सिन्धुलीमा लङ्गुरखोला बाबाधाम मेला सुरु, भक्तजनको घुइँचो

सिन्धुलीमा लङ्गुरखोला बाबाधाम मेला सुरु, भक्तजनको घुइँचो
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको दूधौली नगरपालिका-२ लङ्गुरखोलास्थित प्रसिद्ध १०८ मधुगंगा महादेव मन्दिरमा साउन महिनामा लाग्ने बाबाधाम मेला सोमबारदेखि सुरु भएको छ। 

मन्दिरमा हरेक वर्षझैँ यस वर्ष पनि साउन महिनाको पहिलो सोमबारबाट मेला सुरु भएको हो। मधुगंगा महदेवको दर्शन गर्न तथा मेला भर्नका छिमेकी जिल्लाका साथै लागि छिमेकी मुलुक भारतबाट हजारौंको संख्यामा पहेँलो र गेरु रंगको बस्त्र लगाएर भक्तजनहरू मन्दिर पुगेका छन्। 

प्रत्येक साउन महिनाभर लाग्ने मेलामा विशेष गरी साउनको पहिलो सोमबार भक्तजनाहरूको घुइँचो लाग्ने गरेको छ। महादेवको दर्शन तथा मेला भर्न सिन्धुली तथा छिमेकी जिल्लाहरू सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, उदयपुर, रामेछाप, पर्सा लगायत भारतको सितामाढी, मधुवनी लगायतका स्थानबाट बोलबमका भक्तजनहरू आइपुगेका बोलबम मेला व्यवस्थापन समितिले जनाएको छ। 

गत वर्षहरू झै यस वर्ष पनि मेलाका लागि शनिबारदेखि नै भक्तजनहरूको बाक्लो उपस्थित हुँदै गएको वडाध्यक्ष रितेश राउतले जनाए। 

यस वर्ष मेलाको व्यवस्थापन दूधौली नगरपालिका आफैंले मिलाएको छ। साउन महिनाभरी मन्दिरमा मेला लाग्ने भए पनि विशेष गरी साउनको पहिलो सोमबार र त्यसपछिका सोमबाहरूमा भक्तजनाहरूको बाक्लो उपस्थित हुने गरेको छ।

मधुगंगा महादेवको मन्दिरमा शुद्ध मनले निराहार व्रत बसी महादेवको दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने विश्वास रहेको छ। 

यस महादेव मन्दिरमा साउन महिनाभरमा एक लाख बढी भक्तजनहरूले दर्शन गर्ने गरेकोमा यस वर्ष भने भक्तजनहरूको संख्यामा वृद्धि हुने मन्दिरका पुजारी बद्रिबहादुर मगरले बताए। 

सन्तान, धन, शिक्षा प्राप्ति र रोगब्याधी हटाउनका लागि भक्तजनहरू महादेवको दर्शनका लागि मन्दिर आउने गरेको स्थानीय रेखराज दाहालले बताए। 

भक्तजनहरूबाट बर्सेनि ७ देखि १० लाख रुपैयाँसम्म भेटी मन्दिरमा जम्मा हुने गरेको छ। उक्त भेटीबाट हालसम्म मन्दिर परिसरमा सातवटा धर्मशालाको समेत निर्माण सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। 

यस्तै जिल्लाको सुनकोशी गाउँपालिकास्थित कुशेश्वर महादेव मन्दिर र कमलामाई नगरपालिका-४ को सिद्धबाबा मन्दिरमा पनि सोमबार सयौं भक्तजनको उपस्थित रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.