सिन्धुलीमा २५ वटा मोटरसाइकल चोरी
![सिन्धुलीमा २५ वटा मोटरसाइकल चोरी](https://annapurnapost.prixacdn.net/media/albums/motercycle-5a5f10b09bd5f1.30993846_aDD1GNGbK2_OQmC3Y5Qd7.jpg)
सिन्धुली : सिन्धुलीमा २५ वटा मोटरसाइकल चोरी भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत आर्थिक वर्ष २०७९-०८० मा जिल्लामा २५ वटा मोटरसाइकल चोरी भएका हुन्।
चोरीएका मध्ये १३ मोटरसाइकल प्रहरीले पहिचान गरी नियन्त्रणमा लिएको छ । त्यसमध्ये प्रहरीले चार वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको र अन्यको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीबी दाहालले जानकारी दिए ।
दाहालका अनुसार बागमती प्रदेश ०२–०३३ प २६५९ नम्बरको कालो २०० सि.सि. को एनएस मोटरसाइकल ईलाम पञ्चकन्या नगरपालिका ६ घर भइ हाल बालकुमारी काठमाडौं बस्ने वर्ष ३० को पुजन राईले आफ्नो भनी दावी गरेपछि सोमबार खोजेको बखत ल्याउने गरी बुझाइएको छ ।
यस्तै प्रदेश २–०२–००४ प १२९१ नम्बरको दुई सय सिसिको रातो एनएस मोटरसाइकल हरिवन नगरपालिका ६ सर्लाहीका वर्ष ४१ का देवकिशोर महतोको भएको पाइएपछि उनलाई बुझाइएको छ ।
यी दुबै मोटरसाइकल चोरी गरी ल्याइएको र प्रहरीले थाहा पाउने डरले बेवारिसे अवस्था छाडी भागेको अवस्थामा प्रहरीले फेला पारेको थियो । ‘पछिल्लो समय जिल्लामा मोटरसाइकल चोरीका घटना बढ्दै गएका छन्। गत आर्थिक वर्षमा चोरी भएका २५ मोटरसाइकल मध्ये १३ वटा अभियुक्त सहित नियन्त्रणमा लिएर ९ वटा मुद्धा दर्ता गरिएको छ,’ दाहालले भने ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)