क्रियाशील सदस्यले समेत कांग्रेसलाई भोट दिँदैनन्, भोट दिने बनाऔं : एनपी साउद
काठमाडौं : नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको क्रियाशील सदस्यता वितरणको केन्द्र वडालाई बनाउनु पर्ने बताएका छन्। कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा उनले सदस्यता वितरणको केन्द्र वडालाई बनाउनु पर्ने बताएका हुन्।
‘सदस्यता वितरणको केन्द्र केन्द्रलाई नबनाइ वार्डलाई बनाउनुपर्छ। जबसम्म वडा मजबुत हुन्न, जबसम्म गाउँ मजबुत हुन्न, जबसम्म स्थानीय संरचना मजबुत हुन्न तबसम्म हामीले सदस्यता चाङ जति बढाए पनि हामीले उपलब्धि हासिल गर्न सक्दैनौँ,’ परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने।
उनले कूल क्रियाशील सदस्यमध्ये २० प्रतिशत सदस्यले पार्टीको चुनाव चिन्हमा मत नदिने र अन्य २० प्रतिशत सदस्यले आशिंक रुपमा मत दिने गरेको पनि बताए। साउदले ती ४० प्रतिशत क्रियाशील सदस्यहरुलाई पार्टीलाई भोट दिने बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने,‘क्रियाशील सदस्यमध्ये पनि ४० प्रतिशत क्रियाशील सदस्यहरु हामीले पार्टीलाई भोट दिने बनाउनेतर्फ ध्यान दिनुपर्छ।’
परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार
परराष्ट्रमन्त्री साउदले विपक्षी दलहरुबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइराखेको बताए। विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएका पनि टिप्पणी गरे। ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्। आज मुलुकको असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको छ,’ साउदले भने, ‘उनीहरु सत्ता नपाएर बौखलाएको जस्तो अवस्था अहिले देखिएको छ।’
उनले सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नु पर्नेमा पनि जोड दिए। ‘नेपाली कांग्रेस ठिक बाटोमा छ। ठिक ट्रयाकमा छ,’ साउदले भने, ‘यो ठिक ट्रयाकमा जाने कुरामा आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस !