मटिहानी नगरपालिकाले ल्यायो वारुणयन्त्र
ढल्केवर : आगलागीजन्य विपद्का घटना नियन्त्रणका लागि महोत्तरीको मटिहानी नगरपालिकाले बारुणयन्त्र खरिद गरेको छ।
५९ लाख २५ हजार बजेट खर्चेर ४ हजार ५ सय लिटर क्षमताको वारुणयन्त्र खरिद गरिएको मेयर हरिप्रसाद मण्डलले बताए। मटिहानीमा गत वर्ष १ दर्जन बढी आगलागीका घटना भएको थियो। जसमा करोडौंको क्षति भएको नगरपालिकाले जनाएको छ।
मटिहानी नगरपालिकासँग बारुयन्त्र नहुँदा आगलागी नियन्त्रणका लागि जलेश्वर, बर्दिबास, गौशाला, जनकपुरबाट वारुणयन्त्र बोलाउनु पर्ने बाध्यता थियो। टाढाबाट वारुणयन्त्र आउँदा–आउँदा घर, पसलहरू खरानीमा परिणत हुँदै आएको थियो। करोडौंको क्षति भएर उठिबास हुँदै आएको थियो।
दोस्रो पटक महिटानी नगरपालिकाको मेयरमा मण्डल निर्वाचित भएपछि १० जेष्ठ, २०७९ मा पदभार ग्रहण गर्दै उनले वारुणयन्त्र खरिद गर्ने पहिलो निर्णय गरेका थिए। आर्थिक वर्ष २०७९–०८० को बजेटमा आगलागीजन्य घटना नियन्त्रणका लागि वारुणयन्त्र खरिद गर्न बजेट विनियोजन गरिएको थियो। खरिद प्रक्रियामा ढिलाइ भएकोले झण्डै १४ महिनापछि नगरपालिकामा वारुण यन्त्र आएको हो।
मटिहानीमा ६ हजार ४६० घर धुरी छन्। जहाँ ३६ हजार बढीको बसोवास छ। मटिहानी महोत्तरीको प्रमुख व्यापारिक केन्द्र पनि हो। यहाँ १ हजार बढी बैंक वित्तीय संघसंस्था, पसल जस्ता व्यापारिक प्रतिष्ठानहरू छन्। यहाँ बर्सेनि आगलागीका घटनाहरू हुँदै आएको तथ्यांकले देखाएको मेयर मण्डलले बताए।
‘हाम्रो नगरभित्रका अधिकांश घरहरू खर, काठ र बासले बनेका छन्। यस्ता घरमा आगलागी भयो भने आगो छिटो सल्किन्छ’, मेयर मण्डलले भने, ‘पसलहरूमा विभिन्न प्रज्वलनशील पदार्थहरू हुन्छन्। त्यहाँ पनि आगलागी तुरुन्तै फैलिहाल्छ। नगरपालिकामा वारुणयन्त्र नहुँदा आगलागी हुँदा क्षति धेरै हुन्थ्यो।’ अब नगरपालिका भित्रका हुने आगलागीका घटना नियन्त्रणमा सजिलो हुने बताउँदै मेयर मण्डलले थपें, ‘आगलागीजन्य घटना कहीँ नहोस्। हाम्रो वारुणयन्त्रलाई थन्काएरै राख्नु परोस्। तर, यदि आगलागीजन्य विपद्का घटना भइहाले भने पनि अब नियन्त्रण गर्न सजिलो हुन्छ। क्षति कम हुन्छ।’
लक्ष्मीनारायण मठ परिसरमा मेयर मण्डलले शनिबार पूजापाठ गरेर नगरपालिकामा भित्र्याएको छ। जनशक्ति व्यवस्थापन गरेर छिट्टै वारुणयन्त्र सञ्चालनमा आउने मटिहानी नगरपालिकाले जनाएको छ।