो राखेका छौं’, उनले भने। यस विषयमा अध्यागमनदेखि गृह मन्त्रालयसम्म चासो राखे पनि अहिलेसम्म औपचारिक जानकारी कतैबाट नआएको उनको भनाइ छ।

विमानस्थलमा छुट्टै डेस्क राखेर निगरानी बढाएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनामा ब्युरोको कुनै संलग्नता नभएको जनाएको छ। ब्युरोका सूचना अधिकारी कृष्णप्रसाद पंगेनीले भने ‘यो हामीले गरेको होइन, अध्यागमनले गरेको हो। अध्यागमनले रोकेको विषयमा ब्युरोलाई जानकारी छैन।’ 

वैदेशिक रोजगारीमा जान लागेका नागरिक मानव बेचबिखनमा पर्न नपरोस् भनेर ब्युरोले वैदेशिक रोजगारीमा जानेलाई चेकजाँच गर्दै आएको छ। 

वैदेशिक रोजगार व्यवसायी संघले भने अध्यागमन कार्यालयको कदमप्रति विरोध गरेको छ। संघका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमन कार्यालयले गलत नियतका साथ दुःख दिएको बताए। बिनाकारण अध्यागमनले दुःख दिएको भन्दै यदि म्यानपावर व्यवसायीले गलत गरेको भए प्रमाण जुटाएर जेल हाल्न चुनौती दिँदै अनावश्यक दुःख नदिन आग्रह गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.