विराटनगरमा हाफ म्याराथुन, सरोज र अंशुलाई उपाधि
विराटनगर : विराटनगरमा शनिबार आयोजित मदन भण्डारी स्मृति माध्यमिक विद्यालय स्तरीय खुला ‘क्यापिटल हाफ म्याराथुन’को उपाधि सरोज सिंह र अंशु मण्डलले हात पारेका छन्।
नेपाल खेलकुद महासंघ मोरङले आयोजना गरेको प्रतियोगिताको छात्रतर्फ झापाको दमक बहुमुखी क्याम्पसका सरोज प्रथम भए। निर्धारित दूरी १६ मिनेट २५ सेकेण्डमा पार गर्दै उनले उपाधि रक्षा गरेका हुन्। छात्रातर्फ विराटनगरको आदर्श माविकी अंशुले उपाधि हात पारिन्। उनले निर्धारित दूरी १८ मिनेट ५० सेकेण्डमा पार गरिन्।
त्यस्तै, छात्रतर्फ सुनसरीको धरान हिमालय मेघाका किरण लिम्बू द्वितीय, सिद्धार्थ पब्लिक हाइ स्कुलका प्रसान तामाङ तृतीय, अमर यादव चौथो र नवीन तामाङ पाँचौं भएका छन्। छात्रातर्फ विराटनगरकै आदर्श स्कुलकी अमृता राजवंशी द्वितीय, सुस्मिता बस्नेत तृतीय, अञ्जली मुखिया चौथो र अन्जु खवास पाँचौं भए।
विजेता छात्र/छात्रामध्ये प्रथम हुनेलाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको नेपाल खेलकुद महासंघ मोरङका अध्यक्ष मनोज खड्काले बताए। उनका अनुसार द्वितीय, तृतीय, चौथो र पाँचौ हुनेले क्रमशः १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरेका छन्।
मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा १ सय ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको खड्काले बताए। खेलाडीलाई मदन भण्डारी फाउण्डेसनका अध्यक्ष गुरु बराल, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठ, युवा व्यवसायी मनोजविक्रम शाह लगायतले पुरस्कार हस्तान्तरण गरे।