एसईईमा जिल्ला 'टप' गर्ने विद्यालयलाई ५ लाख

सोलुखुम्बु : माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयतर्फ जिल्ला टप गर्न सफल गार्मा माध्यमिक विद्यालयलाई सोलुदूधकुण्ड नगरपालिकाले पाँच लाख नगदसहित पुरस्कृत गर्ने भएको छ।
नगरकार्यपालिका बैठकले जिल्ला टप गर्ने गार्मा माविलाई नगद ५ लाख र छात्रा बबिता कार्कीलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कृत गर्ने निर्णय गरेको हो। यस वर्षको एसईईमा यस विद्यालयले सामुदायिक विद्यालयतर्फ जिल्ला टप गरेको हो।
सोलुदूधकुण्ड नगरपालिका-७ स्थित उक्त विद्यालयकी छात्रा कार्कीले ३.७० जीपीए प्राप्त गर्दै जिल्ला टप गरेकी हुन। गार्मा माविबाट यस वर्ष सामान्य धारतर्फ २७ र प्राविधिक (कृषि) धारतर्फ १७ गरी ४४ जना एसईईमा सामेल भएका थिए। जसमा ३५ जनाले ३ जीपीए भन्दा बढी प्राप्त गरेका छन्।
जिल्लाकै नमुना यस विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ। अंग्रेजी माध्यमतर्फ विद्यार्थी तथा अभिभावक आकर्षित बन्दै गएपछि आफ्नो विद्यालयमा पनि पूर्ण रूपमा अंग्रेजी माध्यम लागू गरेको वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए।
गार्मा माविले निजी विद्यालय सरहको शिक्षा प्रदान गर्दै आएको अभिभावक बुद्धिबहादुर विश्वकर्माले बताए। कक्षा १२ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा प्राविधिक धार (कृषि जेटिए)को समेत अध्यापन हुँदै आएको छ।
विद्यालयले होस्टेलको पनि व्यवस्था गरेको प्रधानाध्यापक विनोद सिं तामाङले जानकारी दिए। विद्यालयमा हाल ५६० जना विद्यार्थी अध्ययनरत रहेका छन्। ३० जना शिक्षक कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस !
