‘विश्वासिलो छ पूर्वसूचना प्रणाली’

‘विश्वासिलो छ पूर्वसूचना प्रणाली’
- डा.धरमराज उप्रेती, मौसमविद तथा जलवायु विज्ञ
सुन्नुहोस्

नदीको तटीय क्षेत्रमा बस्ने जनता कति जोखिममा छन् भनेर पहिले नै घरधुरी मापन गरिएको हुन्छ।

कुनै नदी प्रणालीमा बाढी आयो भने त्यो नदीको तह कति छ, त्यो तहले कति समुदाय, कति कृषि भूमिलाई असर गर्छ भन्ने बारेमा कम्तीमा पनि आधा घण्टादेखि ६ घण्टा पहिले नै जानकारी गराउने प्रणाली पूर्वसूचना प्रणाली हो। मान्छेले बोलाउने र डाको लगाएर भन्ने चलन सन् २००० देखि सुरु भए पनि नेपालमा सन् २०१४ देखि यो प्रणाली सुरु भयो। यसैबेला व्यवस्थित तरिकाले एसएमएस अलर्ट दिन सुरु गरियो। 

अहिले यो प्रणाली हिमालबाट बग्ने नदीहरू महाकाली, कर्णाली, कोसी, राप्ती, बबईमा जडान भएको छ। प्राक्टिकल एक्सन नेपालले जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सबै नदीमा जलमापन गर्ने केन्द्र राखेको छ। त्यहाँको तथ्यांक सिधै जल तथा मौसम विज्ञान विभागको नेटवर्कमा जान्छ र त्यहाँबाट विभागले मापनको आधारमा सूचना बनाएर मोबाइलमा पठाउँछ। पोहोर जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना १ करोड ३० लाख मान्छेलाई गएको छ। पछिल्लो समय त्यो बढ्दो छ। अहिले पूर्वसूचना प्रणाली थप विश्वासिलो हुँदै गइरहेको छ। 

कुनै नदी प्रणालीमा एउटा यन्त्र राखिएको हुन्छ। त्यो यन्त्रले जलको तह कति छ जस्तै १ मिटर, २ मिटर, ३ मिटर भनेर मापन गर्छ। उदाहरणका लागि कर्णाली नदीमा १ मिटरदेखि लिएर १०.८ मिटरसम्म पुग्यो भने खतरा तह मानिन्छ। १०.८ बाट माथि गयो भने बाढीको खतरा तह बढ्दै जान्छ भनेपछि त्यो कति मिटर पुगेको छ भन्ने त्यो यन्त्रले रेकर्ड गर्छ। त्यो रेकर्ड सिधै जल तथा मौसम विज्ञान विभागमा जान्छ। अर्कोतर्फ भौतिक रूपमा नदी किनार गई गेजरिडरले पनि त्यो सिस्टमले दिएको जानकारी सही छ कि छैन भनेर पुष्टि गर्छ। सही छ भने जल तथा मौसम विभागले सूचना दिन्छ। 

नदीको तटीय क्षेत्रमा बस्ने जनता कति जोखिममा छन् भनेर पहिले नै घरधुरी मापन गरिएको हुन्छ। त्यो मापनको आधारमा एक खालको पोलिगन बनाएको छ, त्यो पोलिगनमा पर्ने जस्तो नदीका दुवै किनारमा पर्ने एक किलोमिटर, दुई किलोमिटरसम्म जोखिम हुन्छ भने त्यो दुई किलोमिटर भित्रका जनताले एसएमएस अलर्ट पाउँछन्। त्यो एसएमएस अहिले स्थानीय आपतकालीन केन्द्रबाट पनि गइरहेको छ। 

बाढीबाट मृत्यु हुनेको संख्या पहिले १ सय जना प्रतिवर्ष थियो भने अहिले घटेर २७ जना प्रतिवर्ष छ। यो २७ जना पनि कस्ता हुन्छन् भने बाढी आएको समयमा नदीमा दाउरा संकलन गर्ने, माछा मार्न जाने बढी देखिन्छ। प्रणालीले सबैलाई सूचना दिन्छ। हाम्रो ठाउँ असुरक्षित छ भनेपछि उनीहरू सुरक्षित ठाउँमा जान्छन्, जसले ज्यान जोगिन्छ। पूर्वसूचनाले उनीहरू मात्रै नभएर गाई, बाख्रा, सम्पत्ति लिएर जान्छन् किनभने ६ घण्टा अगाडि नै या ३ दिन अगाडि नै यति पानी पर्दैछ भनेर सूचना दिन्छौं। त्यसको आधारमा जनताले सुरक्षाका उपाय अपनाउँछन्। अन्नभण्डार माथिल्लो तहमा राख्ने, सरसम्पत्ति सुरक्षित राख्ने गर्छन्। त्यो प्रयास भइरहेकाले यो प्रभावकारी बनिरहेको छ।

केन्द्रमा जल तथा मौसम विज्ञान विभाग छ। त्यसपछि राष्ट्रिय विपद् प्राधिकरण छ। विपद् ऐनअनुसार ७५३ पालिका र सातै प्रदेशमा स्थानीय आपतकालीन केन्द्र छन्। विभागबाट आएको सूचना सबै प्रदेश र पालिकामा पुग्ने गरी संयन्त्र छ। यद्यपि सबै पालिकामा स्थानीय आपतकालीन केन्द्र बनिसकेको छैन, बन्ने क्रममा छन्। यसरी जल तथा मौसम विज्ञान विभागले सबै सूचना रेडियो, टिभीबाट दिने र ११५५ नम्बरमा जहिले फोन गरे पनि कुन ठाउँमा कस्तो मौसम छ, कुन नदीमा बाढी आउने सम्भावना छ या छैन भन्ने जानकारी दिन्छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.